गलौंदीका १४ बाढीपीडित परिवारलाई टेन्ट, डसना सहित गैर खाद्य सामाग्री वितरण

गलौंदीका १४ बाढीपीडित परिवारलाई टेन्ट, डसना सहित गैर खाद्य सामाग्री वितरण

  • Kandara Samachar

  • बिहिबार, भदौ २५, २०८३

  • 42
    SHARES
गलौंदीका १४ बाढीपीडित परिवारलाई टेन्ट, डसना सहित गैर खाद्य सामाग्री वितरण

धादिङ

भोटेकोशी बाढीबाट प्रभावित गजुरी गाउँपालिका–५ गलौंदीका १४ परिवारलाई करिब दुई लाख रुपियाँ बराबरको राहत तथा अत्यावश्यक घरायसी सामग्री प्रदान गरिएको छ ।

शितल छहारी नेपाल र लायन्स अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ को संयुक्त सहकार्यमा बाढी प्रभावित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

वडा कार्यालयको सिफारिसमा छनोट भएका परिवारलाई वडा अध्यक्ष गोविन्द लामिछानेको रोहवरमा राहत सामग्री वितरण गरिएको थियो ।

बाढीपीडित परिवारलाई १५ थान पालसहितका टेन्ट, १४ सेट डसना, तकिया र तन्ना, खानेपानीका जार र जग, लुगा धुने बाटा, चपिङ बोर्ड, चक्कु, आलु ताछ्ने औजार, पानीका बोतललगायतका सामग्री प्रदान गरिएको थियो । त्यसैगरी ६० वटा ब्रस र ३५० थान मास्कसमेत वितरण गरिएको छ ।

बाढीपछि विभिन्न निकायबाट खाद्यान्न सहयोग प्राप्त भए पनि दैनिक जीवनमा आवश्यक पर्ने गैरखाद्य सामग्रीको अभाव रहेको पाइएपछि यसपटक घरायसी प्रयोजनका सामग्रीमा केन्द्रित भएर सहयोग गरिएको शितल छहारी नेपालका अध्यक्ष कृष्णबद्री पौडेलले बताउनुभयो ।

उहाँका अनुसार विपद्को समयमा खाद्यान्नसँगै बसोबास, सरसफाइ र दैनिक प्रयोगका सामग्री पनि उत्तिकै आवश्यक हुन्छन् । प्रभावित परिवारको आवश्यकताका आधारमा आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

राहत सामग्री जुटाउन तथा वितरणका लागि समन्वय गरेको भन्दै पौडेलले नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी र लायन्स अफ इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ का रिजनल चेयर पर्सन कृष्णप्रसाद ढकाल ‘शिशिर’प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

राहत वितरण कार्यक्रममा शितल छहारी नेपालका उपाध्यक्ष बिक्रम पौडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष अधिकारी, रिजनल चेयर पर्सन ढकाल, अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष केशव अधिकारी, पैरवी अनलाइनका निर्देशक श्याम मग्राती र त्रिकोण खबरका सम्पादक ईश्वर थापा मगरलगायतको सहभागिता थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar