धनगढी, २५ असोज । प्रहरीले छापा हानेको भन्दै कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरिएको छ।
कञ्चनपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष हेम विक्रम थापाको अगुवाइमा महेन्द्रनगर बजार बन्द गरिएको हो। उनीहरूले दसैंको मुखमा छापा मारेर व्यवसायीहरूलाई आतंकित गरेको भन्दै त्यसको विरोधमा बजार बन्द गर्नुपरेको बताएका छन्।
घट्नामा कञ्चनपुर उद्योग वाणिज्य संघले भने कुनै पनि धारणा सार्वजनिक गरेको छैन। व्यवसायीहरूले कञ्चनपुर उद्योग वाणिज्य संघ कहाँ छ भनेर प्रश्न समेत गरिरहेका छन्। प्रहरीले गत शुक्रबार तस्करीका प्लास्टिक जन्य सामानको गोदाममा छापा हानेको थियो। ११ लाखका भन्सार छलीका सामान बरामद गरिएको थियो।
सरकारले प्रतिबन्ध गरेका प्लास्टिकजन्य वस्तु बेचबिखन गर्ने महेन्द्रनगरका १ व्यापारीको गोदाममा छापा मारेको हो। जिल्लाको भीमदत्त नगरपालिका–१८ का सुशील गुप्ताले सञ्चालन गरिरहेको हिमांशु प्लास्टिक स्टोरको गोदाममा छापा मारिएको थियो।
भारतबाट भन्सार छलीका सामान क्यारिङ गर्ने ब्यक्तिहरूको पिछा गर्दै जाँदा गोदाम पत्ता लागेको प्रहरीले जनाएको छ। प्रहरीले पसलका सञ्चालनमाथि अनुसन्धान गर्दैछ।
 
                     
                             
                                                     
                                                     
                                                     
                                                     
                                                    