धादिङ ।
गल्छी गाउँपालिका–६ बैरेनीस्थित बैरेनी अस्पतालमा दुईदिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।
अन्तर्राष्ट्रिय धादिङ समाजको आयोजनामा तथा ब्लड डोनर्स अफ अमेरिका, धादिङ समाज यूके र धादिङ सेवा समाज कतारको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। शिविरमा गल्छी गाउँपालिकाको स्थानीय सहयोग रहनेछ।
शिविरमा जनरल फिजिसियन, महिला रोग विशेषज्ञ, मानसिक रोग विशेषज्ञ र हाडजोर्नी विशेषज्ञबाट स्वास्थ्य परीक्षण तथा परामर्श सेवा उपलब्ध हुने आयोजकले जनाएको छ।
शिविर भदौ २७ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र भदौ २८ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ।
विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श लिन चाहने सर्वसाधारणलाई शिविरमा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
ग्रामीण तथा आर्थिक रूपमा कमजोर समुदायका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो।