
धादिङ
नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयलाई ५१ औं वार्षिकोत्सवकाे अबसरमा आइएसओ प्रमाणपत्र हस्तान्तरण गरिएकाे छ ।
विद्यालयले वार्षिक उत्सवकै अवसरमा शैक्षिक संस्था व्यवस्थापन प्रणाली सम्बन्धि गुणस्तर चिन्ह आइएसओ २१००१ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन आइएसओको मापपदण्ड पुरा गरेको कारण प्रमाणपत्र प्रदान गरिएको हो ।
सोमबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कोईरालाको अध्यक्षता तथा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नवराज अधिकारीले स्थानीय तहको विकासको मेरुदण्ड भनेकै शिक्षा भएको र नीलकण्ठ बालमन्दिरले पछिल्लो समय गुणस्तरीय शिक्षाको मार्गमा देखाएको प्रतिबद्धता सराहनीय रहेको बताउनुभयो । त्यसैगरी आइएसओ प्रमाणपत्रले अब उक्त विद्यालय अन्तर्राष्ट्रिय स्तरको शैक्षिक मान्यता पाउने बाटोमा अग्रसर भएको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीले विगत ५१ वर्षको सफल यात्राको संक्षिप्त समीक्षा गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, समावेशी र सशक्त शिक्षा प्रणाली निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।
कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए भने उत्कृष्ट विद्यार्थी तथा शिक्षकहरूलाई सम्मान समेत गरिएको थियो ।
—