नदीले विद्यालय लग्यो, बालबालिकाको सपना लैजान सकेन

नदीले विद्यालय लग्यो, बालबालिकाको सपना लैजान सकेन

  • Kandara Samachar

  • बुधबार, अशोज २१, २०८३

  • 19
    SHARES
नदीले विद्यालय लग्यो, बालबालिकाको सपना लैजान सकेन

✍️ सीताराम अधिकारी/धादिङ ।

बिहान विद्यालय जाने समय भयो कि उनीहरूको आँखा पुरानो विद्यालयतिर पुग्छ। जहाँ कुनै समय साथीहरूको हाँसो सुनिन्थ्यो, शिक्षकको आवाज गुन्जिन्थ्यो र उनीहरू कापी–किताब बोकेर कक्षाकोठातिर दौडिन्थे। अहिले त्यहाँ कक्षाकोठा छैन। खेल्ने मैदान छैन। विद्यालयको आँगन छैन। बाढीले विद्यालयको ठाउँमा नदीको धार छाडेको छ।

तर विद्यालय हराए पनि उनीहरूको पढ्ने चाहना हराएको छैन।

बेनिघाटरोराङ गाउँपालिका–७ चरौँदीस्थित बुद्धिविकास आधारभूत विद्यालयका विद्यार्थी अहिले आफ्नो विद्यालयबाट टाढा विशालटारमा अस्थायी कक्षामा पढिरहेका छन्। दुईवटा टेन्ट र क्याम्पसको भवन उनीहरूको नयाँ कक्षाकोठा बनेको छ। उनीहरू पढिरहेका छन्, तर मन भने अझै त्यही पुरानो विद्यालयमै छ।

भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले विद्यालयको भवन मात्र बगाएको होइन, बालबालिकाको पढ्ने वातावरण नै खोसिदिएको छ।

भदौ १० गतेको बाढी विद्यालय नजिकसम्म पुगे पनि भवन जोगिएको थियो। तर चार दिनपछि आएको अर्को बाढीले अवस्था बदलिदियो। भदौ १४ गते नदीले धार परिवर्तन गर्दै विद्यालय परिसरबाटै बाटो बनाएपछि तीनवटा कक्षा कोठासहित शिक्षण सामग्री बगायो। विद्यार्थी खेल्ने र घाम ताप्ने ठाउँसमेत नदीको भेलले आफ्नो बनायो।

विद्यालयमा बाढी आउँदा विद्यार्थी भने थिएनन्। जोखिम बढेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको थियो। त्यसैले ठूलो मानवीय क्षति हुन पाएन। तर विद्यालयसँग जोडिएका उनीहरूका धेरै सम्झना भने बाढीले एकैपटक बगाएर लग्यो।

“हाम्रो विद्यालय फेरि त्यहीँ बनाइदिए हुन्थ्यो,” विद्यार्थीहरू भन्छन्।

उनीहरूको आवाजमा विद्यालय फर्कने चाहना मात्र छैन, आफूले चिनेको संसार फेरि फर्कियोस् भन्ने आग्रह पनि छ।

टेन्टभित्रको पढाइ

कक्षा ८ सम्म पढाइ हुने बुद्धिविकास आधारभूत विद्यालयमा ११५ विद्यार्थी अध्ययनरत छन्। ५४ छात्रा र ६१ छात्रमध्ये २० जना दलित, ८२ जना जनजाति, जसमा चेपाङ बालबालिकासमेत छन्। नौ जना ब्राह्मण–क्षेत्री र चार जना अन्य समुदायका विद्यार्थी छन्।

विद्यालय भवन बगाएपछि उनीहरूको पढाइ रोकिएको छैन। तर पढ्ने ठाउँ बदलिएको छ।

विशालटारस्थित क्याम्पस भवनमा कक्षा सञ्चालन गरिएको छ। पर्याप्त कोठा नहुँदा केही विद्यार्थीलाई टेन्टभित्र राखेर पढाउनुपर्ने बाध्यता छ। गर्मी, चिसो वा पानी पर्दा टेन्टभित्रको पढाइ सहज हुँदैन। बालबालिकाले कापी–किताब बोकेर अस्थायी कक्षामा पुग्नुपर्छ।

विद्यालयकी प्रधानाध्यापक मेनुका ढुंगानाका लागि सबैभन्दा ठूलो चुनौती विद्यालयको भौतिक संरचना होइन, विद्यार्थीको पढाइ निरन्तर राख्नु हो।

“विद्यालयको अवस्था हेर्दा दुःख लाग्छ। बालबालिकाको पढाइ रोक्न भएन भनेर अर्को ठाउँमा कक्षा सञ्चालन गरिरहेका छौँ,” उहाँ भन्नुहुन्छ, “तर सबैको चाहना आफ्नै ठाउँमा विद्यालय फर्कियोस् भन्ने हो।”

पढाइभन्दा पहिले पेटको चिन्ता

विद्यालय बाढीबाट विस्थापित भएको छ। तर यहाँ पढ्ने अधिकांश बालबालिकाको परिवार पहिले नै आर्थिक कठिनाइमा छन्।

धेरै अभिभावक ज्याला मजदुरी गरेर परिवार पाल्छन्। दैनिक काम गरेर दैनिक गुजारा चलाउनुपर्ने परिवारका लागि विद्यालयसम्म बालबालिकालाई पठाउनु पनि चुनौतीपूर्ण छ। काममा निस्किएको दिनको आम्दानीले घरको खाना, लत्ताकपडा र अन्य आवश्यकता धान्नुपर्छ।

“हामी काम नगरे घरमा खानेकुरा आउँदैन,” एक अभिभावकले मजदुरी गरिरहेको ठाउँबाट इन्सेक प्रतिनिधिसँग भने, “विद्यालयको कुरा सोच्न पनि समय पाउन गाह्रो हुन्छ।”

बाढीपछि उनीहरूको समस्या झन् थपिएको छ। घर, खेतबारी, रोजगारी र बाटोघाटोमा परेको असरले परिवारको आर्थिक अवस्था कमजोर बनेको छ। चाडपर्व नजिकिँदा बालबालिकाका लागि नयाँ कपडा र आवश्यक सामग्री जुटाउने चिन्ता पनि थपिएको छ।

दशैँ आउँदै छ। तर कतिपय परिवारका लागि चाडपर्वभन्दा दैनिक गुजारा ठूलो विषय बनेको छ।

‘गरिबका छोराछोरी पढ्ने विद्यालय’

विद्यालय बाढीले बगाएपछि अभिभावकमा अर्को चिन्ता पनि छ—अब विद्यालय कहिले बन्छ?

“गरिबका छोराछोरी मात्रै पढ्ने विद्यालय भएपछि कसले हेर्छ र ?” एक अभिभावकले प्रश्न गरे।

यो प्रश्नमा उनीहरूको गुनासो मात्र छैन, लामो समयदेखि राज्यको प्राथमिकताबाट आफूहरू पछाडि परेको अनुभूति पनि छ।

बाढीले विद्यालयको भवन बगाएको छ। पुनर्निर्माणका लागि स्रोत आवश्यक छ। तर यहाँका परिवारका लागि विद्यालय भनेको केवल पढ्ने भवन होइन। यही विद्यालयमा उनीहरूका छोराछोरीले भविष्यको सपना देखेका छन्।

त्यसैले अभिभावकको माग भवन बनाइदिनुस् भन्ने मात्र छैन। उनीहरू आफ्ना बालबालिकाको पढाइ नटुटोस् भन्ने चाहन्छन्।

नदी फेरियो, सम्झना फेरिएन

बाढीपछि त्रिशूलीले पुरानो धार छाडेको छ। जहाँ विद्यालय थियो, त्यहाँ अहिले नदीको बहाव देखिन्छ। विद्यालयको भग्नावशेष अझै जोखिममा छ।

अस्थायी कक्षाबाट फर्किंदा विद्यार्थीहरू कहिलेकाहीँ पुरानो विद्यालयतिर हेर्छन्। उनीहरू भत्किएको भवनको अवशेष, नदीको नयाँ धार र आफूले खेल्ने गरेको ठाउँ सम्झिन्छन्।

त्यहीँ कतै उनीहरूको पहिलो अक्षर लेखिएको थियो। त्यहीँ साथी बनाएका थिए। त्यहीँ शिक्षकबाट गाली र प्रशंसा दुवै पाएका थिए। अहिले त्यो सबै ठाउँ पानीको धार र भग्नावशेषमा परिणत भएको छ।

तर बालबालिकाको स्मृतिमा विद्यालय अझै उस्तै छ।

“फेरि आफ्नै विद्यालयमा पढ्न पाए हुन्थ्यो,” उनीहरूको एउटै चाहना छ।

विद्यालय फर्कने बाटो

बेनिघाटरोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ले जोखिम हटाएर विद्यार्थीका लागि सुरक्षित वातावरण तयार भएपछि विद्यालय आफ्नै स्थानमा सञ्चालन गर्ने बताउनुभएको छ।

तत्काल विद्यालय रहेको स्थान जोखिमपूर्ण रहेकाले विशालटारमा सारेर कक्षा सञ्चालन गरिएको उहाँको भनाइ छ।

तर विद्यालय कहिले फर्किन्छ भन्ने प्रश्नको उत्तर विद्यार्थी र अभिभावकले अझै पाएका छैनन्।

उनीहरूका लागि विद्यालय फर्कनु भनेको भवन फर्कनु मात्र होइन। आफ्नै गाउँमा पढ्ने अधिकार फर्कनु हो। साथीहरूसँगै कक्षामा बस्ने अवसर फर्कनु हो। शिक्षकको आवाज आफ्नै कक्षाकोठामा सुन्न पाउनु हो। र, बाढीले अस्तव्यस्त बनाएको जीवनमा सामान्यता फर्कनु हो।

भोटेकोसी–त्रिशूलीले बुद्धिविकास विद्यालयको भवन बगायो। कक्षाकोठा बगायो। किताब र शिक्षण सामग्री बगायो। विद्यार्थीको खेल्ने ठाउँ बगायो।

तर एउटा कुरा भने बगाउन सकेन—उनीहरूको पढ्ने इच्छा र भविष्यप्रतिको सपना।

नदीले विद्यालयको ठाउँ खोसेको छ, तर ती बालबालिकाको आँखामा रहेको विद्यालय फर्कने आशा अझै बाँकी छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar