ज्येष्ठ नागरिक सुकदेव नेपालीसहित तीन जना सम्मानित

ज्येष्ठ नागरिक सुकदेव नेपालीसहित तीन जना सम्मानित

  • Kandara Samachar

  • बुधबार, अशोज १४, २०८३

  • 27
    SHARES
ज्येष्ठ नागरिक सुकदेव नेपालीसहित तीन जना सम्मानित

धादिङ

। ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा धादिङमा ८० वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ। नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघले ८८ वर्षीय सुकदेव नेपाली, धनकुमारी श्रेष्ठ र ८२ वर्षीय रामचन्द्र अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरेको हो।

नीलकण्ठ नगरपालिका ज्येष्ठ नागरिक संघको आयोजनामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकहरूको समाजमा रहेको योगदान, अनुभव र भूमिकाको सम्मान गर्दै सम्मान गरिएको संघले जनाएको छ।

सम्मानित सुकदेव नेपाली नीलकण्ठ नगरपालिका–१२ साङ्कोष निवासी हुनुहुन्छ। उहाँ १५ वर्षको उमेरदेखि छालाको जुत्ता सिलाउने काम गर्दै आउनुभएको छ। हाल ८८ वर्षको उमेरमा पनि उहाँले जुत्ता सिलाउने कामलाई निरन्तरता दिइरहनुभएको छ। उहाँले लामो समयदेखि यही पेसाबाट आफ्नो परिवारको जीविकोपार्जन गर्दै आउनुभएको थियो।

कार्यक्रममा नीलकण्ठ नगरपालिका उपप्रमुख दीपक विश्वकर्माले ज्येष्ठ नागरिकको सम्मान र संरक्षण समाजको दायित्व भएको बताउनुभयो। सामाजिक रूपमा पछाडि पारिएका तथा विभेदमा परेका व्यक्तिलाई सम्मान गर्नु सामाजिक तथा सांस्कृतिक विकाससँग जोडिएको विषय भएको उहाँले बताउनुभयो।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई नयाँ पुस्ताले उपयोग गर्नुपर्ने बताउनुभयो। ज्येष्ठ नागरिकको अधिकार, सम्मान र सुरक्षित जीवनका लागि परिवार तथा समाजको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।

नगर ज्येष्ठ नागरिक संघका अध्यक्ष कृष्णबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी गौतम, ज्येष्ठ नागरिक संघका केन्द्रीय सदस्य सीताराम अधिकारीलगायतले शुभकामना व्यक्त गर्नुभएको थियो।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा ज्येष्ठ नागरिकको सम्मान, अधिकार संरक्षण तथा समाजमा उनीहरूको योगदानको कदर गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar