धादिङमा देउवा पक्षको छुट्टै कार्यालय, अधिवेशन तयारी तीव्र

धादिङमा देउवा पक्षको छुट्टै कार्यालय, अधिवेशन तयारी तीव्र

  • Kandara Samachar

  • सोमवार, अशोज १२, २०८३

  • 36
    SHARES
धादिङमा देउवा पक्षको छुट्टै कार्यालय, अधिवेशन तयारी तीव्र

धादिङ

नेपाली काँग्रेसको १५औँ नियमित जिल्ला अधिवेशनको तयारीका क्रममा पूर्वसभापति शेरबहादुर देउवा पक्षले धादिङबेँसीमा अधिवेशन तयारी समितिको कार्यालय सञ्चालनमा ल्याएको छ। देउवा पक्षले जिल्ला संयोजक गोपाल विश्वकर्मा तोकेर समानान्तर रूपमा अधिवेशन गतिविधि अघि बढाएको हो।

सोमबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला संयोजक विश्वकर्माले देउवा पक्षले अघि सारेको अधिवेशन कार्यतालिकाबारे जानकारी दिनुभयो। उहाँका अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते क्षेत्रीय तथा प्रदेश अधिवेशन र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने तयारी गरिएको छ।

देउवा पक्षले देशभर नै छुट्टै अधिवेशन प्रक्रियाको तयारी अघि बढाइरहेको समाचार यसअघि सार्वजनिक भइसकेका छन्। देउवा पक्षले असोज १५ गतेबाट वडा तहको अधिवेशन सुरु गर्ने गरी तयारी गरिरहेको जनाएको छ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका नेता तथा बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालले पार्टीभित्र विधान र पद्धतिको सर्वोच्चता कायम हुनुपर्ने, चारतारे झण्डा र रुख छाहारीको वैधानिक निरन्तरता सुनिश्चित गर्नुपर्ने तथा क्रियाशील सदस्यताको वैधानिकता र सुरक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले भौतिक कब्जा राजनीति र कानुनी आधार होइन भन्दै सर्वोच्च अदालतको पूर्ण इजलासबाट न्यायको सुनिश्चिततासहित काँग्रेस अघि बढेको बताउनुभयो।

देउवा पक्षले पार्टीभित्रको वैधानिकता, क्रियाशील सदस्यता तथा विधान र पद्धतिको विषयलाई प्रमुख मुद्दा बनाउँदै अधिवेशन तयारी अघि बढाएको जनाएको छ। यस क्रममा धादिङमा गोपाल विश्वकर्मालाई जिल्ला संयोजकको जिम्मेवारी दिइएको हो।

यसैबीच, नेपाली काँग्रेसको आधिकारिक केन्द्रीय निर्वाचन समितिले भने १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन असोज ३ र ४ गते तथा अन्य तहका अधिवेशनका लागि छुट्टै कार्यतालिका सार्वजनिक गरेको छ। धादिङलगायत बाढी प्रभावित जिल्लामा स्थानीय अवस्था र सम्बन्धित निर्वाचन अधिकृतसँगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने व्यवस्था गरिएको छ।

देउवा पक्षले अघि सारेको छुट्टै कार्यतालिका र संस्थापन पक्षको आधिकारिक निर्वाचन कार्यतालिकाबीच फरक देखिएसँगै धादिङ काँग्रेसको अधिवेशन प्रक्रिया दुई धारमा अघि बढेको छ ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar