नेपाल जापान सम्बन्धकाे ७० औँ वर्षमा खर्केडाँडा सालक पार्का ७० साकुरा राेपियाे

नेपाल जापान सम्बन्धकाे ७० औँ वर्षमा खर्केडाँडा सालक पार्का ७० साकुरा राेपियाे

  • Kandara Samachar

  • सोमवार, साउन १८, २०८३

  • 49
    SHARES
नेपाल जापान सम्बन्धकाे ७० औँ वर्षमा खर्केडाँडा सालक पार्का ७० साकुरा राेपियाे

धादिङ । 

नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षको अवसरमा धादिङको धुनिवेशी नगरपालिका–८ स्थित खर्केडाँडा सालक पार्कमा ७० वटा साकुरा (हिमालय चेरी/पैयाँ) का बिरुवा वृक्षारोपण गरिएको छ। नेपाल–जापान मित्रताको प्रतीकका रूपमा गरिएको यस अभियानले वातावरण संरक्षण, जैविक विविधताको प्रवर्द्धन तथा पर्यटन विकासमा नयाँ सम्भावना थप्ने विश्वास गरिएको छ।

धुनिवेशी नगरपालिकाको आयोजनामा तथा लभ ग्रीन नेपालको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालका लागि जापानका राजदूत मायदा टोरु प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा धुनिवेशी नगरपालिकाका नगरप्रमुख बालकृष्ण आचार्य, उपप्रमुख सुरज उप्रेती, लभ ग्रीन नेपालकी अध्यक्ष अमिरा दली, जापानी प्रतिनिधिमण्डल, वन उपभोक्ता, स्थानीय जनप्रतिनिधि, सामाजिक अगुवा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपालबाट मित्रताको चिनोस्वरूप जापान पुर्‍याइएको पैयाँ (हिमालय चेरी) लाई जापानले संरक्षण र विस्तार गर्दै आएको छ। जापानको राष्ट्रिय फूलका रूपमा परिचित साकुराका ३०० भन्दा बढी प्रजाति रहेका छन्। जापानी अधिकारीहरूका अनुसार नोभेम्बरतिर फूल्ने साकुरा जापानमा सामान्यतया करिब दुई दिनमै झर्ने भए पनि नेपालको हावापानीमा भने करिब १० दिनसम्म फूल टिक्ने विशेषता रहेको छ।

विशेषज्ञहरूका अनुसार नेपालमा प्राकृतिक रूपमा पाइने पैयाँ मुख्यतः काभ्रे, नमोबुद्ध क्षेत्र, जाजरकोट तथा धादिङका विभिन्न स्थानमा भेटिन्छ। त्यसैले यसको संरक्षण, विस्तार र वैज्ञानिक व्यवस्थापनका लागि यस्ता अभियान प्रभावकारी हुने विश्वास गरिएको छ।

काठमाडौंबाट छोटो दूरीमा रहेको तथा त्रिभुवन राजपथसँग प्रत्यक्ष जोडिएको खर्केडाँडा सालक पार्क प्राकृतिक सौन्दर्य, हरियाली र वन्यजन्तुको बासस्थानका कारण परिचित छ। पार्कमा रोपिएका साकुराका बिरुवा सफलतापूर्वक हुर्कन सके वसन्त तथा शरद् ऋतुमा आकर्षक फूलले पार्कको सौन्दर्य अझ बढ्ने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

वृक्षारोपण कार्यक्रममा अभियानलाई सफल बनाउन विशेष पहल गरेका दिनेश लोहनीसहित सहभागीहरूले संयुक्त रूपमा बिरुवा रोपेका थिए। वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बाशु श्रेष्ठले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षका अवसरमा आफ्नो समूह यस ऐतिहासिक अभियानसँग जोडिन पाएकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले रोपिएका सबै बिरुवाको शतप्रतिशत संरक्षण गर्दै हुर्काउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा पनि यस्तै प्रकृति संरक्षणमुखी कार्यक्रम सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो।

नगरप्रमुख बालकृष्ण आचार्यले धुनिवेशी नगरपालिकाले वातावरण संरक्षण, हरित विकास र पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले खर्केडाँडा सालक पार्कलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले आवश्यक पूर्वाधार र संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि जापानी राजदूत मायदा टोरुले नेपाल र जापानबीच सात दशकदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धलाई प्रकृतिसँग जोड्ने प्रयास प्रशंसनीय भएको बताउँदै वृक्षारोपण अभियानले दुवै देशबीचको मित्रता अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो।

आयोजकका अनुसार यो अभियान केवल औपचारिक वृक्षारोपण कार्यक्रम मात्र नभई जलवायु परिवर्तनको चुनौती सामना, हरियाली विस्तार, जैविक विविधताको संरक्षण र नेपाल–जापानबीचको मित्रतालाई पुस्तान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाइएको हो।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षको स्मरणमा रोपिएका ७० साकुरा बिरुवाले भविष्यमा फूल्दै–फल्दै दुई देशबीचको मित्रता, वातावरण संरक्षण र दिगो पर्यटन विकासको साझा सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar