बालमैत्री स्थानीय शासनसम्बन्धी कविता प्रतियोगितामा रितिसा राई प्रथम

बालमैत्री स्थानीय शासनसम्बन्धी कविता प्रतियोगितामा रितिसा राई प्रथम

  • Kandara Samachar

  • शुक्रबार, मंसिर १२, २०८३

  • 50
    SHARES
बालमैत्री स्थानीय शासनसम्बन्धी कविता प्रतियोगितामा रितिसा राई प्रथम

धादिङ ।

नीलकण्ठ नगरपालिकाको आयोजनामा बालमैत्री स्थानीय शासनसम्बन्धी नगरस्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा चिल्ड्रेन पार्क आवासीय माध्यमिक विद्यालयकी रितिसा राई प्रथम हुनुभएको छ।

त्यसैगरी नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी इशा थापा द्वितीय, एड्भान्स एकेडेमीका समीर मगर तृतीय र शंखादेवी माध्यमिक विद्यालयका विमल बसेल सान्त्वना हुनुभएको छ।

प्रथम, द्वितीय, तृतिय र सान्त्वना हुनेहरूलाई चार हजार, तीन हजार, दुईहजार र एक हजारका दरले पुरस्कार वितरण गरिएकाे नीलकण्ठ नगरपालिका सामाजिक शाखाका प्रमुख उर्मिला थपलियाले जानकारी दिनुभयाे ।

नगरपालिकाभित्रका १३ विद्यालयबाट प्राप्त १९ वटा कवितामध्ये छनोट गरिएका कविताका आधारमा प्रतियोगिता सञ्चालन गरिएको थियो। प्रतियोगितामा ७ जना छात्र र १२ जना छात्रासहित १९ जना विद्यार्थी सहभागी भएका थिए।

बालबालिकाको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्नुका साथै उनीहरूमा बाल अधिकार, बालमैत्री वातावरण र स्थानीय शासनप्रतिको बुझाइ विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

कविता वाचन तथा पुरस्कार वितरण कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत राममणि काफ्ले, वरिष्ठ साहित्यकार तथा प्रतियोगिताका निर्णायकहरू बद्री दहाल, रमेश अधिकारी र केशव दुवाडी, नीलकण्ठ नगरपालिका सामाजिक समितिका अध्यक्ष मञ्जु मगर लगायतको आतिथ्य रहेको थियो। कार्यक्रममा नगरपालिकाको सामाजिक समितिका अध्यक्ष मगरको पनि उपस्थिति रहेको थियो।

नीलकण्ठ नगरपालिकाले बालमैत्री स्थानीय शासनको अवधारणाअन्तर्गत बालबालिकाको विकास, संरक्षण, बचाउ र सहभागिताको अधिकार सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

बालबालिकालाई आफ्ना विचार, भावना र सिर्जनशीलता अभिव्यक्त गर्ने अवसर प्रदान गर्नु बालमैत्री स्थानीय शासनको महत्वपूर्ण पक्ष हो। यस्ता प्रतियोगिताले बालबालिकामा सिर्जनात्मक प्रतिभाको विकास गर्नुका साथै आफ्ना अधिकारप्रति सचेत बन्न र सामाजिक विषयमा आफ्नो धारणा राख्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar