भूकम्पपीडित समुदायसँग घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

भूकम्पपीडित समुदायसँग घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र

  • Kandara Samachar

  • बिहिबार, माघ ३०, २०८२

  • 15
    SHARES
भूकम्पपीडित समुदायसँग घलेको छलफल, आचारसंहिता पालना गर्दै घरदैलो अभियान तीव्र
oplus_2

धादिङ

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले मतदाता भेटघाट तथा घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन्।

मतदाता भेटघाट कार्यक्रम अन्तर्गत उनले २०७२ सालको भूकम्पबाट विस्थापित भई हाल नीलकण्ठ नगरपालिका–१२, दामगाडेमा बसोबास गरिरहेका उत्तरी धादिङका समुदायसँग छलफल गरेका छन्। छलफलका क्रममा विस्थापित समुदायले घलेलाई विकासप्रेमी र धादिङको प्रतिनिधित्व गर्न सक्षम उम्मेदवारको रूपमा प्रस्तुत गर्दै मतदान गर्ने आश्वासन दिएका छन्।

समुदायले २०७० सालमा संविधानसभा सदस्यमा निर्वाचित भई संविधान लेखनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै घलेप्रति धन्यवादसमेत व्यक्त गरेको थियो।

छलफलका क्रममा उम्मेदवार घलेले २०७० सालमा आफूलाई निर्वाचित गराई संविधान लेखनजस्तो महत्वपूर्ण जिम्मेवारीमा पुर्‍याएकोमा मतदाताप्रति आभार व्यक्त गरे। संविधानमार्फत दुर्गम बस्तीका नागरिकहरूको हकअधिकार सुनिश्चित गर्ने जिम्मेवारी आफूले पूरा गरेको उल्लेख गर्दै उनले अझै उत्तरी धादिङका नागरिकहरूको आवश्यकता र चाहना सम्बोधन गर्न थुप्रै काम बाँकी रहेको बताए।

“संविधानसभा सदस्य भएर संविधान लेख्ने महत्वपूर्ण जिम्मेवारी मिल्यो र मैले पूरा गरेँ। अझै नागरिकको अवस्था र व्यवस्था फेरिने खालका नीति, नियम, कानुन तथा आवश्यक संशोधन गर्नुपर्ने अवस्था छ,” उनले भने, “उत्तरी धादिङको दिगो विकास, खनिजजन्य उत्खननका लागि आवश्यक नीति–कानुन निर्माण तथा अधुरा काम पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ। तपाईंहरूले मत दिएर जनजीवन परिवर्तन गर्ने काम गर्न सेवक बन्ने अवसर दिनुहुनेछ भन्ने विश्वास लिएको छु।”

यसैबीच, निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू घरदैलो अभियानमा सक्रिय भइरहेका छन्। अन्य दलका उम्मेदवारहरूले तामझामसहित कार्यक्रम गरिरहँदा एमालेका उम्मेदवार घलेले भने निर्वाचन आचारसंहिताको पालना गर्दै घरदैलो कार्यक्रम गरिरहेको बताएका छन्।

निर्वाचन कार्यालयले तोकेको आचारसंहिताअनुसार मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा बढीमा २५ जना मात्रै सहभागी हुन पाउने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुरूप कार्यक्रम सञ्चालन भइरहेको घलेले बताए।

“हेर्दा सहभागी संख्या थोरै देखिए पनि नागरिकका गुनासा, माग र सवालहरूबारे खुलेर कुरा गर्न सहज हुन्छ,” उनले भने, “आज धादिङबेसीका नागरिकसँग घरदैलोमार्फत भेटघाट गरियो। नागरिकले स्थिर सरकार, देशमै रोजगारी सिर्जना गर्ने वातावरण र प्रभावकारी कानून निर्माणका विषयमा आग्रह गर्नुभएको छ।”

मतदाताका सुझाव र गुनासोलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकास र समृद्धिका लागि नीतिगत पहल गर्ने प्रतिबद्धता घलेले व्यक्त गरेका छन्।


सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Kandara Samachar