बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रचण्ड

बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रचण्ड

  • Kandara Samachar

  • शनिबार, भदौ २७, २०८३

  • 34
    SHARES
बाढी प्रभावित क्षेत्रको निरीक्षणमा प्रचण्ड

धादिङ
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङको गल्छी गाउँपालिकाका बाढी प्रभावित विभिन्न क्षेत्रको स्थलगत अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पछिल्लो विपत्तिलाई सामान्य बाढीका रूपमा मात्र लिन नसकिने बताउनुभयो । उहाँले असाधारण रूपमा आएको विपत्तिले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख गर्दै यसलाई प्रलयकारी अवस्थाको संज्ञा दिनुभयो ।
संयोजक दाहालले पछिल्ला वर्षहरूमा देखिएका यस्ता असामान्य प्राकृतिक विपत्तिका घटनामा जलवायु परिवर्तनको प्रभाव प्रमुख कारणका रूपमा देखिएको बताउनुभयो । हिमालमा हिउँ पग्लिने, पहिरो जाने तथा हिमताल विस्फोटका घटना बढ्दै गएको उल्लेख गर्दै उहाँले जलवायु परिवर्तनले मानव जातिमाथि नै गम्भीर चुनौती थपिरहेको बताउनुभयो ।
उहाँले पछिल्लो घटनाले नेपालका हिमाल तथा जलवायु परिवर्तनबाट उत्पन्न जोखिमप्रति विश्व समुदायको ध्यान थप केन्द्रित गराएको बताउनुभयो ।
“जलवायु परिवर्तनका कारण नेपालजस्ता मुलुकले ठूलो मानवीय तथा भौतिक क्षति व्यहोर्नुपरेको छ,” उहाँले भन्नुभयो, “तर विकसित राष्ट्रहरूले जलवायु न्याय तथा ‘लस एन्ड ड्यामेज फन्ड’ सम्बन्धी गरेका प्रतिबद्धता अझै प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेका छैनन् ।”
आफू प्रधानमन्त्री रहँदा संयुक्त राष्ट्रसंघ तथा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालले भोगिरहेको जलवायुजन्य जोखिमका विषयमा निरन्तर आवाज उठाएको उहाँले स्मरण गर्नुभयो । त्यही क्रममा संयुक्त राष्ट्रसंघका महासचिवलाई नेपाल भ्रमण गरी हिमालमा भइरहेको परिवर्तन र हिउँ पग्लिँदै गएको अवस्थाको प्रत्यक्ष अवलोकन गर्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
उहाँले उक्त भ्रमण र त्यसबाट प्रवाहित सन्देशले नेपालका हिमाल तथा जलवायु परिवर्तनका असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।
पछिल्लो विपत्तिले जलवायु परिवर्तनको असरबारे विश्व समुदायको ध्यान नेपालतर्फ आकर्षित गरेको उल्लेख गर्दै उहाँले अब नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा यस विषयलाई उठाउनबाट पछि हट्न नहुने बताउनुभयो ।
संयोजक दाहालले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी भई जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति, हिमालको बदलिँदो अवस्था तथा जलवायु न्याय र क्षतिपूर्तिका विषयलाई प्राथमिकताका साथ उठाउन आग्रह गर्नुभयो ।
बाढी प्रभावित क्षेत्रकाे निरिक्षणकाे क्रममा बैरेनी महेशदाेभान, विद्यालय, बैरेनी अस्पताल लगायत व्यक्ति का क्षतिग्रस्त घरहरु हेरेर फर्किनुभयाे । निरिक्षण भ्रमणका क्रममा नेकपा नेता पूर्व मुख्य मन्त्री शालिकराम जम्कट्टेल, तथा स्थानीय नेताहरु सहभागी हुनुभएकाे थियाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar