धादिङ ।
भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बेनीघाट रोराङ गाउँपालिका–५ की प्रमिला श्रेष्ठको परिवारबाट कमाउने हात खोस्यो। सवारी चालक श्रीमान् अरुण कँडेल बाढीपछि सम्पर्कविहीन छन्। उनको अवस्था अझै अज्ञात छ।
अरुण सवारी चलाउने कामका लागि बाढी आउनुअघि रसुवा पुगेका थिए। त्यसपछि परिवारसँग सम्पर्क हुन सकेको छैन। श्रीमान्को खोजीको प्रतीक्षामा रहेकी प्रमिलाको काँधमा अहिले ९० वर्षीय ससुरा, सासू, एक छोरा र एक छोरीको जिम्मेवारी छ।
अरुणको आम्दानीबाटै परिवारको दैनिकी चल्थ्यो। उनी बेपत्ता भएपछि घरखर्चदेखि छोराछोरीको पढाइ र वृद्ध अभिभावकको हेरचाहसम्मको जिम्मेवारी प्रमिलामाथि आएको छ। सहकारीमा काम गरेर उनले मासिक करिब १० हजार रुपैयाँ कमाउँछिन्। यही रकमले पाँच सदस्यीय परिवारको खर्च धान्न उनलाई कठिन भइरहेको छ।
आर्थिक संकट यतिमै रोकिएको छैन। अरुणले बैंक तथा व्यक्तिबाट ऋण लिएर सवारी किनेका थिए। सवारी चलाएर आम्दानी गर्ने व्यक्ति नै बेपत्ता भएपछि ऋणको किस्ता तिर्ने दायित्वसमेत परिवारमाथि परेको छ।
‘श्रीमान् फर्केर आउनुहुन्छ भन्ने आशा अझै छ। तर घरमा खाने–लाउने समस्या सुरु भइसकेको छ,’ प्रमिला भन्छिन्, ‘सरकारले हामीलाई बाँच्ने आधार बनाइदिए ठूलो राहत हुन्थ्यो।’
प्रमिलाको अवस्था बाढीमा बेपत्ता भएका अन्य सवारी चालकका परिवारको पनि साझा पीडा बनेको छ। परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति नै बेपत्ता भएपछि उनीहरू आफन्तको खोजीसँगै जीविकाको संकटमा परेका छन्। बालबालिकाको शिक्षा, वृद्ध अभिभावकको हेरचाह, दैनिक खर्च र ऋणको दायित्व उनीहरूकै काँधमा थपिएको छ।
बाढीपीडितका लागि सरकारले राहत, पुनःस्थापना र क्षतिपूर्तिका कार्यक्रम अघि बढाए पनि बेपत्ता भएका चालकका आश्रित परिवारको तत्कालीन जीविकाका लागि स्पष्ट र पर्याप्त व्यवस्था देखिएको छैन। आफन्तको अवस्था पत्ता नलागेको अवस्थामा परिवारले राहतको प्रतीक्षा र भविष्यको चिन्ता एकसाथ खेपिरहेका छन्।
प्रमिलालाई ठूलो क्षतिपूर्ति चाहिएको छैन। उनको माग यति मात्रै छ– श्रीमान्को खोजीलाई निरन्तरता दिइयोस् र परिवार भोकै बस्नुपर्ने अवस्था नआउने गरी राज्यले तत्काल सहारा देओस्।
‘हामीले धेरै मागेका छैनौँ,’ उनी भन्छिन्, ‘परिवारलाई सहज रूपमा बाँच्ने आधार सरकारले बनाइदिए पुग्छ।’
अरुण फर्किने आशा प्रमिलाले अझै छाडेकी छैनन्। तर, त्यो आशासँगै घरको चुलो, छोराछोरीको भविष्य र ऋणको भारले उनको चिन्ता दिनप्रतिदिन गहिरिँदै गएको छ। बाढीमा बेपत्ता भएका परिवारका लागि अब आफन्तको खोजीसँगै जीविका जोगाउने तत्कालीन आधार पनि उत्तिकै आवश्यक देखिएको छ।
बेनिघाटराेराङ गाउँ पालिकामा १० जना बेपत्ता छन् भने १ जनाकाे शव भेटिएकाे छ ।