सिद्धलेकमा सुन कागती भनेर बिमिरो वितरण: तीन वर्षको मेहनत खेर गएपछि किसानद्वारा क्षतिपूर्ति माग

सिद्धलेकमा सुन कागती भनेर बिमिरो वितरण: तीन वर्षको मेहनत खेर गएपछि किसानद्वारा क्षतिपूर्ति माग

  • Kandara Samachar

  • सोमवार, साउन १८, २०८३

  • 216
    SHARES
सिद्धलेकमा सुन कागती भनेर बिमिरो वितरण:  तीन वर्षको मेहनत खेर गएपछि किसानद्वारा क्षतिपूर्ति माग

✍️ सीताराम अधिकारी/धादिङ

धादिङको सिद्धलेक गाउँपालिकाले अनुदानमा किसानलाई वितरण गरेको ‘सुनकागती’ को बिरुवामा कागती नभई बिमिरो फलेपछि स्थानीय किसानहरू आक्रोशित र निराश बनेका छन्।

आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाको कृषि विकास कार्यक्रमअन्तर्गत वितरण गरिएका बिरुवामा फल लाग्ने समय आएपछि मात्रै ती बिरुवा कागती नभएर बिमिरो भएको खुलेको हो।

तीन वर्षसम्म लगातार मलजल, गोडमेल र स्याहारसुसार गरेर हुर्काएको बिरुवाबाट उत्पादन लिने बेलामा अर्कै फल फलेपछि किसानहरूको वर्षौँको लगानी, श्रम र आशामाथि गम्भीर ठेस पुगेको छ।

६ हजार ६ सय ६६ बिरुवा, ३ लाख बजेट

तत्कालीन कृषि शाखा प्रमुख कोमल प्रसाद जोशीका अनुसार सो आर्थिक वर्षमा फलफूल बिरुवा खरिद तथा वितरण कार्यक्रमअन्तर्गत कागतीका लागि कुल रु. ३ लाख बजेट विनियोजन गरिएको थियो। जिल्ला दररेट अनुसार प्रतिबिरुवा रु. २३७ पर्ने भए पनि बजेटको अधिकतम उपयोग गरी धेरैभन्दा धेरै किसानलाई समेट्ने उद्देश्यले सरकारी दररेट अनुसार ‘एयर लेयरिङ’  प्रविधिबाट उत्पादित सुनकागतीको बिरुवा खरिद गरिएको हाे । भनिएकाे सुन कागतिमा बिमिराेकाे आकारमा अमिलाे फल फलेपछि किसानहरु आक्राेसित भएका हुन् ।

प्रतिबिरुवा रु. ४५ का दरले खरिद गरी गाउँपालिकाभर लगभग ६ हजार ६ सय ६६ वटा सुनकागतीका बिरुवा किसानहरूलाई वितरण गरिएको जोशीले जानकारी दिनुभयाे । यी बिरुवा रौतहटको एक निजी नर्सरीबाट खरिद गरी ल्याइएको थियो। गाउँपालिकाले अनुदान भन्दै प्रतिबिरुवा ४५ रुपैयाँ लिएर किसानलाई वितरण गरेको थियो।

तीन वर्षको मेहनत माटोमा, किसानद्वारा क्षतिपूर्तिको माग

गाउँपालिकाले ‘सुनकागती’ भनेर दिएको बिरुवाले अहिले फल दिने बेला बिमिरो रूप लिएपछि किसानहरू गाउँपालिका र आपूर्तिकर्ताको नियतमाथि प्रश्न उठाउन थालेका छन्। सिद्धलेक गाउँपालिका वडा नं. ६ का किसान राम कुमार श्रेष्ठले आफ्नो खेतबारीमा ५० वटा बिरुवा रोपेका थिए।

“तीन वर्षसम्म लगनशीलताका साथ मलजल र स्याहार गरियो, फल फल्ला र आम्दानी होला भन्ने ठुलो आशा थियो,” श्रेष्ठले दुखेसो पोखे, “अहिले आएर कागतीको सट्टा बिमिरो फलेपछि हाम्रो तीन वर्षको मेहनत र लगानी सबै खेर गयो।” आफ्ना अभिभावक समानको स्थानीय सरकारले नै गुणस्तरहीन बिरुवा थमाएको भन्दै उनले उचित क्षतिपूर्तिको माग राखेर गाउँपालिकामा निवेदन दर्ता गराएका छन्।

यस्तै, अर्का स्थानीय किसान बासु सिलवालले पनि अनुदानका नाममा किसानलाई झुक्याइएको आरोप लगाउनुभएकाे छ ।

कागती भनेर बिमिरोको बिरुवा भिडाउँदा किसानको समय र लगानीको ठुलो अवमूल्यन भएको बताउँदै उनले यसमा संलग्न दोषीमाथि कडा कारबाही हुनुपर्ने बताउनु भएकाे छ ।

तत्कालीन अधिकारीको भनाइ घटनाका सम्बन्धमा तत्कालीन कृषि शाखा प्रमुख कोमल प्रसाद जोशीले सुनकागती भनेर ल्याएको बताउनुभयाे ।

“यो सुनकागती–२ परेछ, किसान सुनकागती–१ चाहिएको भन्दै हुनुहुन्छ,” उहाँले भन्नुभयाे ।

पालिकाले तीन वर्षअघि गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको नेतृत्वमा बाँडिएको कागती नक्कली कागती परेको यो घटनाले स्थानीय स्तरमा ठूलो चर्चा पाएको छ।

छानबिनको माग

कागती काण्ड सार्वजनिक भएसँगै पीडित किसानहरूले वितरण गरिएका बिरुवाको गुणस्तर र खरिद/आपूर्ति प्रक्रियाबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। किसानहरूले संयुक्त तथा व्यक्तिगत रूपमा गाउँपालिकामा निवेदन दिँदै दोषीलाई जवाफदेही बनाउन र आफूहरूले व्यहोरेको क्षति बराबरको क्षतिपूर्ति तुरुन्त उपलब्ध गराउन जोडदार माग गरेका छन्।

किसानहरूका अनुसार रौतहटको निजी नर्सरीबाट खरिद गरी ल्याइएका यी बिरुवामा तीन वर्षपछि कागतीको सट्टा अन्य किसिमको अमिलो फल (बिमिरो) फलेपछि उनीहरूको आर्थिक र भावनात्मक क्षति भएको छ। यस घटनाले स्थानीय तहबाट वितरण हुने कृषि अनुदान कार्यक्रमको गुणस्तर नियन्त्रण र जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।

पीडित किसानहरूले गाउँपालिकासँग क्षतिपूर्ति र दोषीमाथि कारबाहीको माग गर्दै आन्दोलनको तयारी समेत गरेका छन्।

घटनाका सम्बन्धमा बुझ्न गाउँ पालिका अध्यक्ष परशुराम खतिवडाले तेतिखेर बाडिएकाे हाे आफुले बुझ्नु पर्ने भन्दै पछिनुभयाे ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar