धादिङमा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण, जेष्ठ निवृत्त शिक्षकहरू सम्मानित

धादिङमा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण, जेष्ठ निवृत्त शिक्षकहरू सम्मानित

  • Kandara Samachar

  • बुधबार, साउन १३, २०८३

  • 223
    SHARES
धादिङमा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण, जेष्ठ निवृत्त शिक्षकहरू सम्मानित

धादिङ।

गुरु पूर्णिमा, व्यास जयन्ती, २६औँ निवृत्त शिक्षक दिवस तथा नेपाल निवृत्त शिक्षक समाज धादिङको १२औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘प्रज्ञा वर्तिका’ स्मारिकाको लोकार्पण गरिएको छ।

नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङद्वारा आयोजित कार्यक्रममा समाजका जिल्ला अध्यक्ष केशरीप्रसाद पन्तको अध्यक्षता रहेको थियो भने संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतम विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको सञ्चालन जिल्ला सचिव यज्ञेश्वर अर्यालले गर्नुभएको थियो।

कार्यक्रममा प्रकाशित ‘प्रज्ञा वर्तिका’ स्मारिकामा शिक्षक आन्दोलन, विज्ञान, साइबर सुरक्षा, धादिङका ऐतिहासिक स्थलहरूको परिचय, जिल्लाको समग्र चिनारी, साहित्यलगायत २० वटा विषय समेटिएको सम्पादन मण्डलका सदस्य रमेश अधिकारीले जानकारी दिनुभयो।

स्मारिका प्रकाशनका लागि डा. नवीनबन्धु पहाडी, रमेश अधिकारी, डा. मोहन कडेल, शालिग्राम अर्याल तथा विष्णुप्रसाद रिजालले सम्पादन मण्डलमा रहेर योगदान पुर्‍याउनुभएको थियो। उक्त योगदानको कदर गर्दै उहाँहरूलाई कार्यक्रममा सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी, जेष्ठ निवृत्त शिक्षक कमलराज कँडेल, संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल तथा निवृत्त शिक्षक विष्णु भट्टराईलाई सम्मान गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुष्पविक्रम मल्लले साहित्यले समाजका आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनलाई सही दिशा दिन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले शिक्षकहरूबाट सिर्जना हुने ज्ञान, अनुसन्धान र साहित्य समाज रूपान्तरणका आधार स्तम्भ भएको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले निवृत्त शिक्षकहरूको ज्ञान, अनुभव र सिर्जनशीलतालाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै शिक्षाक्षेत्र र समाज विकासमा निरन्तर सक्रिय रहनुपर्नेमा जोड दिएका थिए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Kandara Samachar