धादिङका अब्वल शिक्षासेवी तथा सङ्गीतकर्मी आशादीप शाक्य

धादिङका अब्वल शिक्षासेवी तथा सङ्गीतकर्मी आशादीप शाक्य

  • Kandara Samachar

  • शनिबार, भदौ ६, २०८३

  • 37
    SHARES
धादिङका अब्वल शिक्षासेवी  तथा सङ्गीतकर्मी आशादीप शाक्य

  ✍️ शर्मिला तिमल्सिना

“अहिले पनि सामाजिक सञ्जालमा गीत तथा कविता लेखेर पोस्ट गरिरहने आशा दाइ नयाँ पुस्ताका लागि पनि एक प्रेरक व्यक्तित्व हुनुहुन्छ । रमाइलोसँग सबैलाई मन्त्रमुग्ध बनाएर गीत तथा नाच सिकाउने निर्देशक शाक्यलाई आदर्श मा. वि. का पूर्व विद्यार्थीहरूले किमार्थ भुल्न सक्दैनन् । “

ललितपुरमा जन्मेर तथा हुर्केर गजुरीमा सुन व्यवसायीको रूपमा सक्रिय तथा तत्कालीन परिप्रेक्ष्यमा राम्रो लेखापढी गर्न जान्ने आशादीप शाक्यले केही संस्थापक शिक्षकहरूलाई काठमाडौँबाट गजुरीमा लगी शैक्षिक जागरणमा उल्लेख्य याेगदान दिनु भएको थियो । गीत लेख्ने, सङ्गीत भर्ने, गाउने, हार्मोनियम बजाउने, नृत्य र प्रहर्सनमा अभिनयसमेत गर्ने सीप भएका शाक्यले विद्यालय स्थापना कालमा देउसे खेलेर अर्थ संकलन गर्ने कार्यमा नेतृत्व गर्नु भएको थियो । त्यसपछि उहाँले दुई दशकभन्दा बढी विद्यालयको वार्षिक उत्सव तथा सांकृतिक कार्यक्रमको निर्देशक भएर शैक्षिक र सांकृतिक चेतना फैलाउने काम गर्नु भयो । उहाँकाे जीवन-सन्दर्भमा केन्द्रित भएर याे सङ्क्षिप्त आलेख तयार गरिएकाे छ ।

जन्मस्थान र बाल्यकाल
आशादीप शाक्यको जन्म वि. सं. १९८८ मा ललितपुर महानगरपालिका
स्थित पाटन ह:खा टोलमा भएको थियो । उहाँको माताको नाम कृष्णमाया शाक्य
र पिताको नाम जोगरत्न शाक्य हो । उहाँको पिता सुन व्यवसायी हुनुहुन्थ्यो ।
सुन व्यवसायकै क्रममा उहाँ परिवारलाई लिएर धादिङको गजुरी जानु भएको
थियो । पाटनमा रातो मछिन्द्रनाथको जात्रा हुँदा ललितपुर जाने र तिहार
सकिएपछि गजुरी आउने क्रम चलिरह्यो । शर्मिला तिमल्सिना
ललितपुरको घर बेचेपछि २०१० सालबाट स्थायी रूपमा गजुरीमै बस्न थाल्नु भएको हो । उहाँले २०२४ सालमा ३६ वर्षको उमेरमा आफूभन्दा १८ वर्ष कान्छी गजुरी निवासी मैया श्रेष्ठसँग विवाह गर्नु भएको थियो । उहाँको परिवारमा श्रीमती मैया शाक्य, छोरा नवदीप शाक्य, छोरी रोशनी शाक्य उप्रेती, बुहारी रीना शाक्य र नातिनातिनाहरू हुनुहुन्छ ।
शैक्षिक योग्यता र पेशा
शाक्यले ढकाल गुरुबाट बाह्रखरी शिक्षा अध्ययन गर्नु भएको थियो । २०१०-०१५ सालतिर उहाँ गजुरीमा नेपाली राम्रोसँग लेखापढी गर्न सक्ने युवाको रूपमा चर्चित हुनुहुन्थ्यो । शाक्यले पनि आफ्नो परिवारको परम्परागत पेसालाई नै निरन्तरता दिनु भयो । विवाहको लगन र चाड बाडअघि उहाँको घरमा सुनका गहना बनाउनेहरूको भिड हुने गर्दथ्यो ।

आशादीप र मैयाको जोडी

गीत-सङ्गीतप्रतिको लगाव
उहाँका पिता सुन व्यवसायी जोगरत्न शाक्यले हार्मोनियम बजाउने गर्नु हुन्थ्यो । हार्मोनियम बजाएर भजन कीर्तनमा तल्लीन हुने बुबाबाट गीत-सङ्गीतमा सक्रिय हुन उहाँलाई प्रेरणा मिलेको थियो । त्यसैगरी उहाँका साथीहरू केवलपुरे किसान र रामकुमार खे जस्ता साहित्यकार साथीहरूको प्रेरणाबाट साहित्य तथा सङ्गीतमा लाग्नु भएको हो ।
वि. सं. २०२६ सालदेखि संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्माको आग्रहमा आदर्श हाईस्कूलद्वारा आयोजित वार्षिक उत्सव तथा सांस्कृतिक कार्यक्रमहरूमा नृत्य निर्देशकको रूपमा कार्य गर्दै आउनुभएको हो । उहाँले ‘ए साथी हाम्रो नेपाल कति राम्रो’, ‘बा हो आमा हो’, ‘नौडाँडा पारि’ जस्ता मौलिक गीत, राष्ट्रिय गीत, बालगीतहरू लेख्नु भयो । आफैँले सङ्गीत भर्नु भयो । गाउनु भयो । अरूलाई पनि गाउन सिकाउनु भयो । हरेक सांस्कृतिक कार्यक्रममा उहाँले नृत्य निर्देशकको भूमिका पनि खेल्नु भएको थियो । त्यसभन्दा अगाडि क्लबहरूमा गीत गाउने गर्नु हुन्थ्यो । अहिले पनि मन्दिरहरूमा भजन कीर्तन गर्ने गर्नुहुन्छ।
शाक्यलाई विद्यार्थीहरुलाई नचाउँदा खुबै रमाइलो लाग्ने गरेको थियो । सरला, सुशीला र शान्ति गीत गाउन निकै खप्पिस थिए । लक्ष्मी, चमेली, शर्मिला पनि उस्तै थिए । श्रृंगारमा भवानीले साथ दिएको कुरा हाँस्दै सुनाउनुहुन्छ । उहाँले सङ्गीत निर्देशकको रूपमा लगातार दुई दशकभन्दा अबधी योगदान गर्नु भयो ।
शिक्षासेवामा सक्रियता
लेखकसँगको अन्तर्वार्तामा शिक्षासेवी शाक्य भन्नुहुन्छ, “म शिक्षासेवाको पवित्र कार्यमा २०२५ सालदेखि नै लागेको हुँ । सोही सालको दशैँ सकिए लगत्तै साथीहरू जम्मा हुने, खानपिन गर्ने तथा भलाकुसारी गर्ने काम भयो । त्यतिबेला नै मोहनविक्रम बस्नेतले आदर्श हाईस्कूल स्थापना गर्ने कुरा निकालेपछि पुरुषोत्तमदास श्रेष्ठ, ठाकुरप्रसाद शर्मा, सुमनदास श्रेष्ठ, म, बाबुकाजी श्रेष्ठ, मदनदास श्रेष्ठ, बद्रीप्रसाद रिजाल, टीकादत्त उप्रेती, भीमनाथ खरेल, योगबहादुर हमाल लगायतका साथीहरू मिलेर स्कूल स्थापना गर्ने कुरा भएको थियो । फलस्वरूप २०२५ साल पौष ५ गते धादिङ जिल्लाकै पहिलो हाईस्कूलको स्थापना भएको हो । आर्थिक रूपमा सहयोग गर्ने रामदास श्रेष्ठ पनि हुनुहुन्थ्यो । खाजा खुवाउने काम म र बाबुकाजी श्रेष्ठले गरेका थियौँ । शिक्षकलाई दैनिक एक रुपैयाँ खाजा भत्ता दिने गरेको थियो । त्यतिबेलाका शिक्षकहरू विष्णुकुमार श्रेष्ठ, गोपीनाथ रिजाल, हेमराज कँडेल आदि हुनुहुन्थ्यो ।”
असल शिक्षासेवी शाक्यले विद्यालय संचालक समितिको सदस्य र सचिवको रूपमा पनि योगदान गर्नु भएको थियो । विद्यालय स्थापना गरेपछि नयाँ भवन निर्माण गर्नको लागि देउसे खेलेर रकम संकलन गर्ने काममा अग्रणी भूमिका निर्वाह गर्नु भएको थियो । उहाँहरू चेपाङटारी र रिचोकटारसम्म देउसे खेल्दै जानु भएको थियो । यो काममा योगबहादुर हमाल र धनबहादुर बिसुरालको सहयोग पनि महत्त्वपूर्ण रहेको कुरा शाक्यले बताउने गर्नु हुन्छ ।

हाल विद्यालयसँगको सम्बन्ध :
हाल विद्यालयसँगको सम्बन्धबारे शाक्य आफ्नो विचार यसरी राख्नुहुन्छ, “पहिलेका मास्टरहरूले आशा दाइ भनेर मान्थे । अहिले त नयाँ आए । को को आए ? मलाई उनीहरूले बिर्सि पनि सकेका हुन्छन् । त्यसकारण स्कूलसँग मेरो घनिष्ठता छैन । स्कूल फलोस् फुलोस् । मेरो भावना मात्र दिने हो । हामीले सानैदेखि दु:ख गरेर हुर्काएको स्कूल एउटा बच्चालाई जसरी हुर्काएको हामीले त्यति दुःख गरेर रातभर नसुती मास्टरहरुलाई सेवा गरेर सबै कुरा विचार गरेर के के कुरा अभाव छ विचार गरेर हुर्काएको स्कुल अहिले पनि मेरै जस्तो लाग्छ । मलाई अहिले खल्लो लाग्छ किनभनेदेखि जसरी ठाकुर शर्मालाई सम्झेर यति ठूलो प्रतिष्ठान खोल्नुभयो । उनीहरूले हामीलाई त्यति सम्झदैन । यो आशा दाइ पुरानो मान्छे हो । स्कूलको लागि यति सेवा गरेको छ भन्ने नै छैन । एकाउन्टेन सर र प्रेमहरू हुँदा आशा दाइ भन्ने गर्थे । अहिले घनिष्ठ कोही पनि छैन त्यहाँ । कसैले नसम्झे पनि त्यो स्कूल हामीले दुःख गरेको स्कूल हो । हाम्रो आफ्नै हो नि !”

ठाकुरप्रसाद शर्मा प्रतिष्ठानलाई सुझाव :
प्रतिष्ठानलाई सुझाव दिँदै उहाँ भन्नुहुन्छ, “गर्नुपर्ने कर्तव्य वा सेवा नै धर्म हो । गुण सम्झेर ठाकुरप्रसादको नाउँबाट प्रतिष्ठान खोल्नुभयो । यस्तो कार्यक्रम गर्नुभयो । यो मलाई एकदम खुसी लाग्यो । सहयोग त मैले केही गर्न सकिन । तर पनि जसरी स्कूल स्थापना गर्दा जति खुसी लाग्यो त्यस्तै खुसी अहिले लागेको छ । फेरि यो संस्थालाई लोभ हुने हो कि ? उठेका पैसा मासिने पो हो कि ? त्यसलाई चाहिँ दरो चालसँग बचाएर राख्नुपर्यो । संस्था दिगो र पारदर्शी हुनुपर्यो । धेरै विद्यार्थीहरू छन् । तिनीहरूले पनि सहयोग गरोस् । जसरी बाबुहरूले यो कार्यक्रम गर्यौ, त्यसरी सबैले गर्नु पर्यो र यो संस्थालाई उज्ज्वल बनाउनु पर्यो । ठाकुरप्रसाद शर्माको  मेरो छोरो पनि चेलो हो उसले पनि गर्नु पर्यो । स्कूलको इज्जत तथा प्रतिष्ठा उठाउनको लागि मैले जति गरेको थिएँ, आशादीपले पनि यति गरेको छ भनेर सम्झिने काम होस् । मेरो मनमा दौडिरहेको कुरा तपाईँहरूसामु गर्न पाएँ। खुसी लाग्यो । यो प्रतिष्ठानको शुभकामना व्यक्त गर्दछु ।”

विभिन्न व्यक्तिहरूको विचारमा आशादीप शाक्य :
ठाकुरप्रसाद शर्मा :
आदर्श मा. वि. का संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्मा शिक्षासेवी आशादीप शाक्यको योगदान बारे बताउनु हुन्छ, “सबैका दाइ हुनुहुन्छ आशा दाइ । उहाँ गजुरी बजारको ब्राण्ड हो। उहाँभन्दा १० वर्ष जेठा व्यक्तिले पनि उहाँलाई आशा दाइ नै भन्थे र भन्छन् पनि त्यसैले मैले आशा दाइलाई गजुरीको ब्राण्ड भनेको हो । आशा दाइसँग मेरो पहिलो भेट २०२५ सालमा आदर्श हाईस्कूलको स्थापना गर्ने प्रारम्भिक छलफलको सन्दर्भमा काठमाडौँमा नै भएको जस्तो लाग्छ । लगभग ५८ वर्ष भएछ आज ९५ वर्षको उमेरमा पनि उहाँ सक्रिय जीवनयापन गरिरहनु भएको छ । यो उहाँमा भएको सहयोगी भावना र सकारात्मक सोचले सम्भव भएको हो । गजुरीमा आदर्श हाईस्कूलको स्थापना र उन्नयनको अभिन्न अङ्ग त हुँदै हो । आशा दाइ साथै गजुरी बजारमा सञ्चालन हुने सम्पूर्ण सामाजिक क्रियाकलापको प्राण वायु पनि हो । पुस्तकालय खोल्ने कुरो आयो आशा दाइ, पिकनिक जाने कुरा आयो आशा दाइ, कोही विपत्तिमा परेकालाई सहयोग जुटाउनु पर्‍यो आशा दाइ । हरेक क्रियाकलापको अग्रपङ्क्तिमा आशा दाइ ।”
शर्मा थप्नु हुन्छ, “पेसाले उहाँ कालीगढ हो ‌। एक हिसाबले मजदुर तर कुनै पनि सामाजिक क्रियाकलापमा आर्थिक योगदान गर्न अग्रपङ्क्तिमा । आदर्श हाइस्कूलको सांस्कृतिक फाँटको जनक उहाँनै हो । सहयोगी मथुरादास श्रेष्ठ हाम्रो भूमिका त आवश्यक चिज जुटाई दिने मात्र हो । उहाँको जीवनको अर्को पाटो उहाँ साहित्यकार पनि हो । उहाँले धेरै गीत, कविताहरू लेख्नुभएको छ । सामन्ती संस्कार र सामन्तवादको सधैँ विरोधी कुनै राजनीतिक पार्टीमा लागेको मलाई थाहा भएन । व्यवहारमा वाम ढल्कुवा सामाजिक अभियन्ता । जीवन्तु शरद: शतम् आशादाइ ।”
गोविन्द खनाल :
आदर्श मा. वि. का पूर्व शिक्षक गोविन्द खनाल भन्नु हुन्छ, “आदरणीय दाजु आशादीप शाक्य, बालक, युवा तथा बृद्ध सबै उमेर समूहका व्यक्तिहरुसँग सहजै आकर्षक रूपमा घुलमिल हुन सक्ने क्षमतावान एवम् उर्जावान तथा सरल स्वभावका व्यक्ति हुनुहुन्छ । उहाँ आदर्श मा. वि. गजुरीमा विभिन्न पर्व उत्सवहरू मनाउँदा सञ्चालन गरिने सांस्कृतिक कार्यक्रममा विद्यार्थी भाइ बहिनीहरूलाई नाचगान सिकाउने साथै उत्कृष्ट नमूनाको रूपमा प्रदर्शन गराउन सफल हुनुहुन्थ्यो । आवश्यक तथा अनुकूल विषयका गित कविता पनि आफैँ रचना गर्नु हुन्थ्यो। विद्यालय व्यवस्थापनमा कुनै समस्या आइपर्दा समेत समस्या समाधानका उपयुक्त उपायमा समेत सरसल्लाह दिनुभएर जिम्मेवार अभिभावकको महत्त्वपूर्ण भूमिका निर्वाह गर्नु हुन्थ्यो । साथै, गजुरी बजारमा युवा क्लबको स्थापना गर्न र सञ्चालन गर्न बजारका युवाहरूलाई अनुशासित रूपमा एक जुट भएर विभिन्न उपयोगी कार्यक्रमहरू सञ्चालनका लागि मार्ग निर्देशन गर्न प्रेरणाको श्रोत बन्न सफल बन्नु भएको छ । गजुरी युवा क्लब हाल गजुरी सामुदायिक समाजको रूपमा स्थापित भई समाजका लागि अत्यन्त महत्त्पूर्ण (योगध्यान, भजन कीर्तन, सरसफाइ आदि) कार्यक्रमहरू पनि उहाँकै सहभागिता एवम् आवश्यक मार्गदर्शनमा निरन्तर रुपमा सञ्चालन भईरहेका छन् । म आदरणीय दाजु आशादिप शाक्यज्यूको सुस्वास्थ्य दीर्घ जीवनको साथै सामाजिक सेवा प्रदानमा निरन्तरता कायम रहिरहोस् भन्ने हार्दिक मङ्गलमय शुभ कामना व्यक्त गर्दछु ।”

राजेन्द्रप्रसाद पाण्डे :
धादिङ जिल्लामा पढेर एस. एल. सी. पास गर्ने पहिलो विद्यार्थी, ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका सल्लाहकार तथा पूर्व उच्च सरकारी अधिकृत राजेन्द्रप्रसाद पाण्डे भन्नु हुन्छ, “आदर्श हाईस्कूलको स्थापना २०२५ साल पौष ५ गते भएको थियो । पहिलो व्याचको विद्यार्थीको रूपमा देवराज पाठक र मैले २०२६ सालमा एस. एल. सी. पास गरेका थियौँ । आशादीप शाक्यबारे मलाई धेरै कुरा त थाहा छैन । तर, उहाँ गजुरीको चल्तापुर्जा शिक्षासेवी हुनुहुन्थ्यो भन्ने कुरामा चाहिँ कुनै दुविधा छैन । विद्यालय भवन निर्माणको लागि देउसे खेलेर अर्थ संकलन गर्ने कार्यमा उहाँको भूमिका ठूलो थियो । गीत-सङ्गीतमा उहाँको राम्रो सीप भएको कारणले नै देउसे खेल्ने कार्यमा उहाँ बढी सक्रिय हुनु भएको थियो । हाम्रो पालामा विद्यालयले सांस्कृतिक कार्यक्रमको आयोजना गर्न सुरु गरिसकेको थिएन । पछि विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा निर्देशकको रूपमा आशा दाइले राम्रो योगदान गर्नु भएको कुरा सुनेको थिएँ । उहाँजस्ता अग्रज शिक्षासेवीहरूको हामीले सधैँ सम्मान गर्नु पर्दछ ।”

रुकु कार्की :
धादिङ जिल्लामा पढेर एस. एल. सी. पास गर्ने पहिलो छात्रा (२०२७), ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकी सल्लाहकार तथा साहित्यकार रुकु कार्की भन्नु हुन्छ, “काठमाडौँमा जन्मनुभएका आशा दाइ पश्चिम नेपालकै सुन्दर क्षेत्र धादिङको गजुरीटारमा बसाइँसरी प्रकृतिसित खेल्दै, रमाउँदै, गाउँदै आफ्नो सुन व्यवसाय चलाउँदै उत्तरोत्तर सफलताको सगरमाथा चढिरहनु भयो । उहाँ समाज सुधारका लागि स्कूलमा विद्यार्थीहरूका लागि मानव हितका सेवा गर्ने एक प्रभाह हुनुहुन्छ । लेखन, सङ्गीत, गायन धेरै शिल्पमा रुचि राख्ने प्रतिभा छ आशा दाइमा । म २०२८ सालको स्कूलको वार्षिकोत्सव सम्झिन्छु । हातमा हार्मोनियम, उतातिर जोर मादल, एक बाँसुरी सबै बज्न सुरु हुन्थ्यो । सबैले भवानीकुमारी उप्रेती, लक्ष्मी श्रेष्ठ, प्रमिलाकुमारी उप्रेती र शर्मिलाकुमारी उप्रेती, निलो चोली, फुलबुट्टे सारी र शिरमा अनेक गहना लगाई छमछम गर्दै स्कूलअगाडि आएर नाच्थे । अतितका सम्झनाहरू मेरो मनभित्र बारम्बार उर्लिरहन्छ । अन्त्यमा, आफ्नो कार्य क्षेत्रको निरन्तरता र उत्तरोत्तर प्रगतिको निम्ति कामना गर्दै उहाँको सुस्वास्थ्य सुख समृद्धिको निम्ति हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।”

जगन्नाथ तिमल्सिना :
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका सल्लाहकार, पूर्व प्रधानाध्यापक तथा साहित्यकार जगन्नाथ तिमल्सिना बताउनु हुन्छ, “धादिङ गजुरी निवासी आशादीप शाक्य अत्यन्त मिलनसार तथा समाजसेवी व्यक्ति हुनुहुन्छ । शिक्षा क्षेत्रमा उहाँको अविस्मरणीय योगदान छ । जिल्लाको पहिलो आदर्श हाईस्कूल गजुरीमा स्थापनाका साथै यसको संरक्षण एवं सम्बर्द्धनमा उहाँको महत्त्वपूर्ण योगदान रहिआएको छ । विद्यालयका सांस्कृतिक लगायतका कार्यक्रममा हार्मोनियम बजाएर सबैलाई मनोरञ्जन दिन निपुण हुनुहुन्छ । उहाँलाई २०२५ सालमा म त्यस स्कूलको दोश्रो एस. एल. सी. समूहको विद्यार्थी हुँदादेखि नै गतिशील व्यक्तित्त्वको उहाँलाई चिन्दछु ।”

महेन्द्रकुमार शर्मा पाठक :
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्व वैंक म्यानेजर महेन्द्रकुमार शर्मा भन्नुहुन्छ, “मैले प्रथमपटक आशा दाइलाई २०२२-०२३ सालतिर होला उहाँका बुबासँगै गजुरीको माथिल्लो बजारको सुनको पसलमा काम गर्दै गरेको देखेको हो । मेरो बुबाको समकालीन पुस्ताले उहाँलाई दाइ सम्बोधन गरेको थियो । आज मैले पनि दाइ भन्छु र मेरा छोरा-नाती समेत उहाँलाई दाइ सम्बोधन गर्दछन् । त्यसैले उहाँ चार पुस्ताको दाइ हुनुहुन्छ । पछि २०२५ सालमा गजुरी हाईस्कूल खुलेपछि देउसी-भैलो, सांस्कृतिक कार्यक्रम, सभा समारोह सबै कार्यक्रममा उहाँको उपस्थित अनिवार्य थियो । विद्यार्थी (साना) देखि ठूलासँग पनि उहाँ असाध्यै मिलन भाव राख्नुहुन्थ्यो । मैले जाने बुझेसम्म उहाँको कसैसँग पनि बैरभाव थिएन । र त चार पुस्ताका दाइ, आशा दाइ हुनुहुन्छ ।”
प्रमिला शर्मा :
ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकी आजीवन सदस्य तथा आदर्श मा. वि. का पूर्व पूर्व शिक्षक प्रमिला शर्मा भन्नु हुन्छ, “मेरो विचारमा आशा दाइ एक समाजसेवी, शिक्षाप्रेमी, सङ्गीतप्रेमी हुनुहुन्छ । ठूलादेखि सानासम्म सबैको बीचमा लोकप्रिय हुनुहुन्छ आशादाइ ।‌ गरीब दुखिहरूलाई सहयोग गर्ने तथा विद्यालयको वार्षिक उत्सव मनाउने चलन थियो । आशा दाइले सांस्कृतिक कार्यक्रम सञ्चालन गर्नु हुन्थ्यो । हामीलाई नाचगान सिकाउनु हुन्थ्यो । आशा दाइ डान्स शिक्षक पनि हो‌ । उहाँको बारेमा जति ब्याख्या गरे पनि थोरै हुन्छ ।”

डा. सदानन्द कडेल :
शिक्षाविद्, साहित्यकार तथा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कडेल शिक्षासेवी शाक्यको योगदानबारे आफ्नो विचार यसरी प्रस्तुत गर्नुहुन्छ, “ठाकुरप्रसाद शर्मा प्रतिष्ठान तथा विभिन्न पुरस्कारहरूको स्थापना गर्ने क्रममा मैले विद्यालय प्रशासनको सहयोगमा २०२५ साल पौष ५ गतेदेखि २०३४ सालसम्मका विद्यालय संचालक समिति बैठकका निर्णयहरू अध्ययन गरेको छु । २०२७ साल पौषमा रामदास श्रेष्ठको अध्यक्षतामा गठित विद्यालय संचालक समितिमा आशादीप शाक्य सदस्य हुनुहुन्थ्यो । २०३१ साल भाद्रमा पुनर्गठित संचालक समितिमा उहाँ सचिव हुनु भएको थियो । उहाँले दुई कार्यकाल संचालक समितिमा रहेर महत्त्वपूर्ण योगदान गर्नु भएको छ । आदर्श स्वर्ण स्मारिका २०७४ का लागि उहाँले दिनु भएको अन्तर्वार्तामा उहाँले “ठाकुर सर र सुमनदास दुबै काठमाडौँमा भएकोले म गएर उहाँहरूलाई डम्फ़रमा चढाएर ल्याएको हुँ” भन्नु भएको छ । २०१० सालमा ललितपुरबाट गजुरी बसाइँ सर्नुभएका आशा दाइ बेला बेलामा गजुरी-ललितपुर आवत जावत गरिरहने हुँदा संस्थापक शिक्षकलाई लिन उहाँ जानु भएको कुरा सान्दर्भिक देखिन्छ । गीत लेख्ने, सङ्गीत भर्ने, गाउने तथा बाजा बजाउने सीप भएकोले उहाँले विद्यालय स्थापना कालमा देउसे खेलेर अर्थ संकलन गर्ने कार्यको अगुवाइ गर्नु भएको कुरा जग जाहेर छ । २०३१ सालमा म कक्षा ६ मा अध्ययन गर्न थालेपछि हरेक वर्ष विद्यालयको वार्षिकोत्सवमा उहाँले गीतकार, सङ्गीतकार, गायक, हार्मोनियम वादक र नृत्य तथा प्रहर्सनको निर्देशकको रूपमा योगदान गर्नु भएको कुरा प्रत्यक्ष रूपमा देखेको थिएँ । धादिङको परिप्रेक्ष्यमा शैक्षिक तथा सांस्कृतिक सचेतीकरण अभियानमा आशा दाइको योगदान अतुलनीय छ ।”
कृष्णराज सिलवाल
नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक तथा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानका महासचिव कृष्णराज सिलवाल भन्नुहुन्छ, “म २०३१ सालमा आदर्श मा. वि. गजुरीमा कक्षा ६ मा अध्ययन गर्न आउँदा देखिनै हरेक वर्ष पौष ५ गते हुने स्कूलको वार्षिक कार्यक्रममा प्रस्तुत गरिने सांस्कृतिक कार्यक्रमको पूर्व तयारीदेखि कार्यक्रममा प्रत्यक्ष सहभागि भई गीत रचना, सङ्गीत, गायन, बाध्यवादन, नृत्य र प्रहर्सनमासमेत उत्कृष्ठ कला प्रदर्शन गर्न गराउन योगदान गर्नु हुने सबैका आशाका केन्द्र आशा दाइ अहिले करिब ९५ वर्बषको उमेर पार गरिसक्दा पनि गजुरी बजारमा सकृय जीवन बिताइ रहनु भएको छ । आदर्श मा. वि. को स्थापनाको सुरु देखिनै खटिनुभएका आशा दाइ स्कूल स्थापनाको केही वर्षपछि संचालक समितिमा समेत संलग्न भई लामो समय प्रत्यक्ष योगदान पुर्याउने उहाँ जीवित संस्थापक संचालकहरूभन्दा पनि उमेरले जेठा, विचारले स्पष्ट र स्वास्थले पनि हालसम्म साथ पाएका गजुरीका जेष्ठ नागरिक हुनुहुन्छ । आदर्श मा. वि. को इतिहासमा कला, संस्कृति, गीत, सङ्गीत र मनोरञ्जनात्मक कृयाकलापका संस्थापक सर्जक/अगुवा, अवैतनिक गुरु तथा सधैँ सबैका आशा दाइले स्कूल स्थापनादेखि हालसम्म पुर्याउनु भएको योगदान अनन्य, अमुल्य र अविस्मरणीय छ र सदा रही रहनेछ भन्ने लाग्दछ। आशा दाइको सुस्वास्थ र दीर्घ जीवनको कामना पनि गर्दछु ।”

निष्कर्ष
धादिङ जिल्लाको पहिलो हाईस्कूल स्थापना गर्ने सिलसिलामा शिक्षासेवी आशादीप शाक्यले महत्त्वपूर्ण योगदान गर्नु भएको छ । ललितपुरमा जन्मेर तथा हुर्केर गजुरीमा सुन व्यवसायीको रूपमा सक्रिय तथा तत्कालीन परिप्रेक्ष्यमा राम्रो लेखापढी गर्न जान्ने शाक्यले केही संस्थापक शिक्षकहरूलाई काठमाडौँबाट गजुरीमा लिएर जाने काममा सघाउनु भएको थियो । गीत लेख्ने, सङ्गीत भर्ने, गाउने, हार्मोनियम बजाउने, नृत्य र प्रहर्सनमा अभिनयसमेत गर्ने सीप भएका शाक्यले विद्यालय स्थापना कालमा देउसे खेलेर अर्थ संकलन गर्ने कार्यमा नेतृत्व गर्नु भएको थियो । त्यसपछि उहाँले दुई दशकभन्दा बढी विद्यालयको वार्षिक उत्सव तथा सांकृतिक कार्यक्रमको निर्देशक भएर शैक्षिक र सांकृतिक चेतना फैलाउने काम गर्नु भयो ।
उत्कृष्ट शिक्षासेवी शाक्यले २०२७ सालबाट दुई कार्यकाल विद्यालय संचालक समितिको सदस्य र सचिवको हैसियतले पनि विद्यालयको संस्थागत विकासमा राम्रो योगदान गर्नु भएको थियो । वरिष्ठदेखि कनिष्ठसम्मका सबैसँग घुलमिल हुन सक्ने मिलनसार व्यक्तित्वका धनी आशा दाइ सबैको आदरणीय ‘दाइ’ हुनुहुन्छ । शाक्य परिवार, छोराछोरी, बुहारी, नातिनातिनाको लागि अभिभावक तथा अग्रज व्यक्तित्व हुनुहुन्छ । पन्चान्नब्बे वर्षको उमेरमा पनि स्वस्थ, व्यस्त र मस्तको जीवन बिताइ रहनु भएको छ । सधैँ जीवनलाई चलायमान राख्नुपर्छ भन्ने मनसाय बोक्नुभएका शाक्य अहिले पनि विभिन्न मन्दिरमा पुगेर गजुरीबासीसँग भजन कीर्तनमा रमाउने गर्नु हुन्छ ।
अहिले पनि सामाजिक संजालमा गीत तथा कविता लेखेर पोस्ट गरिरहने आशा दाइ नयाँ पुस्ताका लागि पनि एक प्रेरक व्यक्तित्व हुनुहुन्छ । रमाइलोसँग सबैलाई मन्त्रमुग्ध बनाएर गीत तथा नाच सिकाउने निर्देशक शाक्यलाई आदर्श मा. वि. का पूर्व विद्यार्थीहरूले किमार्थ भुल्न सक्दैनन् । उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको लागि हार्दिक शुभकामना प्रकट गर्दछु ।

(नोट: लेखक तिमल्सिना आदर्श मा. वि. का पूर्व विद्यार्थी (२०५४), ठाकुरप्रसाद शर्मा प्रतिष्ठानकी आजीवन सदस्य तथा साहित्यकार हुनुहुन्छ ।)

(याे आलेख खबरसिटि डटकम बाट लिइएको  हाे ।)


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar