धादिङ ।
भोटेकोसी बाढीले घरबार र दैनिक जीवन प्रभावित बनाएपछि गल्छी गाउँपालिकाका अपाङ्गता भएका परिवारलाई लक्षित गरी राहत सामग्री उपलब्ध गराइएको छ।
झापली मिलन केन्द्र भक्तपुरले इन्सेकको समन्वयमा गल्छी गाउँपालिकाका ६ परिवारका ७ जना अपाङ्गता भएका व्यक्तिका लागि राहत सामग्री उपलब्ध गराएको हो। प्राप्त सामग्री गाउँपालिकामार्फत प्रभावित परिवारलाई वितरण भइरहेको छ।
अपाङ्गता भएका मनिषा थापा, समिन श्रेष्ठ, विमल तामाङ, गोपाल अधिकारी, शुशिला काराखेती र राजकुमार अधिकारीका परिवारलाई लत्ताकपडा, स्वास्थ्य सामग्री, ग्यास चुलो, डसना, खाद्यान्न तथा सरसफाइ सामग्री उपलब्ध गराइएको छ।
राहत सामग्री व्यक्तिगत रूपमा वितरण नगरी एकद्वार प्रणालीअन्तर्गत गाउँपालिकालाई हस्तान्तरण गरिएको हो। आवश्यकताको आधारमा पालिकाले क्षति पुगेका घरपरिवारलाई सामग्री वितरण गरिरहेको गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले जानकारी दिनुभयो।
झापली मिलन केन्द्र भक्तपुरका अध्यक्ष अग्नि ढकालका अनुसार गाउँपालिकालाई महिला तथा पुरुषका लागि ६ बोरा तथा झोलामा कपडा, ६८ केस मिनरल वाटर, ८ थान डसना र खाद्यान्नलगायतका सामग्रीसमेत उपलब्ध गराइएको छ।
भोटेकोसी बाढीबाट गल्छी गाउँपालिकामा २६० घरमा क्षति पुगेको थियो। तीमध्ये ११४ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन्।
बाढीपछि राहत वितरणमा दोहोरोपन नहोस् र वास्तविक प्रभावितले आवश्यकता अनुसार सामग्री पाउन सकून् भन्ने उद्देश्यले एकद्वार प्रणालीबाट राहत व्यवस्थापन गरिएको गाउँपालिकाले जनाएको छ।