भोटेकोशी–त्रिशूली क्षेत्रमा बाढीको कहर :
७० शव फेला, ७९ सुरक्षाकर्मी र सयौँ यात्रु सम्पर्कविहीन
धादिङ ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७० शव फेला परेको प्रारम्भिक विवरण प्राप्त भएको छ। फेला परेका शवको सनाखत प्रक्रिया जारी रहेको छ।
बाढीपछि नेपाल प्रहरीका २६, सशस्त्र प्रहरीका ९ र नेपाली सेनाका ४४ गरी ७९ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण छ।
पर्यटन बोर्डबाट प्राप्त प्रारम्भिक विवरणअनुसार २९१ विदेशी र ९३ नेपाली गरी ३८४ जना पर्यटक तथा यात्रु सम्पर्कविहीन रहेका छन्। यद्यपि उनीहरू बाढीमा बेपत्ता भएको पुष्टि भइसकेको छैन।
त्यस्तै, लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत ६० जना तथा नेपाल विद्युत प्राधिकरणका ३५ जना कर्मचारी पनि सम्पर्कविहीन रहेको बताइएको छ।
बाढीका कारण ऊर्जा तथा पूर्वाधार क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ। ११ वटा जलविद्युत आयोजना प्रभावित हुँदा करिब ४३१ मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको प्रारम्भिक विवरण छ।
त्यसैगरी १९ वटा पुल र करिब ४० किलोमिटर सडक क्षतिग्रस्त भएका छन्। रसुवादेखि मलेखुसम्मका २० भन्दा बढी झोलुङ्गे तथा मोटरेबल पुल बाढीले बगाएको बताइएको छ। धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने महत्वपूर्ण पुलसमेत बाढीले बगाएपछि जिल्लाको सदरमुकामसँगको यातायात सम्पर्क प्रभावित भएको छ।
बाढीबाट आधा दर्जनभन्दा बढी बैंक तथा वित्तीय संस्थाका कार्यालय समेत बगेका छन्। दूरसञ्चारतर्फ २५ भन्दा बढी साइट प्रभावित भएका छन्। नेपाल टेलिकम र एनसेलका टावर, साइट तथा अप्टिकल फाइबरमा क्षति पुगेको छ। चीनसँग जोडिने नेपाल टेलिकमको फाइबर लाइनसमेत बाढीले बगाएको प्रारम्भिक विवरण छ।
त्यस्तै, रसुवा, धादिङ र नुवाकोटका ६ स्थानमा रहेका बाढी पूर्वसूचना प्रणालीमा क्षति पुगेको छ।
यसैबीच चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोलामा थुनिएको पानीबाट बनेको ताल पूर्ण रूपमा नखुलेको जानकारी प्राप्त भएको छ। त्यसलाई ध्यानमा राख्दै भोटेकोशी–त्रिशूली क्षेत्रका बासिन्दा तथा यात्रुलाई थप बाढीको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
विपद्को अवस्थामा उद्धार तथा खोजी कार्यसँगै तथ्यांक निरन्तर अद्यावधिक भइरहेकाले माथिका विवरणहरू हालसम्म प्राप्त प्रारम्भिक स्रोतमा आधारित छन्। मृत्यु तथा सम्पर्कविहीनको संख्यामा विभिन्न समयमा फरक–फरक विवरण सार्वजनिक भइरहेकाले आधिकारिक निकायबाट जारी हुने पछिल्लो अद्यावधिकलाई प्राथमिकता दिन आग्रह गरिएको छ।
सम्पर्कविहीन सबैको सकुशल उद्धारका लागि खोज तथा उद्धार कार्य तीव्र पार्नुपर्ने देखिएको छ।