ठाकुर प्रसाद शर्मा प्रतिष्ठानको तेश्राे साधारणसभा सम्पन्न

ठाकुर प्रसाद शर्मा प्रतिष्ठानको तेश्राे साधारणसभा सम्पन्न

  • Kandara Samachar

  • शुक्रबार, मंसिर ५, २०८३

  • 48
    SHARES
ठाकुर प्रसाद शर्मा प्रतिष्ठानको तेश्राे साधारणसभा सम्पन्न
oplus_2

धादिङ ।

धादिङको गजुरी गाउँपालिका–१ मा रहेको ठाकुरप्रसाद शर्मा प्रतिष्ठानको  तेस्रो वार्षिक साधारणभा सम्पन्न भएको छ। साधारणसभाले प्रतिष्ठानको वार्षिक गतिविधि,  आर्थिक अवस्था तथा  आगामी कार्यक्रमबारे समीक्षा गर्दै शैक्षिक योगदानको  सम्मान र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलको अध्यक्षतामा  सम्पन्न कार्यक्रममा आदर्श माध्यमिक विद्यालय गजुरीका संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्मा प्रमुख अतिथि  रहनुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानका सचिव कृष्णराज सिलवालले  वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष शिव अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा प्रतिष्ठानका आगामी गतिविधि, संस्थाको उद्देश्य तथा शैक्षिक क्षेत्रमा पुर्‍याउन सकिने योगदानका विषयमा छलफल भएको थियो। कार्यक्रम प्रतिष्ठानका सचिव कृष्णराज सिलवालले संचालन गर्नुभयाे ।

साधारणसभालाई सम्बोधन गर्दै  प्रतिष्ठानका अध्यक्ष  डा. कँडेलले यस वर्ष विभिन्न विधामा ११ वटा पुरस्कार वितरण गरिने जानकारी दिनुभयो।  उहाँका अनुसार शिक्षासेवी, शिक्षक, विद्यार्थी तथा  अभिभावकको योगदानको कदर गर्दै शैक्षिक क्षेत्रमा सकारात्मक प्रतिस्पर्धा र प्रोत्साहनको वातावरण निर्माण गर्नु प्रतिष्ठानको प्रमुख उद्देश्य हो

धादिङ जिल्लाकै पहिलो हाईस्कुलका रूपमा २०२५ साल पुस ५ गते आदर्श हाईस्कुल स्थापना भएको थियो । शिक्षासेवी, शिक्षक तथा स्थानीय अभिभावकहरूको अथक प्रयास र पहलमा स्थापना भएको विद्यालयको संस्थागत विकासमा धेरै व्यक्तिहरूको महत्त्वपूर्ण  योगदान रहेको छ।

विद्यालयका संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्माका अनुसार तत्कालीन समयमा कुनै भौतिक सुविधा र  पर्यप्प्त पूर्वाधार नभएको अवस्थामा विद्यालय सञ्चालन गर्नु निकै चुनौतीपूर्ण थियो। शिक्षकहरूले स्थानीय अभिभावकको घरमा जे पाक्थ्यो त्यही खाएर शिक्षण सेवा गर्दै विद्यालयलाई माध्यमिक तहसम्म पुर्‍याउन अहोरात्र मेहनत  गरेका थिए। प्राथमिक विद्यालयसमेत पर्याप्त पूर्वाधारविहीन अवस्थामा रहेको ठाउँमा हाईस्कुल सञ्चालन गर्नु तत्कालीन समयको ठूलो प्रयास र उपलब्धि थियो।

त्यही ऐतिहासिक योगदानको सम्मान गर्दै उहाँका शिष्य तथा आदर्श माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूको अगुवाइमा २०८१ साल मङ्सिर ४ गते ठाकुरप्रसाद शर्माको नाममा प्रतिष्ठान गठन गरिएको हो। विद्यालयको शैक्षिक तथा प्रशासनिक नेतृत्व गर्नुभएका संस्थापक प्रधानाध्यापकको योगदानलाई संस्थागत रूपमा  स्मरण गर्ने र शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले प्रतिष्ठान स्थापना गरिएको हो।

कार्यक्रममा आदर्शमावि गजुरीकाे संस्थापक विद्यालय व्यवस्थापन समिति सचिव पुरुषोत्तम दास श्रेष्ठ, संस्थापक सदस्य हेमनाथ थपलिया,  जगन्नाथ तिमल्सिना  तथा आदर्श माध्यमिक विद्यालयबाट पहिलोपटक  एसएलसी उत्तीर्ण गर्ने विद्यार्थी राजेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो

ठाकुरप्रसाद शर्मा प्रतिष्ठान  मुनाफारहित, जनहितकारी, गैर राजनीतिक तथा स्वयंसेवी  सामाजिक संस्था हो। प्रतिष्ठानमा हाल १८६ भन्दा बढी आजीवन सदस्य आबद्ध रहेका छन् । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने अग्रजहरूको सम्मान, शैक्षिक गुणस्तर अभिवृद्धि, प्रतिभाको पहिचान तथा विद्यार्थी र शिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यसहित अघि बढिरहेको प्रतिष्ठानले आगामी दिनमा पनि सामाजिक तथा शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्य  लिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar