
धादिङ ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बेल्खुमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन् ।
काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको बा ७० प ३२९७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७६९२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।
प्रहरीका अनुसार दुर्घटनामा परि घाइते भएका तनहुँ बसन्तपुर–३ का ५७ वर्षीय रामचन्द्र राना भाट गम्भीर घाइते भएका छन् । उनको दुवै खुट्टा र भित्री अंगमा चोट लागेका भाट बोल्न नसक्ने अवस्थामा रहेका छन्। उनलाई थप उपचारका लागि काठमाडौँस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ।
त्यस्तै, नुवाकोट ककनी गाउँपालिका–१ का २५ वर्षीय अमित कुमार बलामी सामान्य घाइते भएका छन्। उनको बायाँ हातमा चोट लागेको छ। बलामी उक्त दुर्घटनामा बागमती प्रदेश ७६९२ नम्बरको मोटरसाइकल चालक हुन् । साथै सोही मोटरसाइकलको पछाडि सवार काठमाडौं शिवपुरी बस्ने ३५ वर्षीया राममाया तामाङ पनि सामान्य घाइते भएकी छन्। उनको बायाँ खुट्टा र दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी नायब उपरीक्षक विकास थापा र अस्थायी प्रहरी पोष्ट आदमघाटबाट प्रहरी सहायक निरीक्षक चित्र बहादुर खत्रीको कमाण्डमा प्रहरी टोली खटिएको थियो। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।