पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ मा बस्दै आएकी धादिङ घर भएकी २० वर्षीया आशिका सिम्खडा, उदयपुर घर भई काठमाडौं महानगरपालिका–३२ बस्ने ४६ वर्षीय विष्णु खत्री, सिन्धुली घर भई काठमाडौं महानगरपालिका–१ बस्ने ३५ वर्षीय दिनेश पाख्रेन तामाङ, गोरखा घर भई टोखा नगरपालिका–६ बस्ने ३८ वर्षीय राजेश बराम र काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने ४८ वर्षीय छिरिङ शेर्पा रहेका छन्।
प्रहरीका अनुसार आशिकाले बेलायत (युके) पठाइदिने भन्दै एक जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिएकी थिइन्। त्यस्तै, विष्णुले माल्टा पठाइदिने भन्दै ६ लाख, दिनेशले संयुक्त अरब इमिरेट्स (युएई) पठाइदिने भन्दै २ लाख रुपैयाँ ठगी गरेको आरोप छ।
यसैगरी, राजेशले सिंगापुर पठाइदिने भन्दै दुई जना पीडितबाट १५ लाख ५० हजार रुपैयाँ र छिरिङले क्यानडा पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ४० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ।
विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए। सोही उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीले आशिकालाई बिहीबार काठमाडौं महानगरपालिका–१६ बाट, विष्णु र दिनेशलाई शुक्रबार क्रमशः काठमाडौं महानगरपालिका–३२ र १२ बाट, राजेशलाई शनिबार काठमाडौं महानगरपालिका–६ बाट तथा छिरिङलाई आइतबार गोकर्णेश्वर नगरपालिका–३ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि लागेको आरोप अनुसन्धानकै क्रममा रहेकाले दोषी ठहर भने भइसकेको छैन।