प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

  • Kandara Samachar

  • शुक्रबार, पुस २२, २०७९

  • 224
    SHARES
प्रतिनिधिसभाको पहिलो बैठकमा शीर्ष नेताले सम्बोधन गर्ने

प्रतिनिधिसभाको पहिलो बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताले सम्बोधन गर्नुहुने भएको छ ।

पहिलो बैठकको कार्यसूची लगायतका विषयमा सहमति जुटाउन ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आयोजना गर्नुभएको सर्वदलीय बैठकले प्रतिनिधिसभाको बैठक सञ्चालनसम्बन्धी नयाँ नियमावली नबन्दासम्म पुरानै नियमावलीअनुसार बैठक बस्ने निर्णय गरेको हो ।

पहिलो बैठकमा प्रतिनिधिसभामा संलग्न दलका शीर्ष नेता वा सांसदले सम्बोधन गर्ने विषयमा सहमति जुटेको छ । प्रतिनिधिसभाको पहिलो बैठक यही पुस २५ गते दिउँसो १ः०० बजे बस्ने कार्यसूची छ ।

यस्तै, पुस २६ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ । सो कार्यसूचीलाई पनि पुरानै नियमावलीअनुसार नै विश्वासको मतका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा सहमति भएको छ ।

प्रतिनिधिसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख वा उपसभामुख चयन गरिसक्नुपर्ने भन्ने व्यवस्थाअनुसार आगामी माघ ७ गतेका लागि सहमति जुटेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा गरिएको प्रस्तावअनुसार माघ ७ मा सभामुख र माघ ९ मा उपसभामुखको निर्वाचन हुनेछ ।

ज्येष्ठ सदस्य राणाले आयोजना गर्नुभएको बैठकमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेसका मुख्य सचेतक लेखक, नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, जसपा नेपालका नेता प्रदीप यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा(एकीकृत समाजवादी) का नेता प्रकाश ज्वाला लगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar