बाढी प्रभावित बागेश्वरी माविलाई कतारमा कार्यरत धादिङवासीद्वारा ६७ हजार सहयोग हस्तान्तरण

बाढी प्रभावित बागेश्वरी माविलाई कतारमा कार्यरत धादिङवासीद्वारा ६७ हजार सहयोग हस्तान्तरण

  • Kandara Samachar

  • सोमवार, भदौ २२, २०८३

  • 38
    SHARES
बाढी प्रभावित बागेश्वरी माविलाई कतारमा कार्यरत धादिङवासीद्वारा ६७ हजार सहयोग हस्तान्तरण

बाढी प्रभावित बागेश्वरी माविलाई कतारमा कार्यरत धादिङवासीद्वारा ६७ हजार सहयोग हस्तान्तरण

धादिङ ।

भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढीका कारण क्षतिग्रस्त बनेको धादिङको गल्छी गाउँपालिका वडा नं. ६, बैरेनीस्थित  बागेश्वरी माध्यमिक विद्यालयलाई सफाइ तथा पुन: संचालनका लागि कतारमा कार्यरत नेपालीहरू तथा ‘धादिङ सेवा समाज कतार’को पहलमा ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।

“भोटेकोशी/त्रिशुली नदी बाढीबाट प्रभावित समुदायको लागि राहत सङ्कलन तथा व्यवस्थापन अभियान” अन्तर्गत विभिन्न मनकारी दाताहरूबाट सङ्कलित ६७  हजार रुपैयाँ रकम विद्यालय व्यवस्थापन एवं पठनपाठन पुनः सञ्चालनका लागि हस्तान्तरण गरिएको हो।

भोटेकोशी र त्रिशुली नदीमा आएको बाढीले विद्यालय परिसरमा पुर्‍याएको क्षतिपछि विद्यार्थीहरूलाई पुनः सहज रूपमा विद्यालय फर्काउन र कक्षाकोठा तथा परिसर सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले यो रकम हस्तान्तरण गरिएको अभियानकी संयोजक तथा पूर्व विद्यार्थी उषा रिमाल नेपालले जानकारी दिनुभयो।

रोजगारीको क्रममा कतारमा रहेका धादिङवासीहरूको साझा संस्था धादिङ सेवा समाज कतारले बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा पुनःस्थापनाका लागि सामाजिक अपिल गर्दै सहयोग सङ्कलन अभियान चलाएको थियो। संस्थाका अध्यक्ष आयुष घले,  कार्यवाहक अध्यक्ष उषा रिमाल नेपाल, महासचिव रामहरी श्रेष्ठ लगायत कार्यसमितिको सक्रियतामा कतारमा रहेका श्रमिक तथा अन्य सहयोगी मनहरूलाई एकीकृत गर्दै यो मानवीय कार्य अगाडि बढाइएको थियो।

सहयोग प्रदान गर्ने प्रमुख सहयोगी दाताहरूमा पूर्व विद्यार्थी उषा रिमाल नेपाल,  साेमनाथ कडेल, आरके ढकाल,  मेनुका खतिवडा भण्डारी,  सुदिप खतिवडा,  रामहरि श्रेष्ठ, राजेन्द्र  कुमार श्रेष्ठ, रमेश इटानी,  मिलन राना भाट,  राजेन्द्र कुमार भन्डारी. बन्दना गिरी, रफिकुल इस्लाम (बङ्गलादेश). बाँके सेवा समाज (बाँके),  बिनेश तामाङ (खोटाङ). दिलकुमार तामाङ (सोलुखुम्बु),  पिपलाल तामाङ (नुवाकोट), आयुष घले, कपिल अर्याल र अम्बर बहादुर गुरुङ रहनु भएकाे छ ।

बाढीको विषम परिस्थितिमा कतारमा पसिना बगाउँदै पनि जन्मभूमिको दुःखमा मल्हम लगाउन सहयोग गर्ने धादिङ सेवा समाज कतार र सम्पूर्ण सहयोगी दाताहरूलाई बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानु थापाले संस्थागत रूपमा धन्यवाद पत्र प्रदान गर्दै हार्दिक आभार व्यक्त गर्नुभएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar