नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको चार वर्षमा ४२ गतिविधि

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको चार वर्षमा ४२ गतिविधि

  • Kandara Samachar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 39
    SHARES
नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको चार वर्षमा ४२ गतिविधि
oplus_2

धादिङ ।

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानले स्थापनाको चार वर्षमा भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि ४२ वटा विविध गतिविधि सञ्चालन गरेको छ। प्रतिष्ठानको पाँचौँ स्थापना दिवसका अवसरमा मङ्गलबार धादिङबेँसीस्थित कार्यालयमा आयोजित शुभकामना आदानप्रदान तथा गतिविधि समीक्षा कार्यक्रममा चार वर्षको कार्यप्रगति सार्वजनिक गरिएको हो।

कार्यक्रममा सहभागी वक्ताहरूले जिल्लाभर भाषा, साहित्य, कला र संस्कृतिको विकासका लागि स्थानीय तहमा गठन भएका प्रज्ञा प्रतिष्ठानहरूबीच एकीकृत संरचना र समन्वय आवश्यक रहेको बताएका छन्। उनीहरूले अन्तरपालिका समन्वयसम्बन्धी कानुन निर्माण गरी जिल्लाका सबै प्रज्ञा प्रतिष्ठानलाई एउटै छातामुनि समेटेर अघि बढ्न सुझाव दिएका छन्।

प्रतिष्ठानका अध्यक्ष बद्री दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख तथा प्रतिष्ठानका संरक्षक भीमप्रसाद ढुङ्गानाले समाजमा प्राज्ञहरूको उच्च स्थान रहने बताउनुभयो। उहाँले नगरपालिकाले सञ्चालन गरेका महत्वपूर्ण कामहरूमध्ये प्रज्ञा प्रतिष्ठानका गतिविधि पनि एक रहेको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिको विकासमा प्रतिष्ठानले उल्लेखनीय योगदान पुर्‍याएको बताउनुभयो।

कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव प्रकाश पौडेलले २०७९ मङ्सिर ८ गते स्थापना भएदेखि २०८३ कात्तिक २९ गतेसम्म सञ्चालन गरिएका गतिविधिको विवरण प्रस्तुत गर्नुभयो। उहाँका अनुसार चार वर्षको अवधिमा प्रतिष्ठानले ४२ वटा कार्यक्रम सम्पन्न गरेको छ। यस अवधिमा प्रतिष्ठानको पुस्तकालयमा २ हजार ४ सय पुस्तक सङ्कलन गरी व्यवस्थापन तथा सञ्चालन गरिएको छ।

प्रतिष्ठानले यस अवधिमा साहित्यिक महोत्सव, विद्वत् गोष्ठी, स्रष्टा सम्मान, पुरस्कार वितरण, पुस्तक प्रकाशन, विद्यालयस्तरीय प्रतियोगिता, प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिएको छ। बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको आयोजना र नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको सहआयोजनामा २०८१ फागुन १६ र १७ गते धादिङबेँसीमा प्रथम बागमती प्रदेशस्तरीय साहित्य महोत्सव तथा दुई दिने चित्रकला प्रदर्शनी आयोजना गरिएको थियो।

यसैगरी नेपाली समाज र संस्कृतिको संरचना, वैदिक परम्परामा मीमांसा दर्शनको समकालीन सान्दर्भिकता तथा भाषा–विज्ञानमा वर्णोच्चारण र वर्णविन्यासको भूमिकालगायतका विषयमा विद्वत् गोष्ठी तथा विमर्श कार्यक्रम सञ्चालन गरिएको सदस्य सचिव पौडेलले जानकारी दिनुभयो।

प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गर्नुका साथै ‘प्रज्ञा प्रवाह’ प्रकाशनको पहिलो र दोस्रो अङ्क तथा बागमती प्रदेशस्तरीय साहित्य महोत्सव २०८१ विशेषाङ्क ईबुकका रूपमा प्रकाशन गरेको छ। स्रष्टा सम्मान, पुरस्कार तथा प्रोत्साहन र अनुसन्धानवृत्तिसम्बन्धी कार्यविधि २०८० निर्माण गरी कार्यान्वयनमा ल्याइएको पनि प्रतिष्ठानले जनाएको छ।

विद्यालयस्तरमा कविता, चित्रकला र निबन्ध प्रतियोगिता सञ्चालन गर्नुका साथै विद्यार्थीका लागि चित्रकला, नाटक प्रशिक्षण र सिर्जनात्मक लेखन कार्यशाला आयोजना गरिएको छ। प्रतिष्ठानले नीलकण्ठ प्रज्ञा पुस्तकालय सञ्चालनसँगै आफ्नै आधिकारिक वेबसाइटसमेत निर्माण गरेको छ।

भाषा, साहित्य र संस्कृतिको अध्ययन तथा अनुभव आदानप्रदानका लागि पोखरा प्रज्ञा प्रतिष्ठान र गण्डकी प्रज्ञा प्रतिष्ठानलगायतका संस्थामा अध्ययन अवलोकन भ्रमणसमेत गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत सडक नाटक सञ्चालन, महाकविप्रति श्रद्धासुमन अर्पण गर्दै साङ्गीतिक काव्य सन्ध्या, भानु जयन्ती, नववर्ष शुभकामना आदानप्रदान तथा विभिन्न समुदायको सांस्कृतिक पहिचानसम्बन्धी विमर्श कार्यक्रम पनि सम्पन्न भएका छन्।

प्रतिष्ठानले आगामी दिनमा जिल्लाका सबै स्थानीय तहमा रहेका भाषा, साहित्य, कला तथा संस्कृतिसम्बन्धी संस्था र प्राज्ञिक व्यक्तित्वलाई समेटेर समन्वयात्मक रूपमा काम गर्नुपर्नेमा कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्। कार्यक्रममा प्रतिष्ठानका प्राज्ञ, साहित्यकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar