
धादिङ ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ गाेलाङस्थित भीमाेदय माविमा पार्वती पाण्डे अधिकारी स्मृति अक्षयकोष स्थापना गरिएकाे छ ।
अधिकारीका परिवारजनले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि एक लाख ६१ हजार छ सय १६ रुपैयाँकाे छात्रवृत्ति अक्षयकोष स्थापना भएकाे हाे ।
पार्वतीकाे घरपरिवारबाट एक लाख ११ हजार एक सय ११ र माइती परिवारबाट ५० हजार पाँच सय पाँच रुपैयाँ रहेकाे छ ।
पार्वतीका पति शम्भु अधिकारी, पिता घनश्याम पाण्डेलगायत परिवारजनले त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीकाे उपस्थितिमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवबहादुर बसाैला, प्रधानाध्यापक बिष्णुहरि शाहलाई अक्षयकोष रकमकाे चेक हस्तान्तरण गरे ।
गाउँपालिका अध्यक्ष उप्रेतीले पार्वतीकाे अकल्पनीय निधनले आफू निकै मर्माहत भएकाे बताए । पार्वतीलाई अमर बनाउन अक्षयकोषले महत्त्वपूर्ण भूमिका खेल्ने उनले स्पष्ट पारे । उनले भने, ´अक्षयकोष विद्यार्थीकाे पठनपाठनमा मात्र हाेइन पार्वतीलाई अमर बनाउन महत्त्वपूर्ण हुन्छ ।´
पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राडा दिलबहादुर क्षेत्रीले पार्वतीकाे अल्पायूमै भएकाे देहावसानले आफू अत्यन्तै मर्माहत भएकाे बताए । उनले आफ्ना दुई र पार्वती गरी तीन छाेरी भएकाे उल्लेख गर्दै दुःखकाे याे क्षण भुल्न निकै कठिन भएकाे बताए ।
कृषि बजार व्यवस्थापन समिति अध्यक्ष नवराज दुवाडीले पार्वती सुशील र आदर्शवान नारी रहेकाे चर्चा गर्दै परिवारजनले उनकाे सम्झनामा अक्षयकोष स्थापना गरेर निकै प्रशंसनीय कार्य गरेकाे बताए ।
धादिङ पाेखरा सम्पर्क समाजका अध्यक्ष सरस्वती श्रेष्ठले समाजका सल्लाहकार शम्भु अधिकारीकी धर्मपत्नी पार्वतीकाे निधनप्रति दुःख व्यक्त गर्दै सबैले शाेकलाई शक्तिमा बदलेर अघि बढ्न सक्नु पर्ने बताइन् ।
विद्यालय प्रधानाध्यापक शाहले पार्वतीले कखरा सिक्दै गर्दाका सम्झना झलझली आइरहेकाे भन्दै उनकाे देहावसानले आफू निकै भावविह्वल भएकाे बताए ।
धादिङकाे गाेलाङ जन्म, सिद्धलेक-२ नलाङ कर्मघर भएकी पार्वतीले पाेखरालाई कर्मथलाे बनाउँदै आएकी थिइन् । उनकाे ३७ वर्षको उमेरमा गत माघ १६ गते पाेखरामा निधन भएकाे थियाे ।