धादिङ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङमा उम्मेदवार बनेका ४७ जनामध्ये २ जनाले अझै निर्वाचन खर्च बुझाएका छैनन् । जिल्लाको दुई वटै निर्वाचन क्षेत्रबाट विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी ४७ जना उम्मेदवार बनेका थिए ।
जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार निर्वाचनमा ४७ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ४५ जनाले खर्च विवरण बुझाएका छन् । निर्वाचन परिणाम घोषणा भएको ३५ दिन भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान छ । तर निर्वाचन क्षेत्र नम्बर १ मा प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट उम्मेदवारी दिएका राजन प्रसाद रेग्मी र स्वतन्त्र उम्मेदवार निरन्जन संजेलले अझै निर्वाचन खर्च बुझाएका छैनन् ।
निर्वाचन खर्च सार्वनिक गरि जिल्ला निर्वाचन कार्यालयमा नबुझाउनेहरुलाई निर्वाचन कानून बमाेजिम उम्मेदवार हुनबाट राेक लगाउने लगायतका कारबाही गर्ने प्रावधान छ ।
धादिङको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशिका तामाङ र क्षेत्र नम्बर २ बाट रास्वपाकै बोध नारायण श्रेष्ठ निर्वाचित भएका थिए ।