धादिङ ।
लैङ्गिक हिंसामुक्त समाज निर्माण र पीडितलाई न्यायको सुनिश्चितताका लागि सामूहिक प्रतिबद्धता जनाउँदै धादिङबेँसीमा दीप प्रज्वलन गरिएको छ। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु हुनुअघि मङ्गलबार साँझ विभिन्न क्षेत्रका प्रतिनिधि तथा मानवअधिकारकर्मीहरूले मैनबत्ती बालेर हिंसाविरुद्ध ऐक्यबद्धता जनाएका हुन्।
नीलकण्ठ नगरपालिका, तथा मानवअधिकारकर्मी तथा गैरसरकारी सङ्घसंस्थाहरूको संयुक्त आयोजनामा मङ्सिर ८ गते दीप प्रज्वलन कार्यक्रम गरिएको हो।
कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना, उपप्रमुख दीपक विश्वकर्मा, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु रिजाल, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष एवं इन्सेक प्रतिनिधि सीताराम अधिकारी, सुरक्षा निकायका प्रमुख, महिला मानवअधिकार रक्षक तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
दीप प्रज्वलनमार्फत सहभागीहरूले महिला तथा बालिकामाथि हुने हिंसा, विभेद र दुर्व्यवहार अन्त्यका लागि समाजका सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिएका थिए। कार्यक्रममा वक्ताहरूले लैङ्गिक हिंसा कुनै एक व्यक्ति वा परिवारको मात्र समस्या नभई सामाजिक अपराध र मानवअधिकार उल्लङ्घनको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि घरपरिवारदेखि राज्यका निकायसम्मको साझा प्रयास आवश्यक रहेको बताए।
उनीहरूले हिंसापीडितलाई न्यायमा सहज पहुँच, सुरक्षित वातावरण, उचित संरक्षण र दोषीलाई कानुनी कारबाहीको व्यवस्था हुनुपर्नेमा जोड दिए। हिंसाका घटना लुकाउने वा मिलापत्रका नाममा पीडितलाई थप पीडा दिने प्रवृत्तिको अन्त्य गर्दै पीडितमैत्री व्यवहार र सचेतना अभिवृद्धि गर्नुपर्ने उनीहरूको भनाइ थियो।
हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि विभिन्न सचेतनामूलक कार्यक्रमसहित सञ्चालन हुँदैछ। यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्यायको सुनिश्चितता, पीडितको संरक्षण र दण्डहीनताको अन्त्य गरौँ’ रहेको छ। त्यसैगरी राष्ट्रिय नाराले पनि पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितताका लागि सामूहिक ऐक्यबद्धताको आवश्यकता औँल्याएको छ।
अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सचेतना फैलाउनुका साथै पीडितको अधिकार, संरक्षण र न्यायका सवाललाई प्राथमिकतामा राख्दै आएको छ।