धादिङ ।
धादिङ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का नेकपा तर्फका उम्मेदवार राम बहादुर भण्डारीले आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ।
भण्डारीले प्रतिवद्धतापत्रमा भ्रष्टाचारमुक्त प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, डिजिटल सेवा विस्तार तथा नागरिक गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ। शिक्षा क्षेत्रमा कक्षा १ देखि १२ सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको प्रभावकारी कार्यान्वयन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र उच्च शिक्षालाई रोजगारमुखी बनाउने योजना प्रस्तुत गर्नुभयो। स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकामा गुणस्तरीय सेवा, स्वास्थ्य बीमा सुदृढीकरण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने उल्लेख गर्नुभयो।
पूर्वाधारतर्फ बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयन, बाँकी मुआब्जा वितरण, सडक स्तरोन्नति तथा कालोपत्रे, मोटरेबल पुल निर्माण, धादिङबेसी र सल्यानटारलाई स्मार्ट सहरका रूपमा विकास गर्ने योजना सार्वजनिक गर्नुभयो। पर्यटन प्रवर्द्धनमार्फत रोजगारी सिर्जना, रुबीभ्याली र गंगाजमुना क्षेत्रलाई पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गर्ने तथा गणेश हिमाल क्षेत्रको पदमार्ग व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादनमा आधारित अनुदान, चिस्यान केन्द्र स्थापना, लिफ्टिङ सिँचाइ विस्तार तथा सहकारीमार्फत सामूहिक उत्पादनमा जोड दिने उहाँको योजना छ। सामाजिक न्यायतर्फ महिला सशक्तीकरण, दलित तथा आदिवासी जनजातिको पेशा–व्यवसाय आधुनिकीकरण, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र सामाजिक सुरक्षा कोष सुदृढीकरणलाई प्राथमिकता दिने बताउनुभयो।
युवा तथा खेलकुद क्षेत्रअन्तर्गत राष्ट्रियस्तरको क्रिकेट मैदान र रंगशाला निर्माण, सीपमूलक तालिममार्फत स्वदेशमै रोजगारी सिर्जना तथा वैदेशिक रोजगारीबाट फर्केकालाई उद्यममा प्रोत्साहन गर्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभयो।