खानेपानी आयोजना मर्मत सम्भारसम्बन्धी तीनदिने तालिम संचालन

खानेपानी आयोजना मर्मत सम्भारसम्बन्धी तीनदिने तालिम संचालन

  • Kandara Samachar

  • बुधबार, अशोज २१, २०८३

  • 39
    SHARES
खानेपानी आयोजना मर्मत सम्भारसम्बन्धी तीनदिने तालिम संचालन
oplus_2

धादिङ ।

शान्ति नेपालद्वारा सञ्चालित सामुदायिक रूपान्तरणका लागि पूर्ण सरसफाइ परियोजनाअन्तर्गत धादिङमा खानेपानी तथा सरसफाइ आयोजना मर्मत सम्भार तथा व्यवस्थापनसम्बन्धी तीनदिने तालिम सुरु भएको छ।

त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिकामा शान्ति नेपालमार्फत सञ्चालन हुने १९ वटा खानेपानी आयोजना तथा संस्थागत खानेपानी, सरसफाइ तथा स्वच्छता  संरचनामा आबद्ध ग्रामीण मर्मत सम्भार कार्यकर्ता का लागि तालिम आयोजना गरिएको हो।

तालिममा खानेपानी आयोजनाको नियमित मर्मत सम्भार, सुरक्षित सञ्चालन तथा प्रभावकारी व्यवस्थापनका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिने जनाइएको छ।

तालिमका क्रममा खानेपानीको स्रोतदेखि उपभोक्ताको धारासम्म रहेका संरचनाको निरीक्षण, सामान्य समस्या पहिचान तथा मर्मत, आवश्यक औजारको प्रयोग, नियमित मर्मत सम्भार योजना र आपतकालीन अवस्थामा गर्नुपर्ने कामबारे सहभागीलाई अभ्याससहित जानकारी गराइनेछ।

आयोजनाका अनुसार तालिमको मुख्य उद्देश्य ग्रामीण मर्मत सम्भार कार्यकर्ताको प्राविधिक ज्ञान, सीप र जिम्मेवारी अभिवृद्धि गरी खानेपानी तथा वास संरचनालाई सुरक्षित र दिगो रूपमा सञ्चालन गर्न सक्षम बनाउनु रहेकाे शान्ति नेपालका इन्द्रमान शाक्यले बताउनुभयाे ।

तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो समुदायमा व्यवहारमा प्रयोग गरी खानेपानी आयोजनाको नियमित मर्मत सम्भार तथा दिगो सञ्चालनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

सक्षम मर्मत सम्भार कार्यकर्ता, नियमित मर्मत सम्भार र जिम्मेवार समुदाय दिगो खानेपानी तथा वास सेवाका आधार भएकाले निर्माण सम्पन्न आयोजनालाई दीर्घकालसम्म सुरक्षित, सञ्चालनयोग्य र भरपर्दो बनाउन तालिमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar