लगातार वर्षाले पृथ्वी राजमार्गमा पहिरो, कृष्णभीरसहित एक दर्जन ठाउँमा सडक अवरुद्ध

लगातार वर्षाले पृथ्वी राजमार्गमा पहिरो, कृष्णभीरसहित एक दर्जन ठाउँमा सडक अवरुद्ध

  • Kandara Samachar

  • शुक्रबार, अशोज ९, २०८३

  • 33
    SHARES
लगातार वर्षाले पृथ्वी राजमार्गमा पहिरो, कृष्णभीरसहित एक दर्जन ठाउँमा सडक अवरुद्ध

धादिङ ।

लगातारको वर्षापछि पृथ्वी राजमार्गअन्तर्गत धादिङ खण्डमा कृष्णभीरसहित एक दर्जन स्थानमा पहिरो खसेको छ। पहिरो खस्ने क्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालय धादिङले अर्को सूचना जारी नभएसम्म राजमार्गमा यातायात सञ्चालनमा रोक लगाएको छ।

पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट–१० स्थित कृष्णभीरमा ठूलो पहिरो खस्दा सडक जोखिममा परेको छ। भोटेकोशी–त्रिशूलीको बाढीले भदौ १४ गते सडक भासिएपछि सञ्चालनमा ल्याइएको नयाँ ट्र्याकको सुरक्षाका लागि बनाइएको ग्याबिन वालसमेत भासिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश दाहालले जानकारी दिए।

उनका अनुसार बिहानैदेखि कृष्णभीरमा स–साना पहिरो खसिरहेका थिए। पुरानो सडकतर्फको ग्याबिन वाल भासिए पनि हालसम्म नयाँ ट्र्याकमा भने प्रत्यक्ष क्षति पुगेको छैन। तर तलबाट त्रिशूली नदीले सडकको भाग कटान गरिरहेकाले थप पहिरो खस्ने जोखिम कायमै रहेको दाहालले बताए।

बेनीघाट–१० कै तेराङखोला र ज्यामिरेघाटमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ। लगातारको वर्षाका कारण सडकको विभिन्न भागमा ढुंगा, माटो र पहिरो खस्दा राजमार्गमा आवागमन प्रभावित भएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार पृथ्वी राजमार्गको धादिङ खण्डमा जुवाखोला, ज्यामिरे, परेवाभीर, कमेरेभीर, जहरेलगायत करिब सात स्थानमा पहिरो खसेको छ। अन्य स्थानमा समेत पहिरो खस्ने क्रम जारी रहेकाले जोखिम बढेको प्रशासनले जनाएको छ।

पहिरो खसेका केही स्थानमा सडक डिभिजन तथा सम्बन्धित निकायले जेसिबी परिचालन गरी पहिरो हटाउने काम गरिरहेका छन्। तर निरन्तर वर्षा भइरहेकाले एक ठाउँमा पहिरो हटाएलगत्तै अर्को ठाउँमा पहिरो खस्ने अवस्था रहेको प्रशासनले जनाएको छ।

भोटेकोशी–त्रिशूली बाढीपछि कमजोर बनेको सडक संरचनामाथि लगातारको वर्षाले थप जोखिम निम्त्याएको छ। विशेषगरी कृष्णभीरमा नदी कटान र माथिबाट पहिरो खस्ने दुवै जोखिम रहेकाले यातायात सञ्चालन गर्दा थप दुर्घटना हुन सक्ने भन्दै प्रशासनले सावधानी अपनाएको हो।

प्रशासनले पृथ्वी राजमार्गको धादिङ खण्डमा यात्रा नगर्न तथा पहिरो प्रभावित क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ। मौसममा सुधार आएर सडकको अवस्था सुरक्षित भएपछि मात्र यातायात सञ्चालनबारे निर्णय गरिने जनाइएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar