गणतन्त्र दिवसमा धादिङबेसीमा प्रभातफेरी र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसमा धादिङबेसीमा प्रभातफेरी र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

  • Kandara Samachar

  • बिहिबार, जेष्ठ १६, २०८२

  • 133
    SHARES
गणतन्त्र दिवसमा धादिङबेसीमा प्रभातफेरी र शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

 

धादिङ,

१८औँ गणतन्त्र दिवसको अवसरमा धादिङबेसीमा प्रभातफेरी तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा भएको प्रभातफेरी कार्यक्रम पुछारबजारबाट सुरु भई बजार परिक्रमा गर्दै सिटीहलमा समापन भएको हो। कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सरकारी निकायका प्रतिनिधि, विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। बाजागाजासहितको प्रभातफेरीले धादिङबेसीको वातावरण उत्साहपूर्ण बनाएको थियो।

कार्यक्रमपछि सिटीहलमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा प्रमुख जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको अध्यक्षता रहेको थियो। कार्यक्रममा नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व सांसद खेम लोहनी, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सिद्धलेक गाउँपालिका उपाध्यक्ष सबिता अर्याल, नेपाली काँग्रेसका जिल्ला सदस्य देवी कोइराला, नेकपा (एमाले) का जिल्ला सचिव राधिका सापकोटा, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष मनराज भण्डारी, नेकपा (एस) का जिल्ला सदस्य शिवनिधि खनाल, गैसस महासंघका कार्यवहाक अध्यक्ष अधिवक्ता तोलाकुमारी पाठकलगायत वक्ताहरूले शुभकामना व्यक्त गर्दै गणतन्त्रको उपलब्धिबारे धारणा राख्नुभएको थियो।

वक्ताहरूले राजतन्त्रको समयमा जनता राज्यबाट टाढा रहेको र उनीहरूको सेवामा सरकार केन्द्रित नभएको उल्लेख गर्दै गणतन्त्र स्थापनापछि गाउँगाउँमा सडक, अस्पताल, स्वास्थ्य चौकी, विद्यालय जस्ता पूर्वाधार पुगेको र नागरिकले गाँस, बास, कपाससहित आर्थिक तथा सामाजिक अधिकारको अनुभूति गर्न थालेको बताउनुभयो।

गणतन्त्रको विकल्प फेरि राजतन्त्र खोज्नु होइन, अझ सशक्त, उत्तरदायी र समावेशी गणतन्त्रको अभ्यास गर्नु आवश्यक रहेकोमा वक्ताहरूको जोड थियो। उहाँहरूले अँध्यारोको सट्टा उज्यालो खोज्नु नागरिकको कर्तव्य भएको उल्लेख गर्दै गणतन्त्रलाई अझ सुदृढ र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले गर्नुभएको थियो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar