पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु, १८ घाइते

पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु, १८ घाइते

  • Kandara Samachar

  • शुक्रबार, पुस २२, २०७९

  • 222
    SHARES
पाल्पामा बस दुर्घटना ६ जनाको मृत्यु, १८ घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८ टाडीस्थित सालझण्डी ढोरपाटन सडक खण्डमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुर्सानेतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस बिहीबार राती दुर्घटना हुँदा खुर्साने गाउँका ६ जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा सबै महिला रहेका छन् ।

मृत्यु हुनेमा रैनादेवी छहरा–८ की ३६ वर्षीया निर्मला घिमिरे, उनको ११ वर्षीया छोरी सरुमाया घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया विमा पाण्डे रहेका छन् । मृतकमध्ये तीन जनाको शव बसले च्यापेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी १८ जना घाइते छन् । उनीहरूको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनभयो । घाइते मध्ये ६ जनाको एडमनसिटी हस्पिटल जितगढी बुटवल, र १२ जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

दुर्घटनामा सोही ठाउँकी ६० वर्षीय यमकली रास्कोटी, ३९ वर्षीया यमकला पाण्डे घाइते भएका छन् । उनीहरू दुवै जनाको टाउकोमा चोट लागेकाले अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा परी ७२ वर्षीया पूर्णकला दर्जी, २३ वर्षीया लालकुमारी गाहा, ७ वर्षीय सुरज घिमिरे, ३५ वर्षीया तुलसा पाण्डे, २६ वर्षीया लिला गाहा, ९वर्षीया अप्सना रास्कोटी, ६५ वर्षीया पवित्रा भन्ने फर्सिकला पाण्डे, २८ वर्षीया वर्ष भन्ने लिमकली पाण्डे, उनको ३ महिने छोरी अर्या पाण्डे, ७३ वर्षीया श्यानिकला बस्नेत घाइते रहेका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

यस्तै सोही ठाउँकै २२ वर्षीया श्रेया राना, उनको १८ महिने छोरा दिपसन राना, चालक ३२ वर्षीय चेतबहादुर दर्जी, २५ वर्षीया चुमा घर्ती, गाडी धनी ४१ वर्षीय रामहादुर बस्नेत, २२ वर्षीय सूर्यबहादुर रेस्मी घाइते भएका छन् । उनीहरूको एडमनसिटी हस्पिटल जितगढी बुटवलमा उपचार भइरहेको छ । दुर्घटनाग्रस्त बस सडकबाट १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar