धादिङ ।
गाउँमा रोजगारीको अवसर नहुँदा युवाहरू विदेशिने क्रम बढिरहेका बेला गल्छी गाउँपालिका–६ मखमलीडाँडाका एक युवा दम्पतीले भने गाउँमै फूल खेती गरेर आम्दानीको बाटो रोजेका छन्। सन्दिप अधिकारी र उनकी श्रीमती एशोदा खनालले मखमली र सयपत्री फूल खेतीलाई आम्दानीको माध्यम बनाउँदै गाउँमै बसेर पनि राम्रो गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
विशेषगरी तिहारलाई लक्षित गरेर गरिने फूल खेतीबाट उनीहरूले घरखर्च चलाउन पुग्ने आम्दानी गर्दै आएका छन्। गाउँघरमा खेतीयोग्य जमिन बाँझिँदै गएको र रोजगारीका लागि युवा विदेशिने क्रम बढिरहेका बेला सन्दिप र एशोदाको फूल खेतीप्रतिको लगाव र मेहनत उदाहरणीय बनेको छ।
मखमलीडाँडामा मखमली फूलको खेती नयाँ विषय होइन। यहाँका घरबारीमा परम्परादेखि नै मखमली फूल फुल्दै आएको छ। सन्दिपका अनुसार उनका बुबाआमाले अन्य गाउँबाट फूलको माला लगाएर ल्याएपछि घरबारीमा सयपत्री खेती गर्ने सोच बनेको थियो। त्यसपछि घरमै सयपत्री फूल लगाउन थालिएको हो।

oplus_2
मखमली फूलसँग यस क्षेत्रको आफ्नै सांस्कृतिक र भावनात्मक सम्बन्ध छ। तिहारमा दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्दै मखमली फूलको माला लगाइदिने परम्परा रहिआएको छ। मखमली फूल कहिल्यै नओइलाउने भएकाले यसलाई दाजुभाइको लामो आयु र सुमधुर सम्बन्धको प्रतीकका रूपमा लिने गरिन्छ। तर पछिल्लो समय यो मौलिक चलन विस्तारै हराउँदै गएको छ। मखमलीको सट्टा सयपत्री फूलको माला लगाउने प्रचलन बढ्दै गएको सन्दिपको अनुभव छ।
फूल खेतीमा सम्भावना देखिए पनि किसानले आवश्यक प्राविधिक सहयोग र तालिम नपाएको उनको गुनासो छ। कृषि क्षेत्रमा विभिन्न प्रकारका तालिम सञ्चालन हुने गरे पनि सयपत्री र मखमली फूल खेतीसम्बन्धी तालिम भने आफूले अहिलेसम्म नपाएको उनले बताए।
“कृषिका धेरै विषयमा तालिम आउँछन्, तर सयपत्री र मखमली फूल खेतीका विषयमा अहिलेसम्म तालिम आएको थाहा छैन। तालिम पाएर मात्रै हुँदैन, गाउँका अरू किसानलाई पनि सिकाउने वातावरण बनाउनुपर्छ,” सन्दिप भन्छन्।
उनका अनुसार मखमलीडाँडा आसपासका गाउँमा पनि धेरै किसानले आफ्नो जमिन र क्षमताअनुसार सयपत्री तथा मखमली फूल खेती गर्दै आएका छन्। तर बीउ संरक्षण, बिरुवा उत्पादन, रोप्ने समय, फूल फुलाउने समय व्यवस्थापन र वर्षभरि फूल उत्पादन गर्नेजस्ता विषयमा प्राविधिक ज्ञानको अभाव छ। आवश्यक तालिम र प्राविधिक सहयोग पाए फूल खेतीलाई व्यावसायिक बनाउन सकिने उनको विश्वास छ।
फूल खेती गर्ने किसानका लागि बजार अर्को चुनौती बनेको छ। विदेशबाट आयात हुने फूल र प्लास्टिकका कृत्रिम फूलका कारण स्थानीय किसानले उत्पादनको उचित मूल्य पाउन नसकेको सन्दिपको भनाइ छ। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति कार्यान्वयन गर्दै विदेशी फूल तथा प्लास्टिकका फूलको अनियन्त्रित आयात रोक्न सके नेपाली किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउने उनको अपेक्षा छ।
स्थानीय सरकारले कृषि क्षेत्रमा लगानी गरे पनि फूल खेतीलाई प्राथमिकतामा नराखेको उनको गुनासो छ। गल्छी गाउँपालिकाले फूल खेतीका लागि हालसम्म विशेष लगानी नगरेको आफूले जानकारी पाएको उनले बताए। फूल खेतीलाई प्रोत्साहन गर्न बीउ, मल, प्राविधिक सेवा, तालिम र बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको माग छ।
गाउँमा बस्ने मानिसको संख्या घट्दै गएको छ। वैदेशिक रोजगारीमा नगएको घर भेट्टाउनसमेत मुस्किल हुन थालेको छ। यस्तो अवस्थामा आफ्नै गाउँको माटोमा पसिना बगाएर फूल खेतीमार्फत आम्दानी गर्न सकिन्छ भन्ने सन्देश सन्दिप र एशोदाको परिवारले दिएको छ।
ठूलो लगानी र फराकिलो बजार नहुँदा पनि आफ्नो घरबारीमा सम्भावना खोजेर गरिएको उनीहरूको प्रयासले मखमलीडाँडाको पहिचानसँगै स्थानीय कृषि उद्यमको सम्भावनालाई समेत उजागर गरेको छ। आवश्यक सरकारी सहयोग, प्राविधिक ज्ञान र बजारको सुनिश्चितता हुने हो भने मखमलीडाँडाको फूल खेती स्थानीय युवाका लागि गाउँमै रोजगारी र आम्दानीको भरपर्दो आधार बन्न सक्छ।