विपद्का बेला जोखिममा रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नुपर्नेमा जोड

विपद्का बेला जोखिममा रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नुपर्नेमा जोड

  • Kandara Samachar

  • मङ्लबार, मंसिर ९, २०८३

  • 24
    SHARES
विपद्का बेला जोखिममा रहेका नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेट्नुपर्नेमा जोड

धादिङ ।

विपद्का समयमा प्रभावित नागरिकलाई राहत वितरणमा मात्र सीमित नराखी जोखिममा रहेका व्यक्ति तथा समुदायको पहिचान गरी सामाजिक सुरक्षा प्रणालीमार्फत समयमै आर्थिक, भौतिक तथा सामाजिक सहायता उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ।

विपद्का कारण सबैभन्दा बढी प्रभावित हुने बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, विपन्न तथा सामाजिक सुरक्षाको पहुँचबाट बाहिर रहेका समुदायलाई विशेष प्राथमिकतामा राखेर संरक्षण र सहायता उपलब्ध गराउनुपर्ने सरोकारवालाहरूले बताएका छन्।

धादिङको गल्छी गाउँपालिकामा मंगलबार आयोजित विपद् संवेदनशील सामाजिक सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले विपद् व्यवस्थापनलाई सामाजिक सुरक्षासँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

कार्यक्रममा पूर्वमन्त्री एवं विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद् आउनुअघि नै जोखिममा रहेका नागरिकको पहिचान, तथ्याङ्क सङ्कलन र आवश्यक तयारी गर्न सके विपद्का समयमा हुने मानवीय तथा आर्थिक क्षति न्यूनीकरण गर्न सकिने बताउनुभयो। विपद्पछि राहत वितरण गर्ने परम्परागत अभ्याससँगै विपद् प्रभावित नागरिकलाई सामाजिक सुरक्षा प्रणालीमा समेटेर दीर्घकालीन संरक्षण र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो।

उहाँले विपद् संवेदनशील सामाजिक सुरक्षाले जोखिममा रहेका नागरिकलाई समयमै सहायता उपलब्ध गराउने, प्रभावित परिवारको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्ने र राहत वितरणलाई थप समावेशी तथा न्यायपूर्ण बनाउन सहयोग पुग्ने बताउनुभयो।

कार्यक्रममा गल्छी गाउँपालिकामा विपद् संवेदनशील सामाजिक सुरक्षाको वर्तमान अवस्था, जोखिममा रहेका नागरिकको पहिचान, विपद् पूर्वतयारी, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल गरिएको थियो। साथै स्थानीय तहका जनप्रतिनिधि र विषयगत शाखाका प्रमुखहरूले सामाजिक सुरक्षा र विपद् व्यवस्थापनबीच समन्वय कायम गर्नुपर्ने विषयमा धारणा राखेका थिए।

गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि समुदायस्तरबाटै तयारी गर्नुपर्ने बताउनुभयो। विपद्का बेला सबै नागरिक समान रूपमा प्रभावित नहुने भएकाले बढी जोखिममा रहेका व्यक्ति तथा परिवारको पहिचान गरी उनीहरूलाई प्राथमिकताका आधारमा सहायता उपलब्ध गराउन स्थानीय सरकारले विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले विपद् व्यवस्थापन र सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्न सके प्रभावित नागरिकलाई लक्षित सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो।

सामाजिक सुरक्षा नागरिक समाज नेटवर्कको आयोजना, सेभ द चिल्ड्रेनको सहयोग तथा गल्छी गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा नेटवर्कका कार्यकारी निर्देशक राजेन्द्र चौलागाईंले कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पार्नुभएको थियो।

नेपाल सरकारले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ लागू गरेसँगै विपद्का समयमा सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न तहमा क्षमता विकास तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी, वडाध्यक्षहरू, कार्यपालिका सदस्य, विषयगत शाखाका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar