भोटेकोसीले दशा ल्याउँदा दशैँमा रित्तिए घर

भोटेकोसीले दशा ल्याउँदा दशैँमा रित्तिए घर

  • Kandara Samachar

  • मङ्लबार, कार्तिक ४, २०८३

  • 35
    SHARES
भोटेकोसीले दशा ल्याउँदा दशैँमा रित्तिए घर

✍️ सीताराम अधिकारी/ धादिङ

दशैँ घरपरिवारसँगै बसेर सुखदुःख साट्ने, खुसी बाँड्ने र टीका–जमरा लगाएर आशीर्वाद लिने पर्व हो। तर, भोटेकोसी र त्रिशूलीको बाढीले धादिङका केही परिवारका लागि यस वर्षको दशैँलाई कहिल्यै नबिर्सने पीडामा बदलिदिएको छ। कतै आमाको काख रित्तिएको छ, कतै श्रीमतीको सिउँदो उजाडिएको छ, कतै छोराछोरी बाबुको प्रतीक्षामा छन्। बाढीले आफन्त मात्रै बगाएन, घरको खुसी र दशैँको रौनकसमेत खोसेर लग्यो।

गल्छी गाउँपालिका–८ का राजु सुनारको परिवारमा यस वर्ष दशैँको खुसी छैन। बिहान सामान किन्न बेत्रावतीतर्फ निस्किएका राजु भोटेकोसीको बाढीमा परेर कहिल्यै नफर्किने गरी अस्ताए। चितवनमा उनको शव फेला पर्‍यो। उनको निधनसँगै पत्नीले जीवनसाथी गुमाइन्, छोराछोरी बाबुको माया र साथबाट वञ्चित भए। परिवारको आर्थिक आधारसमेत भत्कियो।

दशैँमा घर फर्किने आफन्तको बाटो हेर्नुपर्ने बेला यी परिवारका ढोका भने प्रियजनको अभावले सुनसान छन्। कतै वृद्ध आमाबुवा छोराको सम्झनामा छन्, कतै पत्नी पतिको तस्बिर हेरेर आँसु झारिरहेकी छन्। कतै बालबालिका बाबुको हातबाट टीका लगाउने रहर मनमै दबाएर बसेका छन्। शवसमेत नभेटिएका परिवारका लागि त प्रियजन फर्केर आउने झिनो आशा र कहिल्यै नफर्किने कठोर यथार्थबीचको पीडा झन् असह्य बनेको छ।

दशैँको चहलपहलले बजार र बस्ती भरिँदै जाँदा यी परिवारका घरमा भने शोकको सन्नाटा छाएको छ। मिठो खाने, राम्रो लगाउने र परिवारसँग रमाउने पर्व उनीहरूका लागि बिछोडको सम्झना बनेको छ। प्रियजनको अभावसँगै घरखर्च, छोराछोरीको पढाइ र भविष्यको चिन्ताले उनीहरूको पीडा थप गहिरिएको छ।

भोटेकोसीले उनीहरूका लागि बाढी मात्रै ल्याएन, दशा पनि ल्यायो। खोलाको पानी घट्यो, जनजीवन सामान्य बन्दै गयो, तर बाढीले रित्तिएका घरको पीडा घटेको छैन। यसपालिको दशैँमा उनीहरूका घरमा आफन्तको हाँसो गुञ्जिने छैन, खुसीका दीप बल्ने छैनन्।

यस्तो अवस्थामा शोकमा डुबेका परिवारलाई सहानुभूति र एकपटकको राहतले मात्रै पुग्दैन। उनीहरूको जीविकोपार्जन, बालबालिकाको शिक्षा र भविष्य सुरक्षित गर्न राज्य तथा सम्बन्धित निकायले दीर्घकालीन सहयोग गर्नुपर्छ।

दशैँ सबैका लागि खुसीको पर्व बन्न नसके पनि दुःखमा परेका परिवारलाई एक्लो महसुस हुन दिनु हुँदैन। किनकि बाढीले बगाएका आफन्त फर्केर आउने छैनन्, तर उनीहरूले छाडेर गएका परिवारको जीवनमा फेरि आशा जगाउन सकिन्छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar