गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासियो, दसैँमा घर फर्किने यात्रु अलपत्र

गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासियो, दसैँमा घर फर्किने यात्रु अलपत्र

  • Kandara Samachar

  • शुक्रबार, अशोज २३, २०८३

  • 46
    SHARES
गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासियो, दसैँमा घर फर्किने यात्रु अलपत्र

नानु कार्की/धादिङ ।

त्रिशूली नदीको कटानले धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वीराजमार्गको ठूलो हिस्सा भासिएपछि राजधानी काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सडक भासिएसँगै राजमार्गमा सवारी आवागमन ठप्प हुँदा दसैँ मनाउन घर फर्किएका यात्रुसहित हजारौँ सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

शुक्रबार साँझ सडकको केही भाग भासिएर जोखिम देखिएको गलौँदीमा केहीबेरमै सडकको ठूलो हिस्सा भासिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलका अनुसार सुरुमा सडकको सानो भागमा क्षति देखिए पनि क्रमशः भासिने क्रम बढेपछि यातायात पूर्ण रूपमा बन्द गर्नुपरेको हो।

भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ खण्डका विभिन्न स्थानमा सडक कटान गरिरहेको छ। नदीको कटानका कारण पृथ्वीराजमार्गका विभिन्न खण्ड जोखिममा परिरहेका बेला गलौँदीमा सडक नै भासिएपछि राजधानी आवतजावत गर्ने यात्रुको यात्रा थप अनिश्चित बनेको छ।

एक महिनासम्म अवरुद्ध रहेको कृष्णभीर खण्ड केही दिनअघि मात्रै सञ्चालनमा आएको थियो। उक्त खण्डमा यातायात सञ्चालन भएको केही दिनमै गलौँदीमा सडक भासिएपछि पृथ्वीराजमार्गको यात्रा पुनः ठप्प भएको हो। दसैँका लागि घर फर्किने यात्रुको चाप बढिरहेका बेला सडक अवरुद्ध हुँदा यात्रुहरू थप समस्यामा परेका छन्।

गलौँदीमा सडकको किनारासमेत भासिएर गहिरो पहिरोको अवस्था बनेको छ। क्षतिग्रस्त सडकलाई सामान्य मर्मत गरेर तत्काल सञ्चालनमा ल्याउन कठिन देखिएको छ। सडक खुलाउन अग्लो पहाड काटेर वैकल्पिक मार्ग निर्माण गर्नुपर्ने अवस्था रहेकाले यातायात सञ्चालनमा ल्याउन समय लाग्न सक्ने देखिएको छ। सडक कहिलेदेखि खुल्छ भन्नेबारे यकिन हुन सकेको छैन।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सडक भासिएर पृथ्वीराजमार्ग पूर्ण रूपमा बन्द भएकाले उक्त खण्डमा यात्रा नगर्न र सवारीसाधन नपठाउन आग्रह गरेको छ। प्रशासनले सडकको पछिल्लो अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्रै यात्रा गर्न यात्रुलाई अनुरोध गरेको छ।

गलौँदी क्षेत्र बाढीबाट प्रभावित बस्तीसमेत हो। भोटेकोसी–त्रिशूली बाढीले यहाँका सबै घरमा क्षति पुर्‍याएपछि विस्थापित भएका ४३ परिवार अहिले पनि जंगल क्षेत्रमा बनाइएको अस्थायी होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढीले घरबारविहीन बनाएका स्थानीयको पुनःस्थापनाको समस्या कायमै रहेका बेला बस्ती नजिकै सडक भासिएपछि क्षेत्रको जोखिम थप बढेको छ।

राजमार्ग अवरुद्ध भएपछि मुग्लिनबाट काठमाडौं जानुपर्ने यात्रुका लागि बेनिघाट बजारबाट घ्याल्चोक, बुङकोटघाट, खरी र धादिङबेँसी हुँदै परेवाटार–मास्टार सडक प्रयोग गर्न सकिने विकल्प सुझाइएको छ। यद्यपि, उक्त मार्गको अवस्था र यातायात सञ्चालनबारे जानकारी लिएर मात्रै यात्रा गर्नुपर्नेछ।

त्यस्तै, मोटरसाइकलका लागि गजुरीबाट माथिल्लो गाउँ हुँदै आदमघाट निस्कने कच्ची सडकलाई पनि वैकल्पिक मार्गका रूपमा उल्लेख गरिएको छ। तर कच्ची सडकको अवस्था र सम्भावित जोखिमलाई ध्यानमा राखेर मात्रै उक्त मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरिएको छ।

दसैँको मुखमा पृथ्वीराजमार्गको अर्को खण्ड भासिएपछि यात्रुहरू गन्तव्यमा पुग्ने अनिश्चितता बढेको छ। बाढी र नदी कटानले पटकपटक प्रभावित हुँदै आएको राजमार्गको अवरोध हटाउन र यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन वैकल्पिक सडक व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar