अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

  • Kandara Samachar

  • बिहिबार, चैत्र ८, २०८०

  • 56
    SHARES
अर्थले पठाउन सकेन विमानस्थल भन्सारमा हाकिम, खटाइएका सहसचिव विदेश भ्रमणमा

७ चैत, काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालय एक महिनादेखि प्रमुखविहीन छ । अर्थ मन्त्रालयले सरुवा गरेका सहसचिव हाजिर हुन नगएपछि ६ फागुनदेखि सम्वेदनशील मानिने भन्सार कार्यालय निमित्त प्रमुखकै भरमा चलिरहेको छ ।

कार्यालयको प्रमुख भन्सार प्रशासकमा सरुवा भएका सहसचिव सेवन्तक पोखरेल कार्यालयमा हाजिर नहुने अडानमा अडिग छन् । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले समेत पोखेरललाई कार्यालयमा पठाउन सकेका छैनन् । यस्तो विकृत अभ्यास तोड्न वा  पोखरेलको ठाउँमा अन्य कर्मचारी खटाउन पनि पुनले रूचि देखाएका छैनन् ।

तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले १९ माघमा उनलाई भन्सार विभागको उपमहानिर्देशकबाट विमानस्थल भन्सार कार्यालयको प्रमुख प्रशासकमा सरुवा गर्ने निर्णय गरेका थिए । त्यतिबेला पोखरेल जापान भ्रमणमा थिए ।

आफूसँग सल्लाह नगरिएको र विभागको उपमहानिर्देशक पदबाट कार्यालयमा सरुवा गरेको भन्दै उनले विमानस्थलमा हाजिर नहुने अडान लिंदै आएका छन् ।

पोखरेल यसअघि उपसचिव भएकै बेला फागुन २०७२ देखि भदौ २०७५ सम्म वीरगञ्ज भन्सार कार्यालयमा प्रमुख भन्सार प्रशासक भएर काम गरेका थिए । विराटनगरसहित विभिन्न आकर्षक मानिने भन्सार कार्यालयमा पनि काम गरेर अनुभव बटुलेका उनी अब विभागकै नेतृत्वमा जान चाहिरहेका छन् ।

कार्यालय जान नमानेका पोखरेलले भन्सारसम्बद्ध कार्यक्रममा भाग लिन विदेश जाने मौका भने गुमाउन चाहेका छैनन् । पोखरेलले अहिले पनि भन्सार विभागबाट विदेश भ्रमणसम्मको सुविधा भने लिइरहेका छन् ।

चैत पहिलो साता उनी भन्सार अधिकारीकै हैसियतमा स्विट्जरल्याण्डको जेनेभा भ्रमणमा निस्किएका थिए । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलसँगै जेनेभा पुगेका उनी काठमाडौं फर्किएपछि पनि कार्यालयमा हाजिर हुन गएका छैनन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar