-विषम श्रेष्ठ /धादिङ ।
बेनीघाट रोराङ गाउँपालिका–स्थित विशालटार खेलमैदानमा सञ्चालन भएको जिल्ला स्तरीय अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता “धादिङ क्रिकेट लिग २०२६” गल्छी गाउँ पालिकाले जितेकाे छ ।
प्रतिस्पर्धात्मक फाइनल खेलमा गल्छी गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै धुनीबेसी नगरपालिकालाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको धुनीबेसीले सुरुवातदेखि नै दबाबमा खेल्दै सन्तोषजनक प्रदर्शन गर्न सकेन। मध्यक्रमका कौशल रुपाखेतीले ३० रन र अमृत थापाले २८ रन बनाए पनि अन्य ब्याटरले साथ दिन नसक्दा टोली २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमै समेटियो।
बलिङतर्फ गल्छीका रामहरी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट लिएर खेलको टर्निङ पोइन्ट बने। साथै रुपेश भुजेल र प्रबिन खटिवडाले पनि महत्वपूर्ण विकेट लिँदै विपक्षीलाई कम स्कोरमा रोक्न महत्वपूर्ण भूमिका खेले।
१०७ रनको लक्ष्य पछ्याएको गल्छीले संयमित र योजनाबद्ध ब्याटिङ गर्दै १४.२ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। अंशराज गुप्ताले अविजित ३४ रन बनाउँदै जित सुनिश्चित गरे भने सन्देश नेपालले ३३ रन र सरोज योञ्जनले २१ रनको योगदान दिए।
उपाधिसँगै गल्छीले नगद ५५ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता धुनीबेसीले २५ हजार रुपैयाँमा चित्त बुझायो। विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले शिल्ड, मेडल तथा नगद पुरस्कार प्रदान गरेका थिए।
व्यक्तिगततर्फ बेनीघाट रोराङ गाउँपालिकाका अञ्जल सिलवाल प्रतियोगिताकै उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर घोषित भए। उनले प्रतियोगिताभर २०७ रन बनाउँदै एक शतक र एक अर्धशतक प्रहार गरेका थिए। उत्कृष्ट ब्याटर बनेका सिलवाललाई जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रतापसिंह तामाङले ब्याट प्रदान गरेका थिए।
त्यस्तै, दिपेश सेडाईले १२.४ ओभरमा १२ विकेट लिँदै ५.२९ इकोनोमीका साथ उत्कृष्ट बलरको उपाधि हात पारे।
पुरस्कार वितरण समारोहमा जिल्ला क्रिकेट संघ धादिङले धादिङ समाज अमेरिका र धादिङ समाज जापानको सहयोगमा प्रदेशस्तरीय प्रतियोगिता खेलिसकेका सिद्धलेक गाउँपालिका निवासी सानीया गिरी र नीलकण्ठ नगरपालिकाकी अप्सरा मगरलाई क्रिकेट सामग्री प्रदान गर्दै सम्मान गरेको थियो।
कार्यक्रममा बोल्दै क्यानका अध्यक्ष चन्दले धादिङ जिल्ला क्यानको सदस्यता प्राप्त गर्ने प्रक्रियामा रहेको तर केही प्राविधिक कारणले रोकिएको उल्लेख गर्दै छिट्टै सदस्यता प्रदान गरिने जानकारी दिए।
जिल्लाका १३ स्थानीय तहमध्ये ८ पालिकाको सहभागिता रहेको प्रतियोगिता अत्यन्त प्रतिस्पर्धात्मक बनेको आयोजकले जनाएको छ। समग्रमा, धादिङ क्रिकेट लिग २०२६ ले स्थानीय स्तरमा क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।