धादिङ ।
नेपाल सुनचाँदी कला व्यवसायी संघ धादिङको अध्यक्षमा नीरबहादुर विश्वकर्मा निर्वाचित हुनुभयो । संघको १९ औँ साधारणसभा तथा सातौँ अधिवेशनबाट विश्वकर्माको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।
अधिवेशनमा सहभागी वक्ताहरूले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा, पारदर्शिता र कानुनको पूर्ण पालना गर्न व्यवसायीलाई आग्रह गरेका छन्। व्यवसायी र उपभोक्ताबीचको विश्वास कायम राख्न बिल बिजक अनिवार्य गर्ने, सही तौल र गुणस्तरीय वस्तु उपलब्ध गराउने तथा पारदर्शी कारोबारलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिएका छन्।
कार्यक्रमका प्रमुख अतिथि नेपाल सुनचाँदी कला व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष बालकुमार विश्वकर्माले सुनचाँदीको कारोबार गर्दा अनिवार्य रूपमा बिल बिजक लिने र जारी गर्ने व्यवस्था पालना गर्न आग्रह गर्नुभयो ।
व्यवसायीको हित र ग्राहकको विश्वासका लागि व्यवसायीहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले सुनचाँदी व्यवसायमा व्यवसायिक मर्यादा कायम गर्नुपर्नेमा जोड दिनुभयो । व्यवसायको प्रतिष्ठा र उपभोक्ताको विश्वास कायम राख्न व्यवसायी स्वयं जिम्मेवार बन्नुपर्ने उहाँको भनाइ थियो।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्माले सुनचाँदी व्यवसाय नेपालको सांस्कृतिक पहिचान, परम्परा र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीपसँग जोडिएको बताउनुभयाे । परम्परागत कला र सीप बोकेको यस व्यवसायले स्थानीय अर्थतन्त्र र समृद्धिमा समेत योगदान पुर्याउने उहाँले बताउनुभयाे ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले व्यवसायीको सुरक्षाका लागि राज्य गम्भीर रहेको बताउनुभयाे । व्यवसाय सञ्चालनका क्रममा आइपर्ने सुरक्षा चुनौतीमा प्रशासनले आवश्यक सहजीकरण गर्ने उहाशाको भनाइ थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सुमित खड्काले सुनचाँदी कला व्यवसायीको सुरक्षाका लागि प्रहरीले आवश्यक योजना बनाएर परिचालन गर्ने बताउनुभयाे ।
उहाँले व्यवसायीलाई कानुनसम्मत कारोबार गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कानुन उल्लंघन हुने गतिविधिबाट टाढा रहन सुझाव दिनुभयाे
धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार डल्लाकोटीजस्तै व्यवसायीहरूले पनि कानुनसम्मत रूपमा कारोबार गर्नुपर्नेमा जोड दिनुभयाे। उहाँले सुनचाँदी व्यवसाय केवल व्यापार नभई कला, संस्कृति, परम्परा र मौलिक पहिचानसँग जोडिएको क्षेत्र भएकाले यसको मर्यादा कायम राख्नु व्यवसायीको दायित्व भएको बताउनुभयाे
सुनचाँदी व्यवसायीहरूले मूल्यमा हुने निरन्तर उतारचढाव, कच्चा पदार्थको उपलब्धता, बैंकिङ तथा वित्तीय समस्या, बजार व्यवस्थापन, कर तथा प्रशासनिक प्रक्रियालगायतका चुनौती सामना गर्दै आएका छन्। व्यवसायीहरूले साना तथा मझौला व्यवसायीलाई संरक्षण र प्रोत्साहन गर्दै व्यवसायमैत्री नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएकाे छ ।
नवनिर्वाचित अध्यक्ष नीरबहादुर विश्वकर्माले व्यवसायीका साझा समस्या समाधान, व्यवसायिक मर्यादा कायम तथा संघलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाउनुभयाे । उनले व्यवसायीबीच एकता, सहकार्य र आपसी विश्वासलाई बलियो बनाउँदै उपभोक्ताको हितलाई समेत प्राथमिकतामा राखिने बताउनुभयो ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा गणेश बराइली, सचिवमा बाबुराम रसाइली, कोषाध्यक्षमा कुलबहादुर सुनार ‘मनिस’, सहसचिवमा कुलबहादुर सुनार ‘अनिल’ र सहकोषाध्यक्षमा अशोक सुनार निर्वाचित भएका छन्। सदस्यहरूमा जीवन विश्वकर्मा, धनबहादुर सुनार, राजेश सुनार, अस्विन सुनार, सीताराम सुनार, ईश्वर बराइली र प्रेमलाल सुनार निर्वाचित भएका छन्।