ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले आफ्नो तेस्रो साधारणसभाको अवसरमा विभिन्न नौ विधामा पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण गर्ने भएको छ। प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले साधारणसभाका अवसरमा शिक्षा, समाजसेवा, पत्रकारिता, युवा तथा शैक्षिक र सांस्कृतिक जागरणका क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा विद्यार्थीलाई सम्मान गर्न लागिएको जानकारी दिनुभएको हो।
प्रतिष्ठानले आगामी २०८३ मङ्सिर ४ गते शुक्रबार धादिङको गजुरी गाउँपालिका–१ स्थित आदर्श माध्यमिक विद्यालयमा तेस्रो साधारणसभा तथा पुरस्कार, सम्मान र छात्रवृत्ति अर्पण समारोह आयोजना गर्न लागेको छ।
प्रतिष्ठानका अनुसार यस वर्ष आदर्श शिक्षक पुरस्कार, आदर्श शिक्षासेवी पुरस्कार, शैक्षिक तथा सांस्कृतिक जागरण विशेष सम्मान, आदर्श उत्कृष्ट विद्यार्थी पुरस्कार, आदर्श उत्कृष्ट छात्रा पुरस्कार, टंकप्रसाद–देवकी समाजसेवा सम्मान, मदनदास उत्कृष्ट पत्रकारिता सम्मान, लक्ष्मणदास उत्कृष्ट युवा सम्मान र जीवनारायण स्मृति छात्रवृत्ति प्रदान गरिनेछ।
यी सबै पुरस्कार तथा सम्मान २०८३ सालकै लागि प्रदान गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। पुरस्कार तथा सम्मानमार्फत शिक्षा क्षेत्रमा समर्पित शिक्षक तथा शिक्षासेवी, शैक्षिक र सांस्कृतिक जागरणमा योगदान गर्ने व्यक्तित्व, उत्कृष्ट विद्यार्थी, समाजसेवी, पत्रकार र युवाको योगदानको कदर गर्नुका साथै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।
कार्यक्रमअन्तर्गत बिहान ११ः३० बजे प्रतिष्ठानको तेस्रो साधारणसभा सुरु हुनेछ भने दिउँसो २ः३० बजे पुरस्कार, सम्मान तथा छात्रवृत्ति अर्पण समारोह आयोजना गरिनेछ।
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले शिक्षा, समाजसेवा, पत्रकारिता र सामाजिक जागरणका क्षेत्रमा योगदान गर्ने व्यक्तित्वको सम्मान तथा नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेलले साधारणसभा तथा पुरस्कार वितरण समारोहमा उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन सरोकारवाला, शिक्षाप्रेमी, समाजसेवी, पत्रकार तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रणा गर्नुभएको छ।