✍️ सीताराम अधिकारी/धादिङ
साउनको सिमसिमे झरी र मगमगाउँदो हिलोको गन्ध। धादिङको नीलकण्ठ नगरपालिका–७, कटहरे फाँट पुग्दा चटारो केवल रोपाइँको मात्र थिएन, हराउँदै गएको मौलिक संस्कृतिको खोजीको पनि थियो।
खेतको आली लगाउँदै हुनुहुन्थ्यो स्थानीय विष्णुप्रसाद पोखरेल। “अब त खेत हिल्याउन ट्याक्टर आइहाल्छ नि,” पोखरेलले आलीको चपरा फर्काउँदै गर्दा हामी भने खेतका गह्रामा लोप हुन लागेको ‘असारे भाका’को सुरिलो धुन खोजिरहेका थियौँ।
आधुनिकताको प्रभावले परम्परागत हलो र बाउसेको ठाउँ प्रविधिले ओगटिसकेको छ। हिलोमाथि झारले भरिएको खेतको गह्रामा मेसिन (ट्याक्टर) ले एकै घण्टामा काम तमाम गरिदियो। प्रविधिले श्रम त घटायो, तर रोपाइँ र संस्कृति बीचको त्यो आत्मीयता भने कतै छुटेझैँ लाग्थ्यो।
त्यही महसुस गरेर होला, खेत रोप्न मात्र नभई पुराना भाका जोगाउने उद्देश्यले विष्णुप्रसाद पोखरेल उमेरले ६० काटेका गाउँका आमाहरूलाई साथमा लिएर खेतको गरामा आइपुग्नुभयो।
बिउका मुठा हिलोमा फिजाउँदै गर्दा रोपारे आमाहरूको घाँटीबाट पुराना मौलिक ठाडो भाकाहरू सँगै सुरिला बनेर फुटे:
“छुपुमा छुपु, खेतैमा रोपूँ हातैमा बिउ छउञ्जेल,
राम्रैमा लाइयो, मीठैमा खाइयो बाबाको जिउ छउञ्जेल…”
कटहरेका शिवकुमारी अधिकारी, गङ्गादेवी अधिकारी र सावित्री पोखरेलको समूहले जब असारे भाका गाउन सुरु गर्यो, बाटो हिँड्ने र छेउछाउका मानिसहरू एकाएक मन्त्रमुग्ध भएर अडिए। अहिलेको युवा पुस्ताका लागि यो भाका नौलो तर असाध्यै कर्णप्रिय थियो। गाउँघरमा गाउनै छाडिसकिएको यो सुमधुर भाका सुन्न र दृश्य कैद गर्न धेरैले खल्तीबाट मोबाइल निकालेर भिडियो खिच्न थाले।
आधुनिकताको अतिक्रमणबीच रोपारे आमाहरूको सुरिलो स्वरले सिङ्गो कटहरे फाँटलाई केही बेर अतीततिरै फर्काइदियो।
लोकसाहित्य, जीवन र कथाको दोहोरी
“असारे भाका केवल गीत मात्र होइन, यो त हाम्रो बाल्यकाल, युवावस्था, विवाहपछिको जीवन र कृषि संस्कृतिसँग जोडिएको सुख-दुःखको जीवन्त कथा हो,” स्थानीय शिवकुमारी अधिकारीले विगत सम्झिँदै भन्नुभयो।
धान रोपाइँ गर्दा रोपार, बाउसे र हलीहरूले गाउने यो भाका नेपाली कृषि संस्कृति र लोकसाहित्यको एउटा निकै मौलिक एवं जीवन्त अङ्ग हो। असारे भाका कहिलेदेखि गाउन थालियो भन्ने स्पष्ट लिखित इतिहास नभए पनि यो सयौँ वर्ष पुरानो सनातन कृषि परम्परासँगै जोडिँदै आएको छ।
नेपालमा धान खेती र पर्म वा बेठी लगाएर रोपाइँ गर्ने परम्परा सुरु भएदेखि नै श्रमको थकान मेटाउन यस्ता गीत गाउने चलन सुरु भएको लोकसाहित्यका जानकारहरू बताउँछन्। यो कुनै एक जना लेखकले लेखेको गीत नभई, पुस्ताैँपुस्तादेखि मौखिक रूपमा हस्तान्तरण हुँदै आएको अमूल्य लोकभाका हो।
“मानो रोपेर मुरी उब्जाउने” हतारोमा दिनभर हिलो, पानी र चर्को झरीमा काम गर्दा भोगिने कष्टलाई यिनै भाकाले बिर्साउने गर्छन्। गीतमा प्रेम, मिलन, विछोड, गरिबी र परदेशिएका श्रीमानको सम्झना जस्ता अनेकौँ भोगाइहरू टुक्काका रूपमा पोखिने गरेको पोखरेल बताउनुहुन्छ।
संकटमा परम्परा, धादिङमा रोपाइँ अन्तिम चरणमा
हालका वर्षहरूमा कृषिमा ट्याक्टर, मिनिटिलरजस्ता आधुनिक प्रविधिको प्रयोग बढेसँगै र युवा पुस्ता परदेशिने क्रम तीव्र बनेपछि खेतका गह्राहरूमा असारे भाका गुञ्जिन छाडेका छन्। यद्यपि, मौलिक लोकसंस्कृतिको रूपमा यसको महत्त्व अझै उत्तिकै छ।
यसैबिच, धादिङ जिल्लामा यस वर्ष धान खेतीको काम अन्तिम चरणमा पुगेको छ।
कृषि विकास कार्यालय ढधादिङका सूचना अधिकारी जयराम अधिकारीका अनुसार जिल्लामा तोकिएको कुल ११ हजार १५९ हेक्टर क्षेत्रफलमध्ये हालसम्म करिब ७५ प्रतिशत (८ हजार ३७० हेक्टर) क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ।
मनसुन सक्रिय भएसँगै किसानहरू रोपाइँमा व्यस्त छन् भने बाँकी २५ प्रतिशत क्षेत्रफलमा पनि केही दिनभित्रै रोपाइँ सकिने अनुमान गरिएको छ। कृषि ज्ञान केन्द्रले धान उत्पादन बढाउन किसानहरूलाई सिफारिस गरिएको प्रविधि अपनाउन, सन्तुलित मल व्यवस्थापन गर्न र रोग-कीरा नियन्त्रणमा ध्यान दिन आग्रह गरेको छ।
प्रविधिले रोपाइँ त सहज र छिटो बनाएको छ, तर आधुनिकताको यो दौडमा कटहरेका आमाहरूले जस्तै हाम्रा मौलिक असारे भाका र लोकसंस्कृतिलाई जीवित राख्ने प्रयास गर्नु आजको मुख्य आवश्यकता बनेको छ।