धादिङ
नेकपा एमालेकी सांसद गङ्गादेवी श्रेष्ठले वर्तमान सरकारले सञ्चारमाध्यमलाई कमजोर बनाउँदै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउनुभएको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यमकै शक्तिको आडमा सत्तामा पुगेकाहरूले अहिले तिनै सञ्चारमाध्यमलाई कमजोर बनाउने रणनीति अपनाएको उहाँको भनाइ छ।
प्रेस चौतारी नेपाल धादिङले आयोजना गरेको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा बोल्दै सांसद श्रेष्ठले आफू सधैँ प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै सञ्चारमाध्यममाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो।
उहाँले धादिङको फुर्केखोलामा स्थायी पक्की पुल निर्माण, वैकल्पिक मार्गको स्तरोन्नति र कालोपत्रेका लागि पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो। धादिङका १३ वटै स्थानीय तहको समन्वयमा तिहारलगत्तै पन्टुन पुल सञ्चालन गर्ने तयारीले यात्रुहरूलाई राहत पुग्ने उहाँले बताउनुभयो।
कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष अर्जुन गोर्खालीले पत्रकारको क्षमता अभिवृद्धि र सञ्चारमाध्यमलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षालाई महासंघले प्राथमिकतामा राखेको बताउँदै प्रविधिको विकाससँगै पत्रकारहरू पनि अद्यावधिक हुनुपर्नेमा जोड दिनुभयो।
प्रेस चौतारी धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले पत्रकारको क्षमता विकास तथा सञ्चारमाध्यमको दिगोपनाका लागि संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।