
– नानू कार्कि/धादिङ
भूमि समस्या समाधान आयोग धादिङले भूमिहिन सुकुम्बासीको जग्गा नापजाँच सुरु गरेको छ ।
आयोगले मध्य धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ बाट जग्गाको नापजाँच सुरु गरेको हो ।
भूमि समस्या समाधान आयोगका जिल्ला संयोजक हरी पन्तको उपस्थितिमा जग्गा नापजाँच सुरु गर्दै सबै किसिमका भूमिहिनलाई प्रकृया पुर्याएर जग्गा उपलब्ध गराउने बताउनुभएको छ ।
पुस्तौँदेखि भूमि नभएर सुकुम्बासी भएकाहरुले जग्गा पाउने प्रकृयाका लागि यस अघि गठित समितिका संयोजक कृष्ण अर्यालले जिल्लाका १३ पालिकामा पुगेर भूमिहिन तथा सुुकुम्बासीको तथ्यांक संकलन गर्नुभएको थियो । ७ सय ७२ जना भूमिहिनको तथ्यांक सहितको अव्यवस्थीत वसोवासीको विवरण समेत तयार गरेकोमा पन्त नेतृत्वको समितिले यसको जगमा बसेर काम अघि बढाएको छ ।
सिद्धलेक गाउँपलिका वडा नम्बर ७ को १५ परिवार भूमिहिनमध्ये ४ परिवारको जग्गा नापिएको छ । यसअघि निस्सा प्राप्त गरेकाहरुको जग्गा नाप्न सुरु भएको र प्रकृयामा धुनीबेसी नगरपालिका, सिद्धलेक गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपलिका र ज्वगालामूखी गाउँपालिकाले काम सुरु गरेको भूमि समस्या समाधान आयोग धादिङका सदस्य रिता परियारले जानकारी दिनुभयो ।