धादिङ जिल्ला अदालतमा पाँचवर्ष यताकै धेरै मुद्दा फैसला

धादिङ जिल्ला अदालतमा पाँचवर्ष यताकै धेरै मुद्दा फैसला

  • Kandara Samachar

  • शुक्रबार, साउन ३, २०८२

  • 67
    SHARES
धादिङ जिल्ला अदालतमा पाँचवर्ष यताकै धेरै मुद्दा फैसला

धादिङ जिल्ला अदालतले अहिलेसम्ममा एक वर्षमा धेरै मुद्दा फैसला गरेर रेकर्ड नै कायम गरेकाे छ ।

जिल्ला अदालतले पाँच वर्ष यताकै सबैभन्दा बढी मुद्दा फैसला गरी  तिनसयको संख्यामा मात्र जिल्लामा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।
आर्थिक वर्ष ०८१।८२ मा अघिल्लो  वर्षबाट लगत बाँकी सरेर आएको थियो । यसमध्ये जिल्ला अदालतले ५ सय ८ मुद्दा फर्छ्यौट गरेको  छ । यस आर्थिक वर्षमा एक हजार १९ मुद्दा दायर भएकोमा जिलला अदालतले ७ सय १७ मुद्दा फर्छ्यौट गरेको जिल्ला अदालतका श्रस्तेदार माधव भण्डारीले बताए ।

यस वर्ष कुल १ हजार ५ सय ५१ मुद्दा लागत रहेकोमा यस वर्ष १ हजार २ सय २५ मुद्दा फर्छ्यौट भई  ३ सय २६ मुद्दा बाँकी रहेको छ । यसरी हेर्दा यस वर्ष ७८ दशमलव ९८ प्रतिशत फर्छ्यौट भएको छ ।

यो प्रतिशत अहिलेसम्मकै पहिलो रेकर्ड भएको जिल्ला अदालतले जनाएको छ ।विगत पाँच वर्षलाई हेर्दा पनि मुद्दाको फर्छ्यौट दर न्यून रहेको देखिन्छ ।

आर्थिक वर्ष ०७७।७८ मा १ हजार ४ सय ५३ मुद्दा लगत रहेकोमा ४८ दशमलव ०४ प्रतिशत फर्छ्यौट भएको थियो । आव ०७८।७९ मा १ हजार ७ सय ६ मुद्दा लगत रहेकोमा ९ सय ६७ थान मुद्दा अर्थात ५६ दशमलव ६८ प्रतिशत मुद्दा फर्छ्यौट भएको थियो । आव ०७९।८० मा १ हजार ६ सय ९९ मुद्दा लगत रहेकोमा १ हजार १३ थान मुद्दा अर्थात ५९ दशमलव ६२ प्रतिशत मुद्दामात्र फर्छ्यौट भएका थिए ।

यसैगरी आव ०८०।८१ मा १ हजार ७ सय ३९ मुद्दा लगात रहेकोमा १ हजार २ सय ७ अर्थात ६९ दशमलव ४१ प्रतिशत मुद्दा फर्छ्यौट भएको श्रेस्तेदार भण्डारीले जानकारी दिए ।

यस जिल्ला न्यायाधीश  गोपाल प्रसाद वास्तोला र मनकुमारी जिएम विक रहेको जिल्ला अदालतले आव ०८१।८२ मा लागु औषधका ३६ थान मुद्दामध्ये २९ थान, करणी सम्बन्धी कसुरका ६२ मध्ये ५८ थान, ज्यान सम्बन्धी कसुरका ३५ मध्ये २७ थान, सवारी ज्यान तथा अंगभंग सम्बन्धी ४७ मध्ये ३१ था, चेक अनादरका ७६ मध्ये ५९ थान, सम्बन्ध बिच्छेदका ६ सय ५९ मध्ये ५ सय ४७ थान, अंश मानाचामल सम्बन्धी १ सय ४८ मध्ये १ सय १८ थान, र घरेलु हिंसाका ९ मध्ये ४ थान तथा अन्य ४ सय ७९ मध्ये ३ सय ५२ थान मुद्दा फर्छ्यौट भएको छ । जिल्ला अदालतमा कुनैपनि मुद्दा दुइ वर्ष नाघेका छैनन् । १८ महिनादेखि २ वर्ष भित्रका ६ थान मुद्दा रहेको छ भने एक वर्षदेखि १८ महिना भित्रका १८ थानमात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ ।

धादिङ जिल्लामा जम्मा मुद्दा मध्ये सम्बन्ध बिच्छेदका मुद्दा ४२ दशमलव ४८ प्रतिशत रहेको र यो संख्या समग्रमा उच्च रहेको छ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kandara Samachar