म शिक्षक (कविता)

म शिक्षक (कविता)

  • Kandara Samachar

  • बिहिबार, फाल्गुन १५, २०८१

  • 24
    SHARES
म शिक्षक (कविता)

             ✍️ अजिता दाहाल क्रान्ति

म कुनै पार्टीको झोले कार्यकर्ता होइन,
न त कसैको अन्धो भक्त बन्ने चाहना छ।
मलाई मेरो पेशामा विश्वास छ,
भरोसा छ।
म मात्र शिक्षक हुँ,
यही मेरो परिचय हो।

म नेता होइन,
अभिनेता होइन,
भ्रष्टाचारी पनि होइन।
म त ज्ञान बाँड्ने निस्कपट शिक्षक हुँ।
स्वार्थको हुरीमा अडिग,
स्वाभिमानको दियो बाल्दै,
चाप्लुसीको वनमारा पन्छाउँदै,
आदर्शको बिरुवा रोप्दै।

मलाई कसैको धनले छोएन,
न छिमेकीको महलको डाह छ,
न नेताजीको पजेरोको चाह छ।
मलाई थाहा छ,
म शिक्षक हुँ,
समाज परिवर्तनको अगुवा,
विकृति र विसङ्गतिविरुद्ध लड्ने।

मेरो खुम्चिएको कपडामा अनुभव लुकेको छ,
खुइलिएको तालुभित्र दक्षता भरिएको छ,
फुस्रिएका आँखामा दुनियाँ सजिएको छ।
म महलवासीलाई सिकाउँछु,
बुद्धिले धन प्राप्त हुन्छ,
ज्ञानले चन्द्रमा नजिकिन्छ,
सीपले सागरमा बस्ती बस्छ,
खोजले दोस्रो दुनियाँ भेटिन्छ।

म त्यस्ता महान यात्रीहरूको विकासमा लागेको छु,
जसलाई संसारले चिनोस्,
दुनियाँ उसकै अनुयायी बनोस्,
घर ठेगाना सोध्दा,
छाती फुलाएर
म नेपाली हुँ भन्न सकोस्।

मेरो पनि परिवार छ,
समाज छ, मैले पनि संघसंस्थामा जानुपर्छ,
तर मैले मेरो जवानी भनिनँ,
आज मेरो घरमा श्राद्ध छ भनिनँ,
न त म आफन्तको प्यारो छु,
न त सरकारको प्रिय छु,
म त केवल सबैको आँखाको तारो बनेको छु,
किनकि म शिक्षक हुँ।
तर
म गर्व गर्छु शिक्षक भएकोमा,
मेरो भरोसा थियो मेरो शिक्षकमा,
र मेरो भरोसा रहनेछ मेरा विद्यार्थीमा,
किनकि म थिएँ, छु,
र हुनेछु एक शिक्षक!
(२०८१/११/१५)


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar