धादिङ
गाउँपालिकाको समग्र शैक्षिक अवस्थाको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि शिक्षा विकासको स्पष्ट नीति, रणनीति र कार्ययोजना तय गर्ने उद्देश्यले बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो गाउँ शिक्षा सम्मेलन आजदेखि सुरु भएको छ।
वडा नम्बर १ स्थित पर्यटकीय सम्भावना बोकेको ब्रोम्दिङ डाँडामा सुरु भएको दुईदिने सम्मेलनले गाउँपालिकाको आगामी पाँच वर्षको शैक्षिक यात्राको खाका तयार गर्ने अपेक्षा गरिएको छ। भदौ ५ र ६ गते सञ्चालन हुने सम्मेलनबाट प्राप्त सुझाव, छलफल र निष्कर्षका आधारमा बेनीघाट रोराङ गाउँपालिकाको दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजना निर्माण गरिने गाउँपालिका प्जरमुख प्नाशासकिय अधिकृत रामबाबु पाैडेलले बताउनु भयाे ।
सम्मेलनको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ ले योजनाबद्ध ढंगले शिक्षा क्षेत्रको विकास गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलन बेनीघाट रोराङको समग्र विकास र समृद्धिका लागि महत्वपूर्ण आधार बन्ने बताउनुभयो।
उहाँले समाज विकासको मेरुदण्डका रूपमा रहेको शिक्षालाई स्थानीय सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको विकासबिना समृद्ध समाज निर्माण सम्भव नहुने धारणा व्यक्त गर्नुभयो।
“शिक्षा केवल विद्यालय, भवन र पाठ्यपुस्तकमा सीमित विषय होइन,” अध्यक्ष थपलियाको भनाइ थियो, “शिक्षित, दक्ष, सचेत र जिम्मेवार नागरिक निर्माण गर्न सकियो भने मात्र स्थानीय तहको विकास र समृद्धिको आधार बलियो हुन्छ। त्यसैले आगामी पाँच वर्षका लागि बनाइने शिक्षा योजना व्यवहारिक, आवश्यकतामा आधारित र परिणाममुखी हुनुपर्छ।”
पाँच वर्षको शैक्षिक मार्गचित्र बनाउने उद्देश्य
सम्मेलनको मुख्य उद्देश्य बेनीघाट रोराङ गाउँपालिकाभित्रको विद्यमान शैक्षिक अवस्थाको समीक्षा गर्दै स्थानीय आवश्यकता र सम्भावनाअनुसार आगामी पाँच वर्षको स्पष्ट शिक्षा नीति तथा रणनीति निर्माण गर्नु रहेको छ।
सम्मेलनमा गाउँपालिकाभित्र सञ्चालित विद्यालयहरूको वर्तमान अवस्था, विद्यार्थी सङ्ख्या, सिकाइ उपलब्धि, शिक्षक व्यवस्थापन, विद्यालयको भौतिक अवस्था तथा शैक्षिक वातावरणलगायत विषयमा समीक्षा गरिनेछ।
विद्यालय शिक्षामा देखिएका समस्या, चुनौती र सम्भावनाको पहिचान गर्दै समाधानका उपाय खोज्नु सम्मेलनको अर्को महत्वपूर्ण पक्ष रहेको छ। विशेषगरी सबै बालबालिकाको गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्ने, विद्यालय छाड्ने दर घटाउने, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्ने तथा विद्यालयलाई थप बालमैत्री र प्रविधिमैत्री बनाउने विषयमा केन्द्रित रहने शिक्षा शाखाका प्रमुख सन्ताेष पाैडेलले जानकारी दिनुभयाे ।
सम्मेलनबाट तयार हुने दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजनाले तत्काल सुधार गर्नुपर्ने विषयदेखि दीर्घकालीन शैक्षिक लक्ष्यसम्मलाई प्राथमिकताका आधारमा समेट्नेछ।
विद्यालयको भौतिक पूर्वाधार सुधार, सूचना प्रविधिको प्रयोग, डिजिटल शिक्षण, शिक्षकको क्षमता विकास, समावेशी शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र स्थानीय आवश्यकतासँग मेल खाने शैक्षिक कार्यक्रमलाई योजनाको महत्वपूर्ण आधार बनाइनेछ।
शिक्षाको गुणस्तर र सिकाइ उपलब्धिमा बहस
सम्मेलनले शिक्षामा पहुँच विस्तारसँगै शिक्षाको गुणस्तर र विद्यार्थीको वास्तविक सिकाइ उपलब्धिलाई विशेष प्राथमिकतामा राख्ने भएको छ।
विद्यालयमा विद्यार्थी पुगेको सङ्ख्या मात्र नभई उनीहरूले कति सिकिरहेका छन् भन्ने विषयलाई केन्द्रमा राखेर आगामी योजना निर्माण गरिने सहभागीहरूले बताएका छन्।
यसका लागि शिक्षकको पेशागत क्षमता विकास, प्रभावकारी शिक्षण विधिको प्रयोग, सूचना प्रविधिमा आधारित शिक्षण सिकाइ, नियमित मूल्याङ्कन प्रणाली तथा कमजोर सिकाइ उपलब्धि भएका विद्यार्थीका लागि विशेष सहयोग कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
शिक्षकको क्षमता, विद्यालयको नेतृत्व र अभिभावक तथा समुदायको सक्रिय सहभागिताबीच समन्वय हुन सकेमात्र शिक्षाको गुणस्तरमा अपेक्षित सुधार ल्याउन सकिने सरोकारवालाहरूको धारणा रहेको छ।
गाउँपालिकाका विद्यालयबाट सहभागी शिक्षक, शिक्षा क्षेत्रका प्रतिनिधि, स्थानीय सरकारका कर्मचारी, शिक्षासेवी तथा अन्य सरोकारवालाले सम्मेलनमा आफ्नो अनुभव र सुझाव प्रस्तुत गर्नेछन्। सम्मेलनमा उठ्ने विषय र सुझावलाई आगामी पाँच वर्षको गाउँ शिक्षा योजनाको आधार बनाइने जनाइएको छ।
ब्रोम्दिङमा शिक्षा सम्मेलन, पर्यटन प्रवर्द्धनको पनि सन्देश
शिक्षा सम्मेलनका लागि गाउँपालिकाले पर्यटकीय सम्भावना बोकेको ब्रोम्दिङ डाँडा छनोट गर्नुको अर्को उद्देश्य यस क्षेत्रको पर्यटन प्रवर्द्धनसमेत रहेको गाउँपालिकाले जनाएको छ।
सम्मेलन उद्घाटनका क्रममा अध्यक्ष थपलियाले ब्रोम्दिङ क्षेत्रको प्राकृतिक, धार्मिक र पर्यटकीय सम्भावनालाई व्यवस्थित रूपमा विकास गरिने बताउनुभयो।
डाँडाको टुप्पामा रहेको समथर भूभाग, आसपासका प्राकृतिक पोखरी, मनोरम प्राकृतिक वातावरण तथा धार्मिक महत्व बोकेको यस क्षेत्रलाई स्थानीय सरकारको प्राथमिकतामा राखेर विकास गर्ने उहाँले उल्लेख गर्नुभयो।
ब्रोम्दिङ डाँडा पछिल्ला वर्षमा आन्तरिक पर्यटकको आकर्षणका रूपमा परिचित हुँदै गएको छ। गाउँपालिकाले यहाँ पर्यटन महोत्सव आयोजना गर्नुका साथै पहुँच तथा पर्यटकीय पूर्वाधार विकासका लागि विभिन्न पहल गर्दै आएको छ।
यसै सम्भावनायुक्त स्थानमा गाउँ शिक्षा सम्मेलन आयोजना गरिनुले शिक्षा र विकासका विषयमा छलफलसँगै ब्रोम्दिङको प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई सहभागी तथा सरोकारवालामाझ चिनाउने अवसरसमेत सिर्जना गरेको छ।
गाउँपालिकाको सोच केवल सम्मेलनका लागि फरक स्थान छनोट गर्नु मात्र नभई स्थानीय विकासका विभिन्न सम्भावनालाई एकअर्कासँग जोड्नु रहेको देखिन्छ।
शिक्षा र समृद्धिको सम्बन्ध
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टापबहादुर श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पाैडेल, शिक्षा विकास तथा समन्वय ईकाइ प्रमुख कृष्णकुमार श्रेष्ठ, बेनिघाट राेराङ गाउँ पालिका शिक्षा शाखा प्रमुख सन्ताेष पाैडेल, लगायत वक्ताहरूले शिक्षाको योजनाबद्ध र गुणस्तरीय विकासले मात्रै बेनीघाट रोराङको दीर्घकालीन विकास तथा समृद्धि सम्भव हुने धारणा व्यक्त गर्नुभयो।
उहाँहरूले स्थानीय तहले बनाउने शिक्षा योजना कागजमा सीमित नभई विद्यालय र समुदायको वास्तविक आवश्यकतासँग जोडिनुपर्नेमा जोड दिनुभयो।
शिक्षामा गरिएको लगानीले तत्काल परिणाम नदिए पनि दीर्घकालमा दक्ष जनशक्ति, सक्षम नागरिक र आर्थिक तथा सामाजिक रूपान्तरणका लागि महत्वपूर्ण योगदान पुर्याउने भएकाले योजनाबद्ध ढंगले लगानी गर्नुपर्ने धारणा वक्ताहरूले राख्नुभएको थियो।
गुणस्तरीय शिक्षा, दक्ष जनशक्ति उत्पादन र स्थानीय आवश्यकताअनुकूल सीप विकासलाई एकअर्कासँग जोड्न सकिएमा गाउँपालिकाको समृद्धिको आधार तयार हुने उहाँहरूको भनाइ थियो।
सबैको सहभागितामा बन्ने साझा योजना
गाउँ शिक्षा योजना स्थानीय सरकारको मात्र दस्ताबेज नभई विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको साझा मार्गदर्शन बन्नुपर्ने उद्देश्यका साथ सम्मेलन आयोजना गरिएको हो।
सम्मेलनमा विभिन्न विद्यालयका शिक्षक, स्थानीय सरकारका जनप्रतिनिधि तथा कर्मचारी, शिक्षासेवी, शिक्षा क्षेत्रका सरोकारवाला र सञ्चारकर्मीको सहभागिता रहेको छ।
स्थानीय तहभित्र रहेका विद्यालयको वास्तविक अवस्था र आवश्यकता फरक–फरक हुन सक्ने भएकाले सबै पक्षको अनुभव र सुझावलाई योजनामा समेट्नुपर्ने आवश्यकता रहेको गाउँपालिकाले जनाएको छ।
विद्यालयमा आवश्यक पूर्वाधार के हो, शिक्षक व्यवस्थापन कसरी प्रभावकारी बनाउने, विद्यार्थीको सिकाइ उपलब्धि कसरी बढाउने, प्रविधिको प्रयोगलाई कसरी विस्तार गर्ने तथा भविष्यको रोजगारी र स्थानीय आवश्यकतासँग शिक्षा प्रणालीलाई कसरी जोड्ने भन्ने विषयमा सम्मेलन केन्द्रित रहनेछ।
ब्रोम्दिङबाट सुरु भएको पाँच वर्षको यात्रा
दुई दिनसम्म चल्ने सम्मेलनले बेनीघाट रोराङको शिक्षा क्षेत्रको वर्तमान अवस्थाको समीक्षा गर्दै आगामी पाँच वर्षका लागि स्पष्ट प्राथमिकता, लक्ष्य र रणनीति निर्धारण गर्नेछ।
सम्मेलनमा भएका छलफल र प्राप्त सुझावका आधारमा तयार हुने दोस्रो पञ्चवर्षीय गाउँ शिक्षा योजनाले आगामी पाँच वर्षसम्म गाउँपालिकाको शिक्षा क्षेत्रका नीति, कार्यक्रम र बजेट निर्माणका लागि महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
शिक्षा सम्मेलनको आयोजना ब्रोम्दिङ डाँडामा हुनु आफैँमा एउटा सन्देश पनि हो। एकातिर प्रकृतिको काखमा बसेर भविष्यको शिक्षा नीति र रणनीतिमाथि बहस भइरहेको छ भने अर्कोतिर यही अवसरलाई उपयोग गरेर ओझेलमा रहेको पर्यटकीय क्षेत्रको सम्भावनालाई पनि उजागर गर्ने प्रयास गरिएको छ।
अब सम्मेलनको सफलता केवल छलफल र भाषणमा मात्र निर्भर रहने छैन। यहाँबाट तयार हुने शिक्षा योजनाले गाउँका विद्यालय, शिक्षक र विद्यार्थीको जीवनमा कस्तो परिवर्तन ल्याउन सक्छ भन्ने विषय नै यसको वास्तविक परीक्षा हुनेछ।
ब्रोम्दिङ डाँडाबाट सुरु भएको यो शैक्षिक बहसले आगामी पाँच वर्षमा बेनीघाट रोराङको शिक्षा क्षेत्रलाई स्पष्ट दिशा दिन सक्यो भने, यही सम्मेलन गाउँपालिकाको शिक्षा विकाससँगै समृद्ध बेनीघाट रोराङ निर्माणको महत्वपूर्ण आधार बन्नेछ।