घरघरबाट लायनले सुरु गर्‍यो वृक्षारोपण अभियान

घरघरबाट लायनले सुरु गर्‍यो वृक्षारोपण अभियान

  • Kandara Samachar

  • शुक्रबार, साउन २२, २०८३

  • 52
    SHARES
घरघरबाट लायनले सुरु गर्‍यो वृक्षारोपण अभियान

धादिङ ।

वातावरण संरक्षणको सुरुआत आफ्नै घरआँगनबाट गर्नुपर्ने सन्देशसहित लायन्स क्लब अफ धादिङ, नीलकण्ठ ले घरघरबाट वृक्षारोपण अभियान सुरु गरेको छ। लायन्स डिस्ट्रीक्ट ३२५ के अन्तर्गत सञ्चालन गरिएको “एक लायन, एक बिरुवा” अभियानमार्फत क्लबका प्रत्येक सदस्यले आफ्नै घरआँगन तथा उपयुक्त स्थानमा बिरुवा रोप्ने अभियान अघि बढाएका हुन्।

डिभिजन वन कार्यालय, धादिङको समन्वयमा सम्पन्न कार्यक्रममा वन कार्यालय परिसरबाट क्लबका अध्यक्ष पोषनाथ अधिकारी लाई औपचारिक रूपमा बिरुवा हस्तान्तरण गरिएको थियो। त्यसपछि सहभागी सम्पूर्ण लायन सदस्यहरूले बिरुवा ग्रहण गरी आ–आफ्नो घरआँगनमा वृक्षारोपण गरेका छन्।

अभियानको नेतृत्व गर्दै अध्यक्ष अधिकारीले वातावरण संरक्षणको जिम्मेवारी प्रत्येक नागरिकबाट सुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले समाज र देशलाई हराभरा बनाउने अभियान आफ्नै घरको आँगनबाट सुरु गर्न सके मात्र त्यसको प्रभाव व्यापक रूपमा फैलिने बताउनुभयो।

“हामीले समाज परिवर्तनका ठूला कुरा गर्नुभन्दा पहिले आफ्नै घरअगाडिको वातावरण स्वच्छ, हरियाली र सुन्दर बनाउनुपर्छ। घरबाट सुरु भएको सानो प्रयासले नै भोलि सिङ्गो समाज र देशको वातावरण संरक्षणमा ठूलो योगदान पुर्‍याउनेछ,” अध्यक्ष अधिकारीले भन्नुभयो।

कार्यक्रममा क्लबका सचिव दीपक सिटौला, कोषाध्यक्ष शरणकुमार श्रेष्ठ, ट्रेजरर गोविन्द भण्डारी, डिस्ट्रिक्ट सिनियर ए.ओ.जी. ईश्वरीप्रसाद पाण्डे, ईश्वरकुमार श्रेष्ठ लगायत लायन्स क्लबका सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।

मानवता र निःस्वार्थ सेवामा समर्पित लायन्स क्लब्स इन्टरनेसनल का प्रमुख ‘ग्लोबल कज’मध्ये वातावरण संरक्षण एक महत्वपूर्ण प्राथमिकता रहेको क्लबले जनाएको छ। सोही अवधारणालाई व्यवहारमा उतार्दै लायन्स क्लब अफ धादिङ, नीलकण्ठले वृक्षारोपणलाई एकदिने औपचारिक कार्यक्रममा सीमित नराखी वर्षभरि सञ्चालन हुने अभियानका रूपमा अघि बढाउने योजना बनाएको छ। यसका लागि वार्षिक कार्यतालिका तयार गरी वातावरण संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिने क्लबले जनाएको छ।

क्लबले कार्यक्रममा सहभागी भई बिरुवा ग्रहण तथा वृक्षारोपण गर्ने सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै रोपिएका बिरुवाको संरक्षणमा विशेष ध्यान दिन आग्रह गरेको छ। साथै, अभियानमा सहभागी हुन नसकेका लायन सदस्यहरूलाई पनि क्लबमा सम्पर्क गरी बिरुवा प्राप्त गरेर आफ्नै घरआँगन तथा उपयुक्त स्थानमा वृक्षारोपण गर्न आह्वान गरिएको छ।

घरघरबाट सुरु भएको यो वृक्षारोपण अभियानले वातावरण संरक्षणप्रति व्यक्तिगत जिम्मेवारीको भावना विकास गर्दै हरित, स्वच्छ र दिगो समाज निर्माणमा सकारात्मक योगदान पुर्‍याउने विश्वास क्लबले व्यक्त गरेको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar