पोखरामा सडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

पोखरामा सडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

  • Kandara Samachar

  • शनिबार, पुस १६, २०७९

  • 169
    SHARES
पोखरामा सडक महोत्सव: ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’

अनेक ताल छन् जहाँ, जहाँ छ धर्ती उर्वरा ।

अनेक धर्म संस्कृति, अनेक छन् रीतिस्थिति

अनेक यात्रु आउँदै रमाउने परिस्थिति ।। 

गण्डकी I कवयित्री कुन्तीदेवी भट्टराईको सिर्जनाका फूलहरू कविता सङ्ग्रहको ‘रमाइलो पोखरा’ शीर्षकको कविताको एक पङ्क्ति हो यो । कवितामा भनेजस्तै साँच्चिकै प्रकृतिको बरदान हो पोखरा । प्राकृतिक सौन्दर्यताका कारण स्वदेशी एवम् विदेशी पर्यटकको आकर्षक गन्तव्य पोखरा यतिखेर पर्यटकका कारण खचाखच भरिएको छ ।

देशका विभिन्न स्थानसँगै विभिन्न विदेशी राष्ट्रबाट पर्यटकहरू आएका कारण होटेलहरू क्षमताको झन्डै ७० प्रतिशतभन्दा बढी भरिभराउ छन् । प्रायः सबै याममा पर्यटकहरूको आगमन हुने पोखरामा अङ्ग्रेजी नयाँ वर्ष, नेपाली नयाँ वर्ष, दसैँ तथा तिहारको समयमा ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गर्दछन् ।

पोखरामा प्रत्येक दिन ४० हजार जनासम्म पर्यटक राख्न सक्ने क्षमता रहेको पश्चिमाञ्चल होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनुभयो । अङ्ग्रेजी नयाँ वर्षका कारण अहिले पोखरामा पर्यटकको राम्रै चहलपहल रहेको बताउँदै उहाँले राम्रा होटेलहरूमा क्षमताको झन्डै ८० देखि ८५ प्रतिशतसम्म भरिभराउ रहेको जानकारी दिनुभयो ।

“क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढिरहेको छ”, उहाँले भन्नुभयो, “अङ्ग्रेजी नयाँ वर्षलाई लक्षित गरी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले सञ्चालन गरेको सडक महोत्सवका कारण ठाउँ ठाउँबाट पर्यटकहरू पोखरामा आएका छन् ।”

पोखराका सामान्य होटेलमा पनि क्षमताको ५० प्रतिशतभन्दा बढी पर्यटकहरू भरिएको उहाँले जानकारी दिनुभयो । विगतका वर्षमा कोरोनाबाट प्रभावित भएको पोखराको पर्यटन पछिल्ला समयमा पर्यटकको आगमनले आशा जगाएको पर्यटन यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल इलेगेन्टका सञ्चालक बोबरजङ्ग गुरुङले जानकारी दिनुभयो ।

प्रत्येक अङ्ग्रेजी नयाँ वर्षमा क्रिसमसदेखि नै पोखरामा पर्यटकको चहलपहल बढ्ने र डिसेम्बर ३०, ३१ र जनवरी १ का दिनमा यहाँका होटेलहरू भरिभराउ हुने गरेको उहाँका व्यवसायीको अनुभव छ ।

पछिल्ला वर्षमा अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकका साथै छिमेकी मुलुक भारतबाट पनि पर्यटकहरू पोखरा भित्रने गरेका छन् । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी रेष्टुराँ एन्ड बार एसोसिएसन (रेवान) द्वारा गर्दै आएको सडक महोत्सव पोखराको राम्रै आकर्षण बन्ने गरेको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखराको लेकसाइडस्थित शहीद चोकदेखि कोमागाने पार्क हुँदै हल्लनचोक खहरे क्षेत्रसम्म हुने महोत्सव यहाँको विशिष्ट पहिचान बन्ने गरेको छ ।

महोत्सवका अवसरमा सडकमै खानेदेखि मनोरञ्जनका विभिन्न कार्यक्रम सञ्चालन गरिने र त्यहाँ पर्यटकहरूले राम्रैसँग मनोरञ्जन लिने गरेका छन् । पोखराको पर्यटनमा विभिन्न नयाँ गतिविधि सञ्चालन गरी मौसम या बेमौसमा जहिले पनि चलायमान होस् भन्ने उद्देश्यका साथ २४ वर्षअघि अङ्ग्रेजी नयाँ वर्षमा गरिएको सडक महोत्सवलाई त्यसयता बर्सेनि निरन्तरता दिँदै आइएको छ ।

सन् २०२३ को जनवरी १ देखि (भोलिदेखि) पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हँुदै गर्दा यसको पूर्व सन्ध्यामा अङ्ग्रेजी नयाँ वर्षको आगमनलाई लक्षित गरी देखिएको पर्यटकको आकर्षणले पोखराको पर्यटनमा उत्साह थपेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु समग्र पोखरेलीका लागि गौरवको विषय भएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु यहाँको पर्यटकीय विकासका लागि ठूलो उपलब्धि हो”, उहाँले भन्नुभयो, “विमानस्थलले आगामी दिनमा पोखरालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने र यहाँबाट हुने हवाई यातायात सेवा सहज एवम् प्रभावकारी बन्ने देखिन्छ ।”

रासस


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kandara Samachar