
– नानु कार्की/ धादिङ
राजनितिक पहुँच र नेतृत्वमा महिलाहरुको अर्थपूर्ण पहुँच र सहभागिताका लागि धादिङका महिलाहरु सामुहिक पैरवीका लागि तयारी गरेका छन् ।
महिलाहरुको अबसर, चुनौती र सम्भावनाबारे मंगलबार धादिङबेसीमा छलफल गर्दै महिला नेताहरुले राजनीतिक दलमा पहुँच र अबसर नपाउने गरेको गुनासो गर्दै महिलाहरुको अर्थपूर्ण सहभागिता र निर्णय प्रकृयाका लागि सामुहिक पैरवी गर्ने प्रतिवद्धता जनाएका छन् ।
फोकस नेपालले नागरिक आवाजसंगको सहकार्यमा आयोजना गरिएको ‘राजनैतिक नेतृत्वमा महिलाहरुको पहुँच’ विषयक अन्तरकृया कार्यक्रममा जिल्लामा क्रियाशिल राजनीतिक दलका महिला नेताहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा त्रिपुरासुज्दरी गाउँपालिकाका पूर्व उपप्रमुख देवी पाण्डेले राजनीतिक दलमा महिलाको सहभागिता, पहुँच, नेतृत्व सहज नभएको, निर्णायक प्रकृयामा समेत आफूले भेदभाव महसुस गरेको बताउनुभयो ।
नेकपा एमालेका जिल्ला सचिव राधिका सापकोटाले महिलाहरुलाई राजनीतिमा आउँदा, सन्देश, शंकास्पद दृष्ट्रिले हेर्ने गरिएको बताउँदै महिलाहरुलाई आफ्नै परिचय हुन नदिइएको अनुभव सुनाउनुभयो । महिलालाई आचरण लगायतका अन्य कुरासंग जोडेर राजनीतिमा आउन घर, समाजले रोकावट गर्ने गरेको बताउँदै निति निर्माण तहमा सहभागिता नभएकोले महिलाहरु एक भएर पैरवी गर्दै महिला नेतृत्व स्थापित गरेर निति निर्माणमा अर्थपूर्ण सहभागिताका लागि लाग्नु पर्ने एमाले नेता सापकोटाले बताउनुभयो ।
रास्वपाका लक्ष्मी अर्यालले महिलाहरुले राजनीति बुझ्न नपाएको र राजनतिमा अबसर नै नपाएको बताउनुभयो ।
नेकपा एसका नेता तथा सिद्धलेक गाउँपालिका उपाध्यक्ष सविता अर्यालले महिलालाई घरबाट निस्कन मुस्किल हुने गरेको बताउँदै निर्वाचनमा टिकट पाएपनि भोट पाउन मुस्किल हुने गरेको अनुभव बताउँदै महिलाहरुको आर्थिक रुपमा पहुँच नभएकोले राजनीतिमा पहुँच नभएको बताउनुभयो ।
राप्रपाका नेता शान्तिमायाँ गुरुङले आफूलाई सुरुमा गाउँ फर्के अभियानमा जबरजस्ती राजनीतिमा ल्याएको बताउँदै अहिले पार्टीले प्रत्यक्ष जिम्मेवारी नदिएको, मौकाहरुमा अबसर नदिने गरेको बताउनुभयो ।
नेपाली काँग्रेसका कविता इटनीले पार्टी भित्रको पार्टी (गुटउपगुट) ले महिलाहरु सिकार भइरहेको उल्लेख गर्दै महिलाहरु एक भएर सहभागिता र निति निर्माणमका मपहला पहुँचका लागि पैरवी गर्नुपर्ने बताउनुभयो ।
नेकपा एमालेका नेता तथा संचारकर्मी गायत्री खतिवडाले महिलाहरुमा राजनीतिक चेतना हुनुपर्ने बताउँदै महिलाका साझा मुद्दामा एक भएर पार्टी भित्र र पार्टी बाहि।र पैरवी गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम आयोजक फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले राजनीतिमा महिलाहरुको अर्थपूर्ण सहभागिता, निर्णायक तहमा महिलाहरुको पहुँच बढाउन, संविधामा महिला सहभागिताको सुनिश्चितताका लागि दवाव सिर्जना गर्दै राजनीतिमा महिलाहरुको गुणस्तरीय उपस्थीती सुनिश्चित गर्दै आगामी ०८४ को निर्वाचनमा जसको सवाल उसकै नेतृत्वका लागि पैरवी गर्न महिलाहरुको सामुहिक पैरवीका लागि छलफल गरिएको बताउनुभयो ।
छलफल कार्यक्रम पछि धादिङमा महिला नेताहरुले सामुहिक साझा महिलाका विषयमा छलफल गर्नका लागि अन्तरपार्टी समन्वय समिति समेत गठन गरेका छन् ।
समितिमा नेकपा एमालेका उर्मिला रेग्मी, नेपाली काँग्रेसका देवी पाण्डे, रास्वपाका लक्ष्मी अर्याल, राप्रपाका सुनिता सिंखडा र नेकपा एसका भगवती तिवारी रहने र यसले अन्तरपुस्ता नारीबादी मञ्चमा सहभागि भएर सामुहिक पैरवी गर्ने महिलानेताहरुले जानकारी दिएका छन् ।