
✍️ सुदिप अधिकारी/गल्छी
बालअधिकार सम्बन्धी सूचक पूरा गरेपछि गल्छी गाउँपालिका वडा नम्बर ७ औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ ।
बुधबार विशेष समारोहको आयोजना गरि वडालाई गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले बालमैत्री वडाको घोषणा गर्नुभएको हो ।
अध्यक्ष खतिवडाले बालबालिका प्रतिको बृहत्तर जिम्मेवारी निर्वाह गर्ने अभियान स्वरुप बालमैत्री स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कायविधी २०७९ ले निर्दिष्ट गरेका ५१ वटा सुचक र तहगत चरणहरु पुरा गरेकाले वडा नम्बर ७ लाई बालमैत्री वडाको घोषणा गरिएको बताउनुभएको छ । प्रमुख अतिथि खतिवडाले बालबालिकाको उज्ज्वल भविष्यका लागि गाउँपालिकाले दीर्घकालीन रणनीति तयार गरी बालमैत्री वडाहरू निर्माण गर्दै आएको भन्दै यसअघि वडा नम्बर १ र २ लाई बालमैत्री वडा घोषणा गरिएको बताउनुभएको छ ।
गाउँपालिकाका उपाध्यक्ष भाईकाजी तिवारीले पालिकाले बाल संरक्षण, विकास, सहभागिता, संस्थागत संरचना सुदृढीकरणलगायत क्षेत्रमा विशेष लगानी गरेको भन्दै क्रमिक रुपमा अन्य वडाहरुलाई पनि बालमैत्री वडा घोषणा गरिने बताउनुभएको छ ।
वडा अध्यक्ष हरि प्रसाद खतिवडाले प्रतिवेदन प्रस्तुत गर्दै पछिल्लो तीन वर्षदेखि गल्छी गाउँपालिकाले बालमैत्री शासन अन्तर्गत पूर्व तयारी गर्दै गुरु योजना बनाई विभिन्न कार्यक्रम सञ्चालन गरेको र यसै कारण वडा नम्बर ७ बालमैत्री शासनयुक्त वडा बन्न सफल भएको बताउनुभएको छ । उहाँका अनुसार बालमैत्री घोषणा प्रक्रिया अन्तर्गत जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरी प्रतिवेदन पेश गरेको र सोहि आधारमा बालमैत्री वडा घोषणा गरिएको हो ।
समारोहमा कार्यक्रममा उपस्थित सबै सहभागीहरूले बालअधिकारप्रति पूर्ण प्रतिबद्धता जनाउँदै सामूहिक हस्ताक्षर गरेका छन् ।
विशेष समारोहमा जिल्ला समन्वय अधिकारी रामाश्रय यादव, पत्रकार महासँघ जिल्ला शाखाका अध्यक्ष सिताराम अधिकारी, विभिन्न वडाका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामा, लगायत राजनैतिक दलका प्रतिनिधी, विभिन्न सँघसँस्थाका प्रतिनिधीहरुलगायतको पनि आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गल्छी गाउँ पालिकाले ७ नम्बर वडालाई सम्मानपत्र दिएकाे थियाे ।
यसअघि गल्छी गाउँ पालिकाले वडा काे अनुगमन गरि प्रतिवेदन जिल्ला अनुगमन समितिमा बुझाएपछि जिल्ला अनुगमन समितिले स्थलगत अनुगमन गरि बालमैत्री शासनयुक्त वडा घाेषणाकाे अनुमति दिएकाे थियाे ।