महेशदोभानमा खुल्यो अम्लेश्वर योग साधना केन्द्र

महेशदोभानमा खुल्यो अम्लेश्वर योग साधना केन्द्र

  • Kandara Samachar

  • शनिबार, साउन २३, २०८३

  • 41
    SHARES
महेशदोभानमा खुल्यो अम्लेश्वर योग साधना केन्द्र

धादिङ ।

गल्छी गाउँपालिका–६, महेशदोभानमा अम्लेश्वर योग साधना केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ। ‘स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनका लागि योग अपनाऔँ’ भन्ने मूल सन्देशसहित स्थापना गरिएको साधना केन्द्रको शनिबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।

गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भिमसेन पाण्डे, ज्येष्ठ नागरिक समिति गल्छीका अध्यक्ष शम्भु खतिवडा, गुरुकुलका बिव्यस अध्यक्ष, विभिन्न महिला समूहका प्रतिनिधि, योग समिति बागमती प्रदेशका संगठन मन्त्री शंकर प्रसाद थपलिया, धादिङ जिल्ला योग खेलकुद संघका उपाध्यक्ष सन्दिप प्रसाद घिमिरे, पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदी र महिला प्रभारी राममाया बुढाथोकी लगायत विभिन्न क्षेत्रका सरोकारवालाको उपस्थिति थियो।

उद्घाटन कार्यक्रममा जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका योग साधना केन्द्रबाट आएका साधक–साधिका तथा स्थानीयवासीको समेत सहभागिता रहेको थियो। कार्यक्रममा करिब १०० जनाको सहभागिता रहेको आयोजकले जनाएको छ।

कार्यक्रममा बोल्दै पतञ्जलि योग समिति धादिङकी महिला प्रभारी राममाया बुढाथोकीले धादिङमा पछिल्लो समय योगसम्बन्धी गतिविधि विस्तार हुँदै गएको बताउँदै अम्लेश्वर योग साधना केन्द्र जिल्लामा सञ्चालनमा आएको २४औँ साधना केन्द्र भएको जानकारी दिनुभयो। उहाँले योगमार्फत स्वस्थ जीवनशैली निर्माण गर्न साधना केन्द्रहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

त्यस्तै, पतञ्जलि योग समिति धादिङका प्रभारी बद्री सुवेदीले नयाँ योग साधना केन्द्रको सफलताको शुभकामना व्यक्त गर्दै नियमित रूपमा योग तथा साधना सञ्चालन गर्न आग्रह गर्नुभयो। उहाँले योगलाई दैनिक जीवनको अभ्यासका रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमका वक्ता शंकर प्रसाद थपलियाले योगको इतिहास, यसको सुरुवात, वर्तमान समयमा योगको आवश्यकता तथा योग साधनाको महत्वबारे जानकारी दिनुभयो। उहाँले स्वस्थ जीवनका लागि योगसँगै स्वस्थ खानपान र उचित रहनसहन पनि आवश्यक रहेको बताउनुभयो।

‘योग अब जीवनको अपरिहार्य हिस्सा’

कार्यक्रमका प्रमुख अतिथि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडाले योग साधना केन्द्रका लागि आवश्यक सहयोग गर्न गाउँपालिका तयार रहेको बताउनुभयो।

उहाँले औषधि विज्ञानको युगबाट पुनः पूर्वीय साधना र जीवनपद्धतितर्फ फर्किनुपर्ने अवस्था आएको उल्लेख गर्दै योग अब जीवनको अपरिहार्य हिस्सा बनेको बताउनुभयो। योग, आयुर्वेद र साधनाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो।

अध्यक्ष खतिवडाले आगामी दिनमा दैनिक रूपमा सञ्चालन हुने साधना केन्द्रलाई निरन्तरता दिन शुभकामना व्यक्त गर्दै गाउँपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमका अध्यक्ष तथा गल्छी गाउँपालिका–६ का वडाध्यक्ष दिपक कुमार कार्कीले आफू पनि योग साधक रहेको बताउँदै योगले अनुशासन, धर्म तथा संस्कृतिको संरक्षणसँगै शारीरिक र मानसिक स्वास्थ्यमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो। रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न तथा मानसिक रूपमा स्वस्थ रहन योग महत्वपूर्ण माध्यम रहेको उहाँको भनाइ थियो।

अम्लेश्वर योग साधना केन्द्रको संस्थापक समिति

नवनिर्मित अम्लेश्वर योग साधना केन्द्र सञ्चालनका लागि दिल बहादुर रम्तेलको प्रभारीत्वमा संस्थापक समिति गठन गरिएको छ।

समितिको सह–प्रभारीमा इन्दिरा रायमाझी भण्डारी, मन्त्रीमा राधा अधिकारी, सह–मन्त्रीमा उद्वव काराखेती र कोषाध्यक्षमा अमृता के.सी. रहनुभएको छ।

त्यस्तै सदस्यहरूमा शंकर भण्डारी, रिता भण्डारी, हिरा सुवेदी, सरस्वती भण्डारी, सुमित्रा कार्की र प्रकाश भण्डारी रहनुभएको छ।

केन्द्रको सल्लाहकारमा गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, वडाध्यक्ष दिपक कुमार कार्की, अम्लेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष भिमसेन पाण्डे, शिव भण्डारी र अप्सरा पण्डित रहनुभएको छ।

नवनिर्मित अम्लेश्वर योग साधना केन्द्रले अब दैनिक रूपमा योग तथा साधना सञ्चालन गर्ने जनाएको छ। स्थानीयस्तरमा योगको पहुँच विस्तार गर्दै स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली निर्माणमा केन्द्रले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

गल्छी–६ महेशदोभानमा नयाँ योग साधना केन्द्र सञ्चालनमा आएसँगै स्थानीय बासिन्दालाई नियमित योग तथा साधनाका लागि सहज वातावरण सिर्जना भएको छ। जिल्लामा सञ्चालनमा रहेका योग साधना केन्द्रको संख्या २४ पुगेको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar